सारा सृष्टि विचारको उपज हो । आज हामीले संसारमा जे जे देखिरहेका छौँ, जस्ता भौतिक सामानहरुको उपयोग गरिरहेका छौँ । ती सबै हिजो कसैको मस्तिष्कको अदृश्य विचार थिए । विचार भनेको कार्यको जननी हो । उन्नति प्रगतीको निम्ती बीउ हो । सामान्यतया विचार दुई प्रकारका हुन्छन् । सकारात्मक र नकारात्मक । जीवनमा सफलताका लागि सकारात्मक सोचको विकास कति महत्वपूर्ण छ त ?
सफलताको बलियो एवम् पहिलो आधार नै सकारात्मक सोच हो । जीवनमा कुनैपनि कुरा घट्नका लागि पहिला मानसिकता तयार हुनुपर्छ । अर्काे शब्दमा भन्नुपर्दा असफल हुने वा सफल हुने त्यो मानिसको विचारमा वा मानिसकतामा भर पर्छ । कहलेकाँही त हामीलाई लाग्छ कि हामीसँग पक्का केही असाधारण विशेषता छ । विलक्षण प्रतिभा छ । हामीलाई लाग्छ ‘हो मसँग अविश्वसनीय शक्ति छ, मेरो लक्ष्य प्राप्तिमा म लड्न सक्छु । जस्तोसुकै अवस्थामा अघि बढ्न सक्छु ‘ । तर आफ्नै वरपरबाट हामी सुन्छौँ कि,’ यो सम्भव छैन, तिमी जे गर्ने सोच्दैछौ त्यो सक्दैनौ ‘। याद राख्नुस्, अरुले गर्न सक्दैनौ भन्दा त एक भिन्नै किसिमको जोश, जाँगर पलाउला कि गरेरै देखाउँछु भन्ने उत्प्रेरित सोच आउला । तर जिन्दगीमा अघि बढ्ने क्रममा सबैभन्दा बढी घातक त हामी आफैले आफैलाई शङका गर्छाैँ ।
हामीलाई बेलाबेलै केही गरुँ गरुँ लाग्छ तर यसो गरौँ कि उसो गरौँ कि वा कसो गरौँ भन्नेमा अलमलमै रहन्छौँ । त्यतिमात्र होइन हामी बडो हौसलाका साथ लक्ष्य प्राप्तिमा तम्सिन्छौँ । अनि बिजुलीको चिम बाल्न स्वीच दबाए झैँ सफल हुने आशा राख्छौँ । त्यसरी त सफलता हासिल हुदैन नि । अब त्यसैबेला देखि आफ्नो अथाह क्षमता माथि शङका गर्न थाल्छौँ । के म गर्न सकुँला र ? साँच्चै म सफल बनुँला र ? म भाग्यमानी हुँला र ? यि सबै शङकालु तथा नकारात्मक विचारहरु सानै देखि हामीले सुन्दै आयौँ । अझै भन्नुपर्दा हामीलाई शङका गर्न सिकाइयो त्यो पनि आफैमाथि, आफ्नै क्षमता अनि दक्षता माथि । जसको कारणले गर्दा धेरै सफलताको प्यासी मात्रै भए हकदार भएनन् । अब तपाइ हामीले चाँहि सफलताको हकदार बन्ने किसिमको सोचको विकास गर्नुप¥यो ।
हिजो हामी सुन्ने गर्थ्यौं कि शङकाले लङका जलाउँछ तर लङका मात्रै होइन शङकाले आफ्नो शक्ति जलाउँछ र अन्तत जिन्दगी नै जलाउँछ । म गर्न सकुँला र ? जस्तो सोचाइले शक्ति दिदैन, अनि ऊर्जा नै नभएपछि हामीले के गर्ने ? आन्तरीक शक्ति प्राप्त हुन पनि हाम्रो मस्तिष्कमा सकारात्मक सोच निरन्तर भइरहनु पर्छ । जसरी शरीर शक्तिशाली हुन शुद्ध रगतको जरुरी छ । त्यसरी नै मष्तिष्कमा अथाह ऊर्जा उत्सर्जन हुन सकारात्मक विचारको जरुरी छ । सफल हुनको लागि हामीले गर्दै आएको कर्ममा पनि परीवर्तन आवश्यक हुनसक्छ तर त्यो भनेको दोस्रो कुरा हो । मूल विषय त विचार बदल्नु नै हो । दृष्टिकोण बदल्नु नै हो । मुख्य कुरा आफूलाई सकारात्मक बनाउनु नै हो ।
