परिचय

नील आर्मस्ट्रंग अमेरिकी खगोलयात्री तथा चन्द्रमामा पाइला टेक्ने संसारको पहिलो व्यक्ति थिए । यसका साथै उनी एक एयरोस्पेस इंजीनियर, नौसेना अधिकारी, परीक्षण पायलट र प्रोफेसर पनि थिए । उनको जन्म सन् १९३० अगस्ट ५ मा भएको थियो ।

प्रारम्भिक जीवन

नील आर्मस्ट्रंगको जन्म वपकोनेटा, ओहायोमा भएको थियो । उनको बुवाको नाम स्टीफेन आर्मस्ट्रंग र आमाको नाम वायला लुई एंजेