धैर्यता मानिसको सच्चा चरित्र निर्माण गर्ने विशेष गुण हो । जीवनको हरेक दुःख सुख तथा उतावचढावहरुमा धैर्यताको कमीले गर्दा कतिले आफूलाई असन्तुलित बनाउने गर्छन् भने कतिले त ज्यानसमेत गुमाउँछन् । अर्को महत्वपूर्ण कुरा भनेको सफलता प्राप्तिको यात्रामा धैर्यताले अत्यन्तै अग्रणी भूमिका खेल्दछ । धैर्यताको कमी हुने व्यक्तिहरु जीवनमा खुशीले बाँच्ने कुरामा सफल हुनै सक्दैनन् त्यसैगरी विभिन्न आफूले चाहेको कुरामा सफल त झन हुनै सक्दैनन् । किनकी धैर्यले नै आफूलाई बलियो बनाउँछ र नयाँ नयाँ प्रतिभा, सृजनशीलता तथा सम्भावनाको जन्म दिन्छ । सर आइज्याक न्यूटनले भनेका छन्, “म प्रतिभावान भन्दा बढी धैर्यवान हुँ किनकी मेरा सबै प्रतिभाहरु धैर्यताले नै जन्माएको हो ।” त्यसकारण धैर्यताले हामीलाई विशेष बनाउन सक्छ । हिजो जीरो थियौँ भने भालि हिरो बनाउन सक्छ ।

एकदिन एउटा काग एकदमै तिर्खाएको थियो । पानीको खोजीमा धेरै टाढा मरुभूमिमा एउटा घैँलाको पिँधमा मात्र थोरै पानी भेट्यो । उसले ‘बुद्धिमान काग’ को कथा सुनेको थियो । उसले पनि सानासाना ढुङ्गा ल्याएर खसाल्न थाल्यो । तर उसलाई के लाग्यो त भन्नाले त्यो बुद्धिमान कागको बुद्धि रहेनछ कि सानासाना ढुङगा ल्याएर घण्टौँपछि मात्रै पानी माथि आयो । बरु त्यसको सट्टामा मैले ठूलो ढुङगा ल्याएर किन नहालुँ जसले गर्दा पानी छिटो माथि आउँछ । अनि मलाई बुद्धिमान कागको रुपमा संसारले सम्झिनेछ । यस्तै सोचेर उसले एउटा ठूलो ढुङगा ल्याएर सक्दो बलले घैँलामाथि खसाल्यो । प्वाट्ट घैला फुटेर सबै पानी तुरुन्तै बालुवामा बिलायो । र अन्तत ऊ तिर्खामा नै छट्पटायो । वास्तवमा त्यो कागसँग अलिकत पनि धैर्यता थिएन । जसले गर्दा कर्म तथा भाग्यले पाइसकेको पानी पनि गुमाउनुप¥यो अनि तीर्खामै भौँतारिनुप¥यो । कतै हाम्रो पनि धैर्यताको कमीले पाएको अवसर पनि गुमाउनु परेको त छैन ?

