एकजना विद्यार्थी स्कुलमा सबैभन्दा लद्दु मानिन्थ्यो । उसलाई कसैले आफूलाई ‘लद्दु’ नै भनेर बोलाए पनि प्रवाह थिएन । परिक्षामा उसको नम्बर सबैभन्दा कम आउंथ्यो । कक्षा पाँचमा पुग्दा पनि उसको स्थिति त्यस्तै रह्यो । मार्कसिट घरमा ल्याउँदा उसले आमासंग भन्यो, ” सबैभन्दा कम नम्बर आएर, फेल भएर केही हुन्न आमा। यो मार्कसिट भनेको केही पनि होइन “।
आमालाई लाग्यो बच्चाले आफ्नो जति मेहनत, दिमाग लगाउन सक्छ, त्यो लगाइरहेको छैन । त्यसपछि आमाले घरमा आफ्ना बच्चाहरुका लागि तीन वटा नियम लागु गरिन् । ती नियम थिए :
टेलिभिजनमा हप्तामा दुई वटा शो मात्र हेर्ने ।
टिभी हेर्नुभन्दा पहिले स्कुलको गृहकार्य सक्नुपर्ने ।
लाइब्रेरीबाट ल्याएर हप्तामा दुईवटा किताब पढ्ने र पढेको मध्ये एउटा किताबको रिपोर्ट बनाउने ।
बच्चाले ती नियमको पालना नगर्न निकै प्रयास गर्यो । तर आमा आफ्नो निर्णयमा अडिग बनिन् । आमा ती नियम नमानेमा सजाय समेत दिने निर्णयमा पुगेपछि बच्चाले बाध्यताले ती नियम मान्न लाग्यो ।
एक दिन शिक्षकले कक्षामा एउटा प्रश्न सोधे । त्यो प्रश्नको उत्तर कुनै पनि विद्यार्थीले भन्न सकेन । स्कुलमा सधै कम नम्बर ल्याउने भएकोले त्यो बच्चालाई शिक्षकले अन्तिममा त्यो प्रश्न सोधे । उसले त्यो प्रश्नको उत्तर दियो । शिक्षक, विद्यार्थी सबैजना छक्क परे । शिक्षकले केही थप प्रश्न सोधे । उसले ती प्रश्नको समेत उत्तर दियो ।
शिक्षक निकै खुशी भए । उनले अरु शिक्षकलाई समेत बताएपछि शिक्षकहरुले बच्चालाई मायालु व्यवहार गरे । साथीहरु समेत अझ नजिक हुन खोजे ।
बच्चाले सोंच्यो, ” मैले आमाको त्यो नियम पालना गरेर मेरो ज्ञान यति बढेछ । किताब पढेर सिकिँदो रहेछ, सबैको माया र सम्मान पाइँदो रहेछ । अझै मेहनत गरें भने, अझै पढें भने त मेरो ज्ञान अझै बढ्छ होला । सबैभन्दा जान्ने बन्छु होला ” । यही सोंचले बच्चाले त्यो दिन देखी पढाइलाई प्राथमिकतामा राखेर पढ्न थाल्यो ।
त्यो बच्चा बेन्जामिन कार्सन हुन् । उनी विश्वप्रसिद्ध न्युरो सर्जन, लेखक तथा राजनीतिज्ञ हुन् ।
आफ्नो क्षमतालाई चिनौं । अवसरको भरपूर सदुपयोग गरौँ । मेहनत गर्न पछि नपरौं ।