एउटा पसल अगाडी सुपर मार्केट खुल्ने भयो । पसले चिन्तित बन्यो । उसलाई अब पसल सुक्ने भयो भन्ने पीरले पसलमा बस्न मन समेत लाग्न छोड्यो । त्यसपछि ऊ गुरुकहाँ गयो । गुरुलाई आफ्नो सबै चिन्ता सुनायो ।

त्यसपछि गुरुले सुझाव दिए, ” बिहान घामको झुल्का संगै उठ्नु । त्यसपछि गएर आफ्नो पसललाई ढोग्नु । अनि पिंढीमा उभिएर त्यो सुपरमार्केटको लागि पनि प्रार्थना गर्नु । त्यसपछि आफ्नो पसल भित्र गएर भगवानको पूजा गर्नु र पसल भित्र एक पटक घुम्नु । त्यसपछि मात्र आफ्नो काम थाल्नु ” ।

आफ्नो समस्या समाधान हुने आशाले पसले घर फर्कियो । गुरुले दिएको सुझाव उसले ग्रह कटाउने पूजा जस्तो सम्झियो । त्यसपछि हरेक दिन उनले गुरुले भनेजस्तै गर्न थाल्यो । अगाडी सुपरमार्केट पनि खुल्यो । तर त्यो पसलेको व्यापार घटेन, बढ्यो ।

गुरुपूर्णिमाको अवसर पारेर ऊ गुरुलाई ढोग्न गयो । त्यसपछि गुरुले दिएको नित्य पूजाको ज्ञानले व्यापार बढेको भन्दै कृतज्ञता प्रकट गर्यो । गुरुले उसको शिर माथि हात राख्दै भने, ” त्यो कुनै ग्रह कटाउने विधि थिएन ” । पसले ट्वाल्ल पर्यो ।

गुरुले सम्झाउँदै भने, ” तिमी बिहान घामको झुल्का संगै उठेपछि तिम्रो शरीरमा स्फूर्ती बढ्यो । काम गर्नको लागि समय प्रशस्त भयो । तिमीले आफ्नो पसल ढोग्दा, तिमीमा आशा पलायो । सुपरमार्केटतिर फर्केर प्रार्थना गर्दा सुपरमार्केटको व्यस्थापनले तिमीलाई आफ्नो पसल व्यवस्थित गराउन प्रेरित गर्यो । भित्र पूजा गर्दा तिम्रो दिमागमा सकारात्मक सोंचहरु पैदा भए । पसलको भित्र वरिपरि घुम्दा तिमीले पसलको कमिकमजोरी थाहा पायौ, पसलमा भएका सामानहरुका बारेमा हरेक बिहान जानकार रह्यौ र त्यही अनुसार सामान व्यवस्थापन गर्ने, बढाउने गर्न थाल्यौ । यसरि तिमी आफ्नो काममै केन्द्रित भयौ, जसले गर्दा व्यापार बढ्यो “।

हामी समस्या आउनुभन्दा पहिले नै त्यो समस्याको कल्पना गरेर अत्तालिंछौँ । ‘वनको बाघले होइन, मनको बाघले खान्छ’ भनेजस्तै हामी भित्र भित्रै चीन्ताले थाक्छौँ । र, बाहिरि वातावरणमा भन्दा आफूमा ध्यान केन्द्रित गरौँ । अरुले के गरिरहेका छन् भन्ने भन्दा पनि आफूले के गरिरहेको छु भन्ने कुरामा ध्यान दिऔं । र, प्रतिस्पर्धालाई निराशा होइन थप केही गर्ने अवसरको रुपमा लिऔं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text