नयाँ वर्षको आरम्भ हुँदै थियो । दश जना साथीहरुको समूह मिलेर घुम्न जाने निधो गरे । घुम्न पुगेको ठाउँ सुन्दरपुरबाट उनीहरु हाइकिङ्गको लागि जाने सोंचे ।

हाइकिङ्गको लागि जाँदा सुनसान ठाउँको बीचमा उनीहरुले एउटा मन्दिर देखे । त्यो मन्दिरमा मानिसहरुको आवतजावत थियो । सुनसान ठाउँको मन्दिरमा मानिसहरुको चहलपहल देखेर उनीहरुलाई अचम्म लाग्यो । उनीहरुले एक जना व्यक्तिलाई सोधे, ” यो मन्दिरमा यस्तो भींड किन ?” । त्यसपछि उनीहरुले थाहा पाए, त्यहाँ एकजना महान गुरु बस्छन् । उनले मानिसहरुका समस्या उचित सुन्छन् र सुझाव, सल्लाह दिन्छन् । ती गुरु ज्ञानका भण्डार हुन् ।

ती साथीहरुको समूहले आफूहरुले पनि गुरुको अगाडी आफ्ना समस्या राख्ने सोंचे । उनीहरु सबै गएर गुरुको अगाडी बसे । तर गुरुले आफूलाई भेट्न आउनुको कारण सोधेपछि उनीहरु एक आपसमा झगडा गर्न थाले । कसले आफ्नो समस्या पहिले भन्ने विषयमा उनीहरुले ” तेरो समस्या भन्दा मेरो समस्या ठूलो छ । त्यसैले पहिले मैले भन्छु ” भनेर झगडा गर्न थालेका थिए ।

गुरुले उनीहरुलाई चुप हुन आग्रह गरे । त्यसपछि सबैलाई आफ्नो समस्या एउटा कागजमा लेखेर दिन भने । दश जनाले नै आफ्नो समस्या कागजमा लेखे र गुरुलाई दिए । गुरुले ती कागजहरुलाई एउटा बट्टामा राखे । र, त्यसबाट सबैलाई एक-एकवटा कागज लिन भने । अब एकजना साथीको हातमा अर्को साथीको समस्या परेको थियो । जब उनीहरुले आफूसंग आएको आफ्नो साथीको समस्या पढे , उनीहरुलाई साथीको समस्या पनि आफ्नो जस्तै र अझ त्यसभन्दा पनि ठूलो लाग्न थाल्यो । उनीहरु एक-अर्काको मुखामुख गर्न थाले ।

गुरुले त्यो शुन्यतालाई चिर्दै भने, ” हरेक व्यक्ति बाँच्नको संघर्ष गरिरहेको हुन्छ । समस्याका किसिम फरक हुन्छन्, तर हरेक व्यक्तिलाई कुनै न कुनै समस्याले सताइरहेको हुन्छ । अर्को व्यक्तिको जीवन बारे नजान्दासम्म हामीलाई आफ्नो समस्या ठूलो लाग्छ । त्यसैले निराशा पनि जन्माउँछ । तर वास्तवमा जीवन भनेकै समस्याहरुलाई जित्न गरिने परिक्षणहरुको एक सिलसिला हो । तिमीहरु आ-आफ्नो ठाउँमा ठीक छौ, तर तिमीहरु त्यति दुखी छैनौ, जति तिमीहरुले आफूहरुलाई सोंचिरहेका छौ ” ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text