मैले जागिर गर्थें । जागिरमा म खुशी नै थिइन । अहिले काम छोडेर बसिरहेको छु । ३० वर्षको भइसकें तर मलाई म के काम गर्दा खुशी हुन्छु, मेरो क्षमता के हो भन्ने नै थाहा छैन । त्यसैले मलाई जिन्दगी देखि दिक्क लागेको छ ।

पहिलो कुरा त तपाईंले काम गर्न छोडेर बसेर तपाईंले आफ्नो क्षमता चिन्न , रुचीलाई बुझ्न सक्नुहुन्न । एउटा काममा रमाउन सक्नुभएन, त्यो आफ्नो लागि होइन भन्ने जस्तो लाग्यो भने त्यो काम छोड्न सक्नुहुन्छ । तर यत्तिकै भने नबस्नुस् । अर्को काम गर्नुस् । जिन्दगी भनेकै परिक्षण हो । परिक्षण बिना तपाईंले नतीजा हात पर्न सक्नुहुन्न । विभिन्न काममा आफ्नो क्षमतालाई, आफ्नो सोंचलाई, आफूलाई परिक्षण गरेर हेर्नुहोस् । तब मात्र तपाईंले आफू कहाँ फिट हुन्छु भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । सफल भएका व्यक्तिहरुले पनि ती परिक्षणबाट आफूलाई चिनेर अगाडी बढेका हुन् । कोही पनि व्यक्तिले त्यहाँ काम सुरु गर्नासाथ आफ्नो परिचय भेट्दैन ।

दिक्दारीपन र निराशाको औषधि पनि काम नै हो । जब, तपाईं काममा व्यस्त हुनुहुन्छ, तपाईंको दिमागमा अनावश्यक सोंचहरु आउन पाउदैनन ।

अर्कोकुरा , उमेर कहिल्यै पनि बाधक बन्दैन । त्यो केवल बाहना हो । एउटा काममा तपाईंले आफूलाई परिक्षण गरिसक्नुभएको छ । अब समय खेर नफाली अर्को काममा लाग्नुहोस् , के थाहा त्यही कामले नै तपाईंलाई सन्तुष्टि दिन्छ कि । यो उमेरसम्म आइपुग्दा तपाईंले जीवनमा आफूले गर्न चाहेको कुरा त पक्कै पनि कल्पना गरिसक्नुभएको छ । अब तपाईंको कल्पना अनुसारको काम खोज्नुहोस् ।

काम गर्नुहोस्, व्यस्त रहनुहोस् । केही नगरी बस्दा डर, निराशा, दिक्दारी सबैले घेर्छन । जब काममा व्यस्त रहनुहुन्छ, ती कुराको लागि तपाईंले समय नै निकाल्न पाउनुहुन्न, चाहनुहुन्न ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text