लक्ष्मण न्यौपाने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख हुनुहुन्छ । गुल्मी जिल्लाको हुँगा भन्ने ठाउँमा जन्मिएका उहाँले सानो खाजा पसलबाट आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो । त्यही खाजा पसललाई सिद्धार्थको नामबाट बढाउंदै लैजाँदा अहिले रिसोर्ट, पार्टी प्यालेस, क्याफे गरि देशभरमा २२ वटा शाखा रहेका छन् । यसको साथै सिद्धार्थको इन्स्टिच्युट, म्यानेजमेन्ट कम्पनी र कृषि फार्म समेत रहको छ ।

सफलताको लागि सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख लक्ष्मण न्यौपानेका टिप्स :

काम गर्दा, यस्तो काम गर, जसमा तिमी अगाडी बढीरहन सक्छौ । जागिर गर्दा होस् या व्यवसाय गर्दा, त्यसमा तिमीले आफ्ना पाइला अगाडी बढाएर माथि पुग्ने ठाउँ हुनुपर्छ । व्यवसाय तिमीले बढाउंदै लैजान सक्ने व्यवसाय हुनुपर्छ । जागिरमा तिम्रो तह बढ्दै जाने जागिर हुनुपर्छ । सधै एकै ठाउँमा, एकै काम गरेर व्यक्तिले प्रगति गर्न सक्दैन । काम गर्दा सानोबाट सुरु गर, तर लक्ष्य भने सधै माथि हुनुपर्छ ।

किताब पढेर पौडिन जानिदैन । यदि तिमीसंग राम्रो अंक सहितका सर्टिफिकेटहरु छन्, तर तिमीसंग कामको अनुभव छैन भने त्यसले अर्थ राख्दैन । त्यसैले प्रयोगात्मक कुरामा ध्यान देऊ । बाहिरि दुनियाँसंग पनि आफूलाई अपडेट राख । अर्को कुरा, यदि तिमी पढाइमा कमजोर छौ या उच्च शिक्षाका सर्टिफिकेट छैनन् भने आफूले केही गर्न सक्दिन भन्ने नसोंच । अरु व्यक्तिको तुलनामा मेरो पढाइ कम भएका कारण मलाई पनि त्यस्तो हीनताबोध हुन्थ्यो, तर मैले आफूलाई मन पर्ने, आफ्नो कामलाई चाहिने, आफ्नो व्यक्तित्व विकास हुने हरेक किताब पढ्न थालें, सबैकुरासंग अपडेट भएँ । अहिले मेरो झोलामा सधै एउटा न एउटा किताब हुन्छ नै । सबैभन्दा ठूलो कुरा व्यक्तिको इच्छाशक्ति हो ।

सहनु, तर नबिर्सनु । कसैले तिमीलाई अपमान गरेको छ, तिमीलाई होच्याएको छ या तिम्रो सपनाको, तिम्रो कामको मजाक उडाएको छ भने सहेर बस । तत्काल प्रतिक्रिया देखाउँदा, या तत्काल बदलाको भावना देखाउँदा त्यसले नकारात्मक परिणाम दिन्छ । तर त्यसलाई तिमीले आफ्नो लागि ऊर्जाको रुपमा लेऊ । उनीहरुलाई केही गरेर देखाउनु छ भन्ने भावले काममा लगाव बढ्छ । इख नभएको व्यक्तिले प्रगति गर्न सक्दैन । मैले खाजा पसल चलाउँदा अपमान गर्ने व्यक्तिहरुले मलाई एकदिन मेरो कामका कारणले नै सम्मान गर्ने बनाउँछु भन्ने भावले नै मैले सफलता प्राप्त गरेको हूँ ।

यदि तिमी आफू सफल हुन चाहन्छौ, माथि पुग्न चाहन्छौ भने त्याग गर्न पनि सक्नुपर्छ । संघर्ष गरिरहेको व्यक्तिले दशैँ, तिहार, जमघट, रमाइलोलाई बिर्सिनुपर्ने हुन्छ । कडा मेहनत र लगनशीलता बिना केही पनि प्राप्त हुँदैन । त्यो समयमा काम तिम्रो तपस्या बन्नुपर्छ । तिम्रो एकाग्रता र सामाजिक जीवनबाट टाढा रहंदा केही सम्बन्धहरु समेत टाढिन सक्छन् । तिमीले साँच्चै सफलता नै प्राप्त गर्नु छ भने यो सबै कुराको आफूलाई तयार पार्नुपर्छ । जब तिमी सफल हुन्छौ, सबै रमाइलोहरु, सबै सम्बन्धहरु तिम्रो जीवनमा आउँछन् ।

