हामी सबैमा केही प्राप्त गर्ने चाह हुन्छ । हामी जीवनमा केही बन्छौं, या केही गर्छौं भनेर लागिरहेका हुन्छौं । तर हामी मध्ये धेरैजसोको त्यो सपना केवल सपना नै रहने गर्छ ।

आफूले चाहेको कुरा कसरि प्राप्त गर्न सकिन्छ ?

अरुले गर भनेर गर्नु, अरुबाट प्रेरित भएर गर्नु क्षणिक बन्छ । त्यस्तो अवस्थामा जब तिमीलाई थकाइ लाग्छ, तिमीले त्यो काम नै छोडीदिन्छौ । तिमीमा त्यो कुरा प्राप्त गर्ने चाह मरेर जान्छ । त्यसैले केही प्राप्त गर्नु छ भने आफू भित्रैबाट प्रेरित हुनुपर्छ । त्यो कुरा प्राप्त गरिछाड्ने दृढ संकल्प हुनुपर्छ । यस्तो अवस्थामा तिमीले जस्तोसुकै बाधा आएतापनि त्यो बाधाको सामना गर्छौ र आफूले चाहेको कुरा प्राप्त गरिछाड्छौ ।

आफूले चाहेको कुरा के हो, त्यसको लागि के-के त्याग गर्नुपर्छ र त्यो प्राप्त गरिसकेपछि जीवनमा कस्तो परिवर्तन आउनेछ स्पष्ट होऊ । यदि तिमी पूर्वतयारि बिना, कुनै जानकारी नलीई त्यो कुराको पछाडी लाग्छौ भने बीचमै बाटो मोड्नुपर्ने परिस्थिति आउन सक्छ ।

आफूले प्राप्त गर्न चाहेको कुरा, त्यहाँ सम्म पुग्नको लागि बनाएका योजना डायरीमा लेख । ठूला ठूला योजनालाई साना-साना योजनामा बाँड । ती योजना पूरा गर्नको लागि तिमीले दिनभरीमा के काम गर्यौ, बेलुका डायरीमा लेख । यसले गर्दा आफ्नो लक्ष्यमा ध्यान केन्द्रित भइराख्छ र प्रयास गर्नको लागि प्रेरित भइन्छ ।

योजनाहरु कहिले सफल हुन्छन्, त कहिले असफल । तिमीले असफलता र सफलता गनेर नबस । तिमी हिजो कहाँ थियौ र आज कहाँ छौ ? हिजो तिम्रो ज्ञान कति थियो र आज कति छ ? यो यात्रामा तिमीले के सिक्यौ ? कति परिपक्क बन्यौ ? भन्ने कुराहरुलाई हेर ।

सबैलाई खुशी पार्छु भन्ने सोंच छोड । तिमीले जतिसुकै खुशी बनाउन खोजेपनि, सबैलाई खुशी पार्न कहिल्यै सक्दैनौ । र, जति पनि मानिसहरु छन् ती केवल तिम्रो जीवनका हिस्सा मात्र हुन् । मूख्य पात्र त तिमी हौ । आफूलाई प्राथमिकतामा राख । आलोचनाबाट डराउने, मानिसहरुलाई स्पष्टिकरण दिंदै हिंड्ने गर्दा तिमीले आफ्नो समय खेर फालिरहेका छौ र संगै आफूमा नकारात्मक सोंचलाई पनि निम्ता दिइरहेका छौ । त्यो समय र शक्ति आफ्नो काममा, आफ्नो लक्ष्यमा, आफ्नो कल्पनामा लगाऊ ।

पूँजी भनेको पैसा मात्र होइन, आइडिया र आत्मविश्वास पनि हो । पैसा नहुँदा तिमीले आफूले चाहेको कुरा प्राप्त गर्न झट्ट सक्दैनौ होला । तर तिमीले तिम्रो आइडिया र आत्मविश्वासले त्यसको लागि आधार निर्माण गर्न सक्छौ । त्यसैले आफ्नो पृष्ठभूमीलाई दोष दिएर नबस । आफूसंग भएको स्रोतको सक्दो उपयोग गरेर काम सुरु गरिहाल ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text