प्रख्यात भनाइ नै छ, ” संसार परिवर्तन गर्नु छ भने, पहिले आफूबाट सुरु गर ” । त्यो परिवर्तन, त्यो सुधारले हामीलाई सफलता दिलाउँछ । र, आफूमा सुधार ल्याउन सक्यौं भने, आफ्नो जीवन राम्रो बनाउन सक्यौं भने मात्र हामीले हाम्रो परिवार, हाम्रो समाजलाई सुन्दर बनाउन सक्छौं ।
आफूमा कसरी सुधार ल्याउने ?
जीवनका आफ्ना प्राथमिकताहरुलाई छुट्टाउनुहोस् । तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ, स्पष्ट भएर आफ्ना प्राथमिकताहरु तय गर्नुहोस् । आफ्ना प्राथमिकता तथा लक्ष्यसंग सम्झौता नगर्नुहोस् ।
भाग्यमा होइन कर्ममा विश्वास गर्नुहोस् । तपाईंले जे पाउनुभएको छ, जे पाउँदै हुनुहुन्छ र जे पाउनुहुनेछ, त्यो तपाईंको कर्मको परिणाम हो । सकारात्मक सोंच राख्नुहोस्, कडा मेहनत गर्नुहोस् र आफूमाथि विश्वास राख्नुहोस् ।
आफ्नो प्रगति विवरण मूल्यांकन गर्ने बानी बसाल्नुहोस् । यसो गर्दा तपाईंले आफूले समयको सदुपयोग गरे/नगरेको, अवसरको सदुपयोग गरे/ नगरेको र अगाडी बढे/ नबढेको थाहा पाउनुहुन्छ । जसले गर्दा तपाईंले आफूमा सुधार ल्याउने चाहना राख्नुहुन्छ ।
कुरालाई भन्दा बढी कामलाई महत्व दिनुहोस् । अनुत्पादनशील काममा कम समय खर्चिनुहोस् । कसैलाई भेट्नु छ भने, त्यही भेटको लागि दिनभर खर्चिनुपर्ने आवश्यकता हुँदैन । आजकल कतिपय कुरा फोन मार्फत तथा इन्टरनेट मार्फत पनि हुन सक्छन् । भेट्नै पर्ने स्थितिमा आफ्नो समयलाई ख्याल राख्नुहोस् ।
आफूलाई अरुसंग नदाज्नुहोस् । तपाईं जस्तो हुनुहुन्छ, विशेष हुनुहुन्छ। आफूलाई अरुसंग दाँजेर घमन्डी बन्ने या निराश हुने आवश्यकता नै छैन । मात्र आफ्ना बलिया र कमजोर पक्ष पत्ता लगाउनुहोस् । ती कमजोर पक्षलाई कसरि सुधार्ने भन्नेतर्फ ध्यान दिनुहोस् ।
आफ्नो काम सकेसम्म आफै गर्ने गर्नुहोस् । यसो गर्दा तपाईंमा जिम्मेवारीबोध आउँछ, आत्मनिर्भर बन्नुहुन्छ र कामको अनुभव समेत हुन्छ । यसले तपाईंलाई अप्ठ्यारा परिस्थितिसंग लड्न समेत सिकाउँछ ।
अरुलाई सहयोग गर्ने बानीको विकास गर्नुहोस् । धन्यवाद, माफी जस्ता शब्दले आफू सानो भइदैन, आफ्नो व्यक्तित्व उजागर हुन्छ भन्ने मानसिकता बनाउनुहोस् ।
किताब पढ्ने बानी बसाल्नुहोस् । किताबमा पढेका कुरालाई आफूले विश्लेषण समेत गर्नुहोस् , जसले गर्दा तपाईंको सोंच्न सक्ने क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, आफ्नो मनमा लागेका कुराहरु लेख्ने बानी गर्नुहोस् ।
आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनुहोस् । स्वस्थ खाना, शारीरिक अभ्यास, दिनको समय तालिका आदिलाई महत्व दिनुहोस् ।
नकारात्मक सोंच राख्ने, यत्तिकै समय खेर फाल्ने, अरुको कुरा काट्ने जस्ता व्यक्तिबाट टाढा रहनुहोस् । आफ्नो कामको क्षेत्रका मानिसहरुसंग सम्बन्ध बढाउनुहोस् ।