नेपाली युवाहरुमा अहिले हेर्दा धैर्यताको कमी देखिन्छ । व्यक्तिलाई काम गर्दा फ्रस्टेसन आउँछ, सबै छोडेर एक्लै कतै जाऊँ भन्ने हुन्छ, सबै कुरा देखि दिक्क लाग्छ । मलाई पनि भएको थियो । यस्तो समयमा आफ्नो लक्ष्य सम्झिनुपर्छ । ठूला लक्ष्यहरु पूरा हुन समय लाग्छ, धैर्य रहन सिक्नुपर्छ । म यहाँसम्म आइपुग्न मैले काम सुरु गरेदेखि बीस वर्ष लाग्यो । यदि त्यो बीचमै मैले काम छोडेर हिंडेको भए, म आजको ठाउँमा हुने थिइन । कामलाई सम्मान गर र लगनशील बन, तिमी तिमीले सोंचेभन्दा पनि टाढा पुग्न सक्छौ ।

काम गर्दै गएपछि आफ्नो टिममा मानिसहरु छान्दा ध्यान दिनुपर्छ । उनीहरु विश्वासयोग्य हुनुपर्छ र टिम बनाइसकेपछि उनीहरुलाई विश्वास गर्न पनि सक्नुपर्छ । उनीहरुलाई अर्डर मात्र दिइरहने गर्नाले टिमका व्यक्तिमा कम्पनि र आफूप्रति वितृष्णा जाग्छ । उनीहरुलाई अपनत्वको महसुस गराउनुपर्छ । सिद्धार्थमा काम गर्ने इमान्दार कर्मचारीहरुले यहाँको सेयर पाउँछन् । मालिक र नोकर होइन, सहकर्मी तथा साथीको व्यवहार हुनुपर्छ । सिद्धार्थका २२ वटा शाखा छन् । ती शाखामा रहेका म्यानेजरहरुलाई मैले भनेको छु, ” यदि कम्पनिलाई फाइदा पुग्ने कुरा छ भने मेरो अनुमति पर्खेर नबस्नु’ । किनकि यदि म सम्पर्कमा आउन समय लाग्छ, अनुमति लिन समय लाग्छ भने त्यो अवसर फुत्किसक्छ । व्यक्तिलाई जिम्मेवारी मात्र दियो भने उसमा आवेग, मानसिक दबाब बढ्छ, उसले त्यहाँ अपनत्व महसुस गर्दैन । व्यक्तिले जहाँ अपनत्व महसुस गर्दैन, त्यहाँ डुबोस्, या माथि जाओस्, उसले सरोकार राख्दैन ।

टिममा हरेक विचार र क्षमताका व्यक्ति हुन्छन् । हाम्रो समाज र परिवारमा पनि विभिन्न दृष्टिकोण राख्ने व्यक्तिहरु हुन्छन् । हाम्रो कामलाई लिएर सबैले आफ्नो आफ्नो दृष्टिकोण, क्षमताको आधारमा सुझाव दिन्छन् । आफ्नो टिमको, परिवारका सदस्यको, साथीहरुको कुरा सुन्नुपर्छ । तर निर्णय लिंदा ती सुझावहरुको राम्रो विश्लेषण गरेर, आफ्नो सोंचलाई हेरेर, अन्त्यमा आफ्नो मनको सुन्नुपर्छ । निर्णय लिंदा आफ्नो मनको आवाजलाई अरुको सोंचले दबाउन दिनु हुँदैन ।

डलरलाई नेपाली रुपैयाँमा हिसाब गर्ने, आफूले सुरु गरेको काममा धैर्य रहन नसक्ने, छिट्टै धेरै कमाउने चाहना, विदेश जाने ट्रेन्ड या फेशन, विदेशी जीवनशैली प्रति आकर्षित हुनु आदिले गर्दा अहिले नेपाली युवाहरु विदेश जान र त्यहाँ बस्न लालायित छन् । नेपालमा बसेर थोरै कमाउनु र विदेशमा धेरै कमाउनुमा नेपालको कमाइले जित्छ । यहाँ आफ्नो परिचय हुन्छ, आफ्नोपन हुन्छ, आफ्नो परिवार हुन्छ । यहाँ सम्मानजनक जीवन जिउन सकिन्छ । हाम्रो सिद्धार्थ बिजनेस ग्रुपमा धेरै यस्ता युवाहरु छन् जो विदेशमा पढेर आएर काम गरिरहेका छन् । उनीहरुलाई हामीले योग्यता अनुसारको पद र सेयर समेत दिएका छौं । मेरो आफ्नै भदा अस्ट्रेलियामा होटल म्यानेजमेन्ट पढेर आएर यहाँ सिद्धार्थकै एउटा शाखाको म्यानेजर भएर काम गरिरहेको छ । नेपालमा काम गर्नेलाई अवसर छ । युवा विदेश जाने ट्रेन्डले गर्दा दक्ष जनशक्तिको अभाव भइरहेको छ । यसलाई युवाहरुले अवसरको रुपमा परिणत गरेर कामको अनुभव बटुल्न सक्नुपर्छ । विदेश जान त पूरै जीवन छ अझै । जब सफल भइन्छ, विदेश त सम्मानजनक तरिकाले जान सकिन्छ र जीवनशैली पनि आफ्नो चाहना अनुसारको बनाउन सकिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text