एउटा गाउँमा रामलाल नाम गरेका एक जना धनी व्यक्ति बस्थे । जति धनी थिए, उनी त्यति नै लोभी पनि थिए ।

एक दिन रामलालको एउटा थैली हरायो । त्यसमा सुनका असर्फी थिए भनेर उनले थैली खोजिदिन सबैलाई आग्रह गर्न थाले । रामलालले आफ्नो थैली दुई दिनसम्म फेला पारेनन् । गाउँलेले समेत थैली खोज्न सहयोग गरे, तर कसैले थैली भेटेनन् ।

थैली हराएको तेस्रो दिन छिमेकी श्याम बहादुरको सानी छोरीले एउटा थैली घरमा लिएर आइन् । जब बुवा आमाले थैली खोलेर हेरे, त्यसमा असर्फी थिए । श्याम बहादुरको परिवार गरिब भए पनि इमान्दार थियो । छोरीले उक्त थैली आफू खेल्ने ठाउँ पछाडी भेटेको बताएपछि बुवाले त्यो थैली लिएर रामलालकहाँ गए । रामलाल खुशीले उत्साहित हुँदै थैली खोले र असर्फी गन्न थाले । असर्फी उसले जति राखेका थिए, त्यति नै थिए ।

त्यतिनै बेला रामलालको मनमा लोभ जाग्यो । उनले श्याम बहादुरलाई आँखा तरेर जंगिदै भने, ” मेरो थैलीमा ७५ वटा असर्फी थिए । यहाँ त ५० वटा मात्र असर्फी छन् ” । रामलालका कुरा सुनेर श्याम बहादुर अचम्भित भए । उनले सम्झाउदै भन्यो, ” हेर्नुस काका ! हामीले थैली खोलेर हेरेका मात्र हौँ, असर्फी निकालेका होइनौं ” । तर रामलालले भने आरोप लगाउन छोडेनन् । उनले गाउँका मुखियाकहाँ उजुरी समेत गरे ।

गाउँले सबैलाई रामलाल धूर्त र लोभी छन् भन्ने थाहा थियो । रामलाल र श्यामबहादुर दुवैको कुरा सुनेपछि मुखिया बाले भने, ” रामलालको थैलीमा ७५ वटा असर्फी थिए रे ! तर श्याम बहादुरको छोरीले भेटेको थैलीमा ५० वटा असर्फी छन् । श्याम बहादुरको बारेमा खोजीनिती गर्दा असर्फी लुकाएको पनि देखिएन । त्यसैले यो भेटिएको थैली रामलालको होइन । भेटिएको वस्तुको मालिक पत्ता लागेन भने त्यो वस्तु भेट्ने मान्छेको नै हुन्छ । त्यसैले यो थैली श्याम बहादुरको सानी छोरीको नै भयो ” । मुखियाले सुनाएको नतिजाले रामलाल जिल्ल परे ।

लोभले कहिल्यै पनि व्यक्तिको भलो गर्दैन । अर्कोतर्फ इमान्दारिताले धनको थुप्रो बनाइदिन्न, तर जादू भने पक्कै गरिदिन्छ । र, धनको लागि छोटो बाटो अपनाउन खोज्नु मूर्खता हो । सफलता केवल धन मात्र होइन, इज्जत, चरित्र, खुशी र आत्मसम्मान पनि हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text