हाम्रो सोचले नै सेरोफेरोको निर्धारण गर्दछ । हाम्रो जीवनमा प्रत्येक पल उतावचढावहरु आइरहन्छन् जसले गर्दा अघि बढ्ने कुरामा प्रत्यक्ष प्रभाव पार्छ । सामान्यतया सकारात्मक परिस्थिति भयो भने त हामी खुशी नै हुन्छौँ । तर थोरै मात्रै पनि परिस्थिति प्रतिकुल भएमा हाम्रो अमूल्य जीवनप्रतिको दृष्टिकोण नै नकारात्मक बन्न पुग्छ । जसले गर्दा जिन्दगीको अर्थपूर्ण यात्रा नै विफल बनेको हामी पाउँछौँ । गौतम बुद्धले भन्नुभएको छ “मस्तिष्क नै सबै कुरा हो, तिमी जे सोच्छौ त्यही पाउँछौ” । जब हामी सानो वा ठूलो जुनसुकै लक्ष्यहरु प्राप्त गर्ने मामलामा एकचोटि असफल हुन्छौ, तब हामी पूर्णरुपले यो सोच्ने गर्छौँ कि म हारे, मेरो सबै गुम्यो । यस्तै सोचको कारणले गर्दा जीवन झनझन बर्बादीतिर धकेलिन्छ ।
हाम्रो जीवनयात्रामा ठेस् लाग्न सक्छ । हामी लड्न सक्छौ, चुनौतीहरुले घेर्न सक्छन् । अनगिन्ती रुपमा हामी हार्न सक्छौँ, सब थोक गुमाउन सक्छौँ । तर फेरि पनि आफैले आफैलाई प्रश्न गरौँ कि, के यी सबै मेरो जीवनको अन्त्य हो त ? के कुनै परीक्षामा फेल हुनु नै मेरो सबै सम्भावनाहरुको समाप्ती हो त ? जवाफमा आफ्नो मनले चिच्याएर भन्छ अहँ यो जीवनको अन्त्य होइन । यो त नयाँ सुरुवात हो नयाँ अनुभव हो जसले नै केही गर्ने प्रेरणा दिन सक्छ । एउटा कुरा याद राख्नुस् हामीले सबै कुरा गुमाए पनि अस्तित्व बाँकी रहन्छ । हाम्रो जीवनको सार बाँकी हुन्छ, हामी कहिलेकाँही हार्न सक्छौँ । तर आफैँलाई भनौँ कि आजको हार नै भोलिको सफलताको आधार बन्नेछ । किनभने सबैभन्दा मूल कुरा भनेको विचार बदल्नु हो, दृष्टिकोण बदल्नु हो, जिन्दगी त आफैँ बद्लिन्छ । वास्तवमा संसारको सृष्टि नै शक्तिशाली विचारको उपज हो । त्यसैगरी आज हाम्रा वरपर हामी जे जे आविष्कारहरु देख्छौ ति सबै हिजो भ्रम थिए । तर आज यथार्थ बनेको छ यो पनि उर्वर विचारकै कारणले गर्दा हो । किनकी महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, थोमस अल्वा एडिसन, मेरी क्युरी लगायतलाई थाहा थियो कि उनीहरुले सही सोचेर काम गरे भने सफल हुनेछन् । त्यसकारण आजपनि फरक तथा सकारात्मक सोच ल्याउनु अपरीहार्य छ ।
प्रसंगवश एउटा कथा जोड्न चाहन्छु हात्तीहरुको बथानलाई सानो डोरीले सानो पोलमा बाधिएको थियो । तर उनीहरुले कतिपनि बल गरेको थिएनन् । बडो अचम्म चैँ के त भन्नाले यदि उनीहरुले बल गर्ने भए एकै पटकमा सजिलै चुँडाएर हिड्न सक्थे । तर त्यसो गरिरहेका थिएनन् । यो दृश्य एकजना बटुवाले देख्यो र छक्क पर्दै सोध्यो कि किन ति हात्तीहरुले त्यति सानो पोल र डोरीबाट उम्कने प्रयास नगरेका होलान् ? त्यसपछि माउतेले भने यिनीहरुलाई सानैदेखि यस्तै मोटाइको पोलमा यस्तै सानो डोरीले बाधिन्थ्योँ । उनीहरु चुडाउन खुब कोसिस गर्थे तर सक्दैनथे । किनकी त्यसबेला उनीहरुको बल पुग्दैनथ्यो यो प्रक्रिया दिनहुँ जसो चल्थ्यो । तर उनीहरुको सानो उमेरमा चुडाँउन सम्भव थिएन । अहिले उनीहरु प्रयास समेत गर्दैनन् । किनकी उनीहरुको दिमागमा यस्तो विचार गाडिएर बसेको छ कि हामीले जति गरेपनि चुडाउँन सक्दैनौ । अर्थात उनीहरुको दिमागमा हामी यो डोरी चुडाउन सक्दैनौ भन्ने निराशावादी सोच बसेको थियो । त्यसकारण उनीहरु अत्यन्तै क्षमतावान हुँदाहुदै पनि विवश भएर कमजोर जीवन गुजारिरहेका थिए मात्रै विचार वा सोचको कारणले गर्दा ।