यदि एउटा हात्तीलाई कतै बाँधेर हिड्न प्रेरित गर्ने हो भने ऊ जस्तै विधिले, जति नै समय लगाएर, जतिसुकै हिँडोस् न आखिर कहाँ नै पुग्छ र ? त्यही बाँधिएको वरीपरी न हो । त्यसकारण हामीले जस्तोसुकै उल्लेखनीय कर्म गरेपनि यदि हामी आफ्नै सोचमा गिरेका छौँ भने कहाँ उठ्न सकिएला र ? आफ्नै सोच चैँ संकुचित छ भने पक्का माथि उठ्न सकिदैन । याद राख्नुस् माटोमा जस्तो बीउ छ¥यो, त्यस्तै हुर्कने, बढ्ने, फूल्ने अनि फल्ने हो । त्यसकारण हाम्रो ऊर्वर मस्तिष्करुपी मलिलो माटोमा सकारात्मक सोचको बीज छरौँ जसले गर्दा सफलताको फल लाग्न सहज बनोस् । अब अबेर नगरौँ जीवनका प्रत्येक पाइलामा सकारात्मक विचार तथा दृष्टिकोणको वीजारोपण गरौँ । हाम्रो मनको भित्री तहमा म जरुर गर्न सक्छु भन्ने दृढ विश्वासको सोच विकास गरौँ ।
कार्लमाक्सले केही बनेर देखाउन सक्छु भन्ने सोचले नै संसार हल्लाइदिए । मोहम्मद अलीले मसँग च्याम्पियन बन्ने गुण छ भन्ने सकारात्मक सोचले नै बक्सिङमा मास्लो नाम बने । संसारमा भएको भन्दा केही फरक गर्न सम्भव छ भन्ने सोचले नै स्टीभ जब्स डिजीटल इन्जिनियरको रुपमा सुविख्यात छन् । संसारलाई एक परीवार बनाउन सकिन्छ भन्ने राम्रो विचारले नै मार्क जकरवर्गले दुनियाँलाई हेर्ने दृष्टिकोण बदलिदिए फेसबुकको आविष्कार गरेर । राइट दाजुभाइले पागल संज्ञाको बाबजुद पनि हवाइजहाज बनाएर देखाइदिए यो सबै सकारात्मक सोचको शक्ति हो । हातखुट्टा नभएका निक भुजिसिसले हातखुट्टा भएकाले समेत गर्न नसक्ने काम गरेका छन् । यदि त्यसो हो भने तपाइ हामीमा के कमी छ र ? मात्रै विचार बदलौँ समय सधैँ हाम्रै साथमा छ ।
त्यसकारण पहिला हाम्रो मानसिकता तयार बनाऔँ अनि त्यसैअनुरुपको कार्यमा प्रेरित बनौँ । असफल हुने मान्छेले भन्छ, “गर्न त सकिन्छ तर धेरै गाह्रो छ” भने सफल बन्ने गुण बोकेको मान्छेले भन्छ, “धेरै गाह्रो छ तरपनि गर्न सकिन्छ ।” कस्तो सोचलाई अनुसरण गर्ने त ? छनोट आफ्नै हो । याद राख्नुस् कुनैपनि कार्यको लागि राम्रो समयको प्रतीक्षा नगरौँ बरु सुरुवात गरौँ किनकी यो नै उत्तम समय हो ।
– एस.पी उप्रेती
( मोटिभेसनल स्पीकर )