परिचय

एडा लभलेश विश्वको प्रथम कम्प्युटर प्रोग्रामर हुन् । त्यसका साथै उनी ” फादर अफ द कम्प्युटर ” भनेर चिनिने चार्ल्स ब्याबेजसंग गणित विषयमा सहकार्य गर्ने पहिलो महिला हुन् । उनको जम्न सन् १८१५ डिसेम्बर १० मा लन्डनमा भएको थियो । एडाको वास्तविक नाम अगस्टा एडा बाइरन थियो ।

प्रारम्भिक जीवन

एडा ब्रिटिश कवि लर्ड बाइरन र उनकी श्रीमती ब्यरोनेस एनी इसाबेल मिल्बंककी छोरी हुन् । एडा एक महिनाकी हुँदा उनका बुवा र आमा छुट्टिएका थिए र त्यसपछि उनले कहिले पनि बुवासंग भेट हुने मौका पाइनन् । बाल्यकालमा उनलाई अलिक कडा र धार्मिक तरिकाले हुर्काइएको थियो । एडाकी आमाले उनको हेरचाह गर्दिनथिन् । त्यसैले मावली हजुरआमासंग उनको राम्रो सम्बन्ध थियो । सन् १८२९मा एडा दादुरा आएर दुई वर्ष सम्म थला परेकी थिइन् । त्यसपछि मात्र उनी हिंड्न सक्ने भएकी थिइन् । तर पनि एडा एक प्रतिभाशाली विद्यार्थी थिइन् ।उनलाई विज्ञान र गणित विषयमा रुचि थियो । उनले गणित विषयका महान प्रतिभाहरु – मेरी समर्भिल , विलियम किङ्ग , विलियम फ्रेन्ड ,अगस्तास डि मोर्गनसंग पढ्ने मौका पाएकी थिइन् ।

व्यवसायिक यात्रा

सन् १८३३ मा मेरी समर्भिलले एडाको परिचय “फादर अफ कम्प्युटर ” भनेर चिनिने चार्ल्स ब्याबेजसंग गराएपछि एडा उनीसंग “डिफरेन्स इन्जिन ” ( एउटा अटोमटिक मेकानिकल क्यालकुलेटर) को आविष्कारमा लागिन् l साथै उनी फ्रिनोलोजीमा पनि संलग्न थिइन् । सन् १८४० मा ब्याबेजले आफ्नो आविष्कार “एनालिटिकल इन्जिन ” बारे दिएको भाषणलाई फ्रेन्च भाषामा एक इटालियनले अनुवाद गरेर “युनिभर्सिटी अफ टुरिन ” मा पठाएका थिए । सो पेपरलाई दुई वर्षपछि एक जेनिभाको पब्लिकेसनले प्रकाशन गरेको थियो । सो प्रकाशन पछि सन् १८४२ -४३ तिर एडाले फ्रेन्च भाषामा लेखिएको ब्याबेजको ज्ञानलाई अंग्रेजी भाषामा अनुवाद गरिन् र त्यसमा उनले अनुसन्धानको क्रममा आफूलाई जानकारी भएका सम्बन्धित सामग्रीहरु पनि थपिन् । उनको लेखन अनुसार, एनालिटिकल इन्जिन अरु हिसाब गर्ने मेशिनहरु भन्दा धेरै उपयोगी थियो । ब्याबेजले बनाएको मेसिनबाट बर्मुली नम्बरहरु हिसाब गर्न उनले आफ्ना नोटहरुमा ए देखि जे सम्म को चिन्ह लगाएकी थिइन् र अन्तिम नोटमा एल्गोरिदम लेखेकी थिइन् । यसरि पहिलो पटक एल्गोरिदम लेख्ने एडा कम्प्युटर प्रोग्रामिङ्ग की संस्थापक मानिन्छिन् ।

केहि समयपछि एडाले एनालिटिकल इन्जिनका कमीकमजोरीहरुमा बारेमा पनि बताएकी थिइन्, जसलाई अहिले “डिबगर्स” को पूर्वाधार मानिन्छ । सन् १८४४ मा उनले गणितबाट भावनाहरुको विकासमा स्नायु प्रणालीको विधिबारे सरल भाषामा रुपान्तरण गर्न एउटा मोडेल तयार गरिन् जसको नाम थियो “अ कल्कस अफ द नर्वस सिस्टम “। उनले यो मोडेल तयार गर्न एकजना एलेकट्रिकल इन्जिनियरसंग भेट गरिन् तर उनको यो मोडेल तयार हुन सकेन । सन् १८४४ मा उनले पशु चुम्बकत्वबारे गरिएको सोधपत्रको समीक्षा गरेकी थिइन् तर उनको काम भने प्रकाशन भएन ।

एडालाई उनकी आमाले पागल भन्ने गर्थिन् र त्यही नामले एडालाई नयाँ -नयाँ खोज गर्न उक्साउँथ्यो । एडाको वैवाहिक तथा प्रेमसम्बन्धमा पनि थुप्रै उतारचढाव आए । उनले गाँसेका प्रेम सम्बन्धहरु तथा वैवाहिक सम्बन्ध लामो समय टिकेनन् । धेरै पुरुषहरुसंग नाम जोडेर उनको आलोचना समेत हुने गर्थ्यो । तर एडा ती कुराबाट विचलित नभई सधै आफ्नो काम तथा लक्ष्यमा केन्द्रित रहीन् ।

सन् १८५२ नोवेम्बर २७ मा पाठेघरको क्यान्सरका कारण उनको मृत्यु भएको थियो ।

सफलता

संसारमा पहिलोपटक एल्गोरिदम लेख्ने एडालाई कम्प्युटर प्रोग्रामिङ्ग कि बादशाह भनिन्छ । विभिन्न लेखकहरुले आफ्नो लेखनमा उनलाई आदरपूर्वक चित्रण गरी नाटक र उपन्यास लेखेका छन् । एडाको नामलाई कदर गर्दै ब्रिटिश कम्प्युटर सोसाइटीले उनको नामबाट मेडल राखेको छ । एउटा कम्प्युटर भाषालाई समेत उनको नाम “एडा” दिइएकोछ । त्यस्तै विभिन्न युनिभर्सिटीहरुले र गैरसरकारी संस्था हरुले “एडा” को नाम आफ्नो संस्थासंग जोडेका छन् । चार्ल्स ब्याबेजले उनलाई “गणितकी जादुगर ” भन्ने गर्दथे ।

भनिन्छ नि, अरुभन्दा भिन्न देखिनेलाई समाजले पागल भन्छ र तिनै पागलहरुले रुपान्तरण ल्याउँछन् । एडालाई पनि उनको काम देखेर, उनको सपना देखेर उनकी आमाले पागल भन्ने गर्थीन् । तर उनी संसारकै पहिलो कम्प्युटर प्रोग्रामर बनिन् । ३६ वर्षको उमेरमै निधन भएतापनि उनले आफ्नो नाम विश्व इतिहासमा लेखाएर गइन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text