यस कथाको मर्म बुझौँ । हाम्रो जीवनमा यस्तै अवस्था सिर्जना भएको छ । बिसौँ वर्षदेखिको हाम्रो दिमागमा कमजोर एवंम नकारात्मक विचार हावी भएको छ । जसले गर्दा हामी असिमीत शक्ति बोकेका व्यक्तिहरु पनि म केही गर्न सक्दिन भन्ने गलत सोचका कारण माथि उठ्न सकिरहेका छैनौ । हामी प्रायजसो प्रतिक्रियावादी छौँ । जस्तो कि कुनै पनि घटना एवंम परिस्थिति नकारात्मक हुँदा समेत सकारात्मक पाटोलाई केलाएर जीवन यात्रामा सरीक हुनुपर्नेमा हामी चाही सकारात्मक अवस्थालाई समेत तर यस्तो……तर उस्तो..भनेर केही न केही उन्नति प्रगतिको बाधक सोच निकालैरै छाड्छौँ । यदि यस्तो प्रवृत्ति छ भने हाम्रो उन्नतिको बाधक हामी आफै बन्छौँ याद राख्नुस् अब्राहम लिंकन, बाराक ओबामा, पारीजात, हेलेन केलर लगायत महान हस्तीहरुको जीवनमा पनि धेरै उतावचढावहरु नभएको होइन यद्यपि उनीहरुले “म गर्न सक्छु” भन्ने सोचलाई अत्यन्तै प्रबल बनाए । अन्तत उनीहरु सफल भएरै छाडे । कुनैपनि मान्छे एकैचोटि सफल भएका छैनन् । बारम्बारको चुनौती र हारको सामना गर्दै त्यसबाट पाठ सिक्दै, सकारात्मक विचारका साथ निरन्तर संघर्ष गरेर मात्रै सफल भएका छन् । त्यसकारण हामीले पनि आफ्नो संघर्षमा आइपरेका समस्या तथा बाधाहरुलाई एउटा नियमित प्रक्रियाको रुपमा लिएर म गरेरै छाड्छु भन्ने प्रतिवद्धताका साथ अघि बढ्न जरुरी छ ।
हामीलाई ठूला ठूला कुरा गर्न खूव आनन्द आउँछ । तर बुझौँ ठूला उपलब्धि भनेको सानासाना कुराहरुको समिश्रण मात्र हो । हामी खुशी चाहन्छौँ भने हाम्रो हरेक परिस्थितिलाई हेर्ने दृष्टिकोण मात्र बदल्नु प¥यो जस्तै एउटा आधा भरिएको गिलास छ भने हेर्ने कसरी ? त्यो भन्दा ठूलो कुरा त्यसलाई सोच्ने कसरी त ? परिस्थिति जस्तो होस् त्यसलाई कसरी ग्रहण गर्ने हो । त्यो हाम्रो सोचमा निर्भर गर्छ । यदि त्यो गिलास आधा खाली भन्ने सोच्न थाल्यौँ भने हामी दुःखी । तर आधा भरी भनेर लियौँ भने हामीमा छुट्टै जोश जागर बढ्छ किन भने यदि मैले आधा भरेँ भने म कसो पुरा नभरौँला त ? भन्ने उत्प्रेरित सोच आउँछ । हामी हरेक अवस्थामा समस्या तथा कमजोरीमा मात्रै ध्यान लान्छौँ अब सम्भावनाको कुरा गरौँ के छैन होइन के हुन सक्छ सोचौँ खोजौँ । हामीले के बुझ्नुपर्छ भने यदि एकजनाको विचार सही छ भने एकदिन संसारले पछ्याउनेछ चाहे सुरुवातमा एक्लै हिड्नु किन नपरोस् । सिकेका ज्ञान व्यवहारमा उतार्न उतिकै जरुरी छ किनकी प्रयोग गरिएको ज्ञानमात्रै आफ्नो हुन्छ । त्यसले ठोस परिवर्तन ल्याउँछ । त्यसैगरी ज्ञानले जिन्दगीलाई नाटकीय ढङ्गले बदल्न सक्छ यदि दैनिक जीवनमा लागू गर्ने हो भने ।
आजै प्रण गरौँ कि हरेक परिस्थितिलाई सकारात्मक पक्षले हेर्ने अनि पाएका ज्ञानहरु जीवनमा उतार्ने र जीवन बदल्ने । शुभ कार्यको लागि ढिलो नगरौँ अनि राम्रो समय नपर्खौँ किनकी आज नै त्यो उत्तम समय हो जून दिन हामी धेरै राम्रो नयाँ केही सोच्न सक्छौँ । जीवन बदल्ने अभियानमा लाग्न सक्छौँ । हाम्रो विश्वास के त भन्नाले जब प्रत्येक व्यक्तिहरुले सकारात्मक सोच्न थाल्छन् त्यसपछि उनीहरुको जीवन सफलतातिर उन्मुख हुन्छ । अनि जो व्यक्तिहरु आफ्नो जीवनमा सफल हुन्छन् उनीहरुले नै समाजलाई राष्ट्रलाई अधिकतम योगदान दिन सक्छन् । हाम्रो उद्देश्य नै सबैलाई आफ्नो लक्ष्य प्राप्तिका लागि सघाउनु हो । जसले गर्दा समाजको सकारात्मक रुपान्तरण हुन सहयोग पुग्छ।
लेखक : एस.पी उप्रेती , इमेल : upretishivaprasad@gmail.com
मोटिभेसनल स्पीकर