हामी सबै तुरुन्तै सफल हुन खोज्छौँ जुन भ्रम मात्र हो । हो, कोही लट्री परेर सफल होलान् तर प्रक्रियालाई अङगालेर सफल हुन समय लाग्छ । त्यसबेला हाम्रो साथी धैर्यता हुनुपर्छ । कुनैबेला एकजना युवक मार्सल आर्टका गुरुसँग गएर भन्छ, “गुरु मलाई युद्धकला सिक्नु छ कति समय लाग्छ ?” गुरुले भने, “पूर्णरुपमा सिक्न १० वर्ष ” तब युवकले अचम्म मान्दै भन्यो, “त्यत्रो समय ! म बरु दिनको ८ घण्टा अभ्यास गर्छु, कति लाग्छ अब ?” गुरुजी, “२० वर्ष” झन् अचम्म मान्दै, “गुरुजी म १६ घण्टा अभ्यास गर्छु ।” गुरु, “३० वर्ष लाग्छ ।” फेरि युवकले भन्छ, “गुरुजी म बरु २० घण्टा अभ्यास गर्छु ।” गुरुजी फेरि भने, “४० वर्ष लाग्छ ।” अनि निराश भएर युवकले गुरुजीलाई भन्छ, “गुरुजी म जति बढी अभ्यास गर्छु भन्छु त्यति नै बढी समय भन्नुहुन्छ त ?” त्यसपछि गुरुजीले नम्र भएर भन्नुहुन्छ, “बाबु तिमीमा धैर्यता छैन र ज्ञान प्राप्त गर्ने मामलामा धैर्यता धेरै महत्वपूर्ण हुन्छ । पहिले तिमी धैर्यता लिएर आउ अनि मात्र ज्ञान प्राप्त गर्न सक्छौ । किनकी जोसँग धैर्यता छैन त्यसले टिक्न सक्दैन अनि जो टिक्न सक्दैन उ सिक्न सक्दैन ।” यस प्रसङ्गबाट पनि बुझ्न जरुरी छ कि हाम्रो जीवनमा धैर्यताले कस्तो स्थान लिन्छ भन्ने । जस्तै जतिजना डकर्मीहरु खटिएपनि आखिर सिमेन्टेड घर बनाउन एकैदिनमा सम्भव छैन, त्यसैगरी हामी जतिसुकै क्षमतावान किन न हौँ तर एकैदिन सबै सम्भव छैन तर धैर्य सहित निरन्तरता भए जे पनि सम्भव छ ।

नेल्सन मण्डेलाले भनेका छन्, नगरुन्जेलसम्म सबै असम्भव लाग्छ । त्यस्तै बास्केटबलका महान हस्ती माइकल जोर्डनले भनेको छन्, “मैले मेरो जीवनमा ९००० वटा सट्स गुमाए, ३०० वटा खेलहरु गुमाए, मैले जित्नै लागेका २६ वटा सट्स गुमाए । म मेरो जीवनमा धेरै पटक पटक फेल भएको छु । र त्यसैले गर्दा आज म सफल छु” याद राख्नुस् हामी सबैबाट अत्यन्तै महत्वपूर्ण उत्प्रेरणा पाउन सक्छौँ । हामी जब कुनै काम आरम्भ गर्छाै सुरुवातमा हार्न सक्छौँ, खस्न सक्छौँ त्यसपछि हामी हाम्रो यात्रा अधुरो छोडीदिन्छौँ । यदि कर्म पूरा भएन भने हाम्रा लक्ष्य, सपनाहरु अधुरा हुन्छन् । हामी समुद्रमा रहेर पनि प्यासले नै मर्छौँ । जमिनमा रह्यौँ भने पनि भोकले नै मर्छौँ । वास्तवमै यदि धैर्यता र गतिशील कर्म भएन भने न त हामीलाई भगवानले साथ दिन्छन् न त भाग्यले नै । जति नै सफल एवम् महान कलाकार हुन् वा व्यापारी एकैचाटि त्यो सफलता हासिल गरेका होइनन् । कडा मेहनत त्यो भन्दा पनि ठूलो धैर्यताले आज उनीहरु ब्रान्ड छन् । उनीहरुको नामले नै काम बन्छ । हामीले जीवनमा के गर्ने भन्ने स्पष्ट हुनुप¥यो अनि सफलता प्राप्त नगरिञ्जेल सम्म टिक्ने संकल्प गर्नुप¥यो ।

याद राख्नुस् , जो टिक्न सक्दैन ऊ बिक्न सक्दैन, जो सिक्न सक्छ, ऊ जरुर बिक्न सक्छ । त्यस्तै जो धैर्यताले हरेक मामलामा टिक्न सक्छ ऊ संसारमा बिक्न सक्छ । र जो जो संसारमा बिक्न सक्छन् उनीहरु नै सफल हुन । यति बुझिसकेपछि टिक्नुको विकल्प छैन भने टिक्ने संकल्प गर्नैपर्छ ।

सुनको शुद्धता आगोले नै नाप्ने गरिन्छ । जुन कोइलाले अत्याधिक चाप र ताप सहन्छ त्यही कोइला मात्रै हीरा बन्न सक्छ । त्यसकारण हामी कोइलामै सीमित रहने कि हीरा बन्ने, अझ कोहीनुर बन्ने कि ? छनोट आफ्नै हातमा छ । हाम्रो जीवन यात्रामा कसैले आएर हिडीदिदैन । यदि मानौ कोही आएर हिडिदियो भनेपनि जो हिड्छ त्यही सफल हुने हो त्यसकारण हामी आफै हिड्नु छ । यो यात्रा क्षणिक पनि होइन एकदमै निरन्तर प्रक्रिया हो । जसका लागि हामीमा संयम हुनैपर्छ ।

एउटा बच्चा एकैचोटि हिड्न सक्दैन पहिले ऊ घिस्रिन्छ उसलाई कति पीडा हुँदो हो पेटले घिस्रिँदा तर फेरि धैर्य भएर घूँडाले हिन्छ अनि मात्र उभिएको केही समयपछि मात्रै निकै संघर्षले हिड्न थाल्छ । त्यसैगरी हामी सबैलाई थाहा छ कि धान रोपेपछि ३ महिना पर्खनैपर्छ भने हामीले नि जीवनमा सफलता प्राप्त गर्ने हकमा सफल बनाउने कर्मरुपी बीउ छर्ने हो । कति फल हात लाग्छ त्यो भालिका दिनले देखाउँछ तर आज बीउ छर्नु त जरुरी छ । कैलै कुनै कामको लागि पूर्ण र अत्यन्तै राम्रो समय थिएन र हुँदैन पनि । आज जे छ, जस्तो छ त्यही नै राम्रो समय हो राम्रो काम जे गर्न पनि । यदि हामी आफ्नो सफलताको मार्गमा हिडिरहेका छौँ भने सायद हामी घिस्रिदै छौँ । हामी बामे सर्दैर्छौँ, अत्यन्तै पीडा हुन्छ, कष्ट हुन्छ, दुख्छ, र दुख्यो असह्य भयो भनेर हामी छोड्छौँ । पछि सफलता र अवसरले हामीलाई छोड्दिन्छ । यही बेलामा अत्याधिक पीडा हुनसक्छ तर याद राखौँ आजको पीडाबाट पाएको अनुभवले नै भालिको सुख निर्धारण गर्छ ।

जीवनको पीडाले पाठ सिकाउँछ, नयाँ अनुभव दिन्छ तिनै कुराले नै हामीलाई सफल बनाउँछ । वास्तवमा जीवन आफैमा एक विश्वविद्यालय हो हरेक आयाममा जहाँबाट विना लगानी जीवनका अमूल्य ज्ञान प्राप्त हुन्छ । जुन लगानी गर्दासमेत अरु विश्वविद्यालयबाट पाइदैन । महान चित्रकारहरु धैर्य भएर चित्र कोर्नाले नै सफल भएका छन् । जस्तै लियो नार्दो दा भिन्चीले मोनालिसाको पेन्टिङ्ग ३ वर्ष लगाएर गरेका रहेछन् र आज त्यही चित्र अमूल्य छ संसारमा । त्यस्तै संगीतकार, गीतकार, गायक, वैज्ञानिक तथा लेखकहरुले धैर्यताका साथ निरन्तर मेहनतले मात्रै सफल भएका हुन् । यदि उनीहरु पनि हामीजस्तै मानव हुन र उनीहरु सफल हुन सक्छन् भने हामी किन सक्दैनौँ ? आफैलाई प्रश्न गरौँ । यदि हामी उनीहरुजस्तै मेहनत गर्दैनौँ भने आजै देखि त्यस्तै मेहनत गर्ने प्रण गरौँ । संयमतालाई अपनाऔँ हामी पनि एकदिन पक्का सफल बन्छौँ । याद राख्नुस् जीवनमा आफूलाई कस्तो बनाउने त्यो हाम्रो नियन्त्रणमा छ, यो मैले भनेको हौइन धेरै वैज्ञानिक तथा मनोवैज्ञानिक अनुसन्धानले निकालेको निष्कर्ष हो ।
फूलको झैँ सुगन्ध कुनै झारमा हुन्न बुझौँ,
जीवनको वास्तविक ज्ञान संसारमा हुन्न बुझौँ,
लेखेको पाएँ, यस्तै हो भन्दै पाइला रोक्नेहरु,
याद राख, कसैको भाग्य निधारमा हुन्न बुझौँ ।

लेखक : एस.पी उप्रेती ( मोटिभेसनल स्पीकर )

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text