व्यक्तिको बानीले उसका आगामी दिनलाई संकेत गरिरहेको हुन्छ । हाम्रा बानीहरुमा नै हाम्रो सफलता र असफलता लुकेको हुन्छ ।

सफलता चाहनुहुन्छ भने हटाउनुहोस् आफ्ना यी बानी :

‘ट्रेन्ड’ को पछाडी लाग्ने बानी
हाम्रो समाजमा ‘ट्रेन्ड’ को पछाडी लाग्ने बानी छ, जसलाई हामीले सामान्य बोलीचालीको भाषामा ‘भेंडा बन्नु’ भन्ने गर्छौं । हामी अरुले जे लगायो, त्यही लगाउन चाहन्छौं । अरुले जुन विषय पढ्यो, आफू पनि त्यही विषयमा भर्ना हुन्छौं । अरुले जुन काम गर्छन्, त्यस्तै काम गर्न खोज्छौं । यो बानीले हाम्रो क्षमतालाई बाहिर निकाल्ने भन्दा बढी हाम्रो क्षमतालाई भित्र दबाइदिञ्छ । हामीले अरुजस्तै बन्ने होडमा आफ्नो परिचय गुमाउँछौं । त्यसैले ट्रेन्डको पछाडी नलागौं, आफ्नो क्षमतालाई चिनौं, आफूलाई बुझौँ ।

अरुलाई काम अह्राउने, परनिर्भर रहने बानी
अरुलाई काम अह्राउने तथा परनिर्भर रहने बानीले गर्दा व्यक्तिले आफ्नो जिम्मेवारीलाई बुझ्दैन, उसमा जिम्मेवारी बहन गर्न सक्ने क्षमताको विकास हुँदैन । जब व्यक्ति जिम्मेवारीबाट टाढा रहन्छ, परनिर्भर हुन्छ, तब उसमा कामको अनुभव कम हुन्छ र निर्णय लिन सक्ने क्षमता पनि कमजोर हुन्छ । यसको साथै जीवनमा आउने अप्ठ्यारा परिस्थितिसंग एक्लै कसरि लड्ने भन्ने बारेमा पनि ऊ अनभिज्ञ रहन्छ । व्यक्ति आत्मनिर्भर बन्यो भने ऊ स्वतन्त्र हुन्छ, काम तथा निर्णय लिने बारेमा उसमा प्रशस्त अनुभवहरु हुन्छन् र ऊ बलियो बन्दै जान्छ । उसमा जीवनमा केही बन्ने दृढ इच्छाशक्ति जाग्छ ।

धेरै मोबाइल चलाउने बानी
मोबाइलमा सामाजिक संजाल देखि खेलसम्म हुनेगर्छन् र अहिले मोबाइलमा धेरै व्यस्त रहने बानी बढेको छ । यसले गर्दा समयको सदुपयोग हुन सक्दैन । उत्पादनशील काममा खर्च हुने समय मोबाइलमा खर्च भइरहेको हुन्छ । त्यसैले मोबाइलको नोटिफिकेसनहरु बन्द गर्नुपर्छ । काम गर्दै गरेको समयमा, या पढ्दै गरेको समयमा मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ । सामाजिक संजालमा अनावश्यक कुरा पोस्ट गर्ने, पढ्ने भन्दा पनि बौद्धिक किसिमका लेख, पोस्टहरु पढ्न सकिन्छ । मनोरंजन तथा खेलको लागि केही मात्र निश्चित समय मोबाइलको लागि छुट्टाउन सकिन्छ ।

एकै पटकमा धेरै काम गर्ने बानी
एउटा काम सकेपछि मात्र अरुको काम गर्नुपर्छ । अध्ययनहरुका अनुसार, एउटा काममा मान्छे लागेपछि त्यसमा केन्द्रित हुनको लागि कम्तिमा पनि पन्ध्र मिनेट लाग्छ । त्यसैले एकैपटकमा धेरै काम गर्न खोज्दा मानसिक थकान पनि बढ्छ भने समय झन् बढी बर्बाद भइरहेको हुन्छ ।

आफूलाई अरुसंग तुलना गर्ने बानी
कहिल्यै पनि आफूलाई अरुसंग तुलना नगर्नुहोस् । यदि अगाडी बढेका व्यक्तिसंग आफ्नो तुलना गर्नुभयो भने तपाईंमा हीनताबोध बढ्छ र यदि आफूभन्दा पछि रहेको व्यक्तिसंग आफूलाई तुलना गर्नुभयो भने तपाईंमा अहमता बढ्छ । हीनताबोध र अहमता भनेका व्यक्तिको प्रगतिका बाधक हुन् । त्यस्तै, अरुले गर्न सक्ने काम तपाईंले गर्न नसक्नु साधारण कुरा हो, जसरि तपाईंले गर्न सक्ने कुनै काम अरुले गर्न सक्दैनन् । त्यसैले तपाईं जो हुनुहुन्छ, ठीक हुनुहुन्छ । हिजोको आफूसंग प्रतिस्पर्धा गर्दै अगाडी बढ्नुहोस् ।

सधै हुन्छ भन्ने बानी
सधै हुन्छ भन्ने बानी घातक हो, तपाईं आफ्नै लागि । यो बानीले तपाईंले आफूलाई आफैले अप्ठ्यारोमा पार्नुहुन्छ । याद गर्नुहोस्, तपाईंले सधै सबैलाई खुशी पार्न सक्नुहुन्न । सबैलाई खुशी पार्न थाल्नुभयो भने तपाईंले आफ्नै आत्माको बलि चढाउनुपर्छ । तपाईंलाई गलत लाग्छ भने गलत भन्नुहोस्, तपाईंलाई त्यसमा रुचि छैन भने हुन्न भन्न सिक्नुहोस् । आफ्नो खुशीलाई, आफ्नो लक्ष्यलाई सधै आफ्नो प्राथमिकतामा राख्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text