नदी नजिकै एउटा रुख थियो । रुखमा बसेर केरा खाइरहेको बाँदरले नदीको माछालाई जिस्क्याउने विचार गर्यो । उसले नदीमा पौडिरहेको माछालाई बोलाउंदै भन्यो, ” आऊ यहाँ रुखमा बस्न । तिमीले त्यो नदीबाट केही देखेको छैनौ । रुखमा यसरि बस्दा त वरिपरि सबै देखिन्छ । टाढा-टाढाका कुरा पनि देखिन्छन् ।”

बाँदरको कुरा सुनिरहेको माछाले उत्तर दियो, ” तिमी पो रुख चढ्न सक्छौ त ! म रुख चढ्न सक्दिन ” । त्यसपछि बाँदर हाँस्न थाल्यो र भन्यो, ” छि ! तिमीलाई यति रुख चढ्न पनि आउंदैन । तिम्रो जिन्दगी पनि बेकार हो ” ।

बाँदरको कुराले माछा निराश भयो । उसलाई साँच्चै आफ्नो जिन्दगी बेकार छ भन्ने लाग्न थाल्यो । ऊ जिन्दगी बारे सोंच्दा सोंच्दै नदीको तलसम्म पुग्यो । दुई दिनपछि जब ऊ नदीको आफ्नो ठाउँमा फर्कियो, उसले देख्यो कि, नदीको किनारमा मरेको बाँदर थियो । त्यसपछि उसलाई अरु माछाहरुले सुनाए,” रुखको हाँगामा खेल्दा खेल्दै बाँदर नदीमा पर्यो । बाँदर पौडिन नजानेकोले नदीमा डुब्यो र मर्यो ” ।

आफ्ना साथीहरुको कुरा सुनेपछि मात्र माछालाई महसुस भयो कि, सबैको आ-आफ्नो क्षमता हुन्छ । आफूलाई अरुसंग तुलना गर्नु मूर्खता हो ।

सबै रुख चढ्न सक्दैनन् । सबै पौडिन सक्दैनन् । सबै व्यक्ति गीत गाउन सक्दैनन् । सबै व्यक्ति कुस्ती खेल्न सक्दैनन् । तर हरेक मानिसले केही न केही गर्न सक्छ । हरेक व्यक्तिको आ-आफ्नो क्षमता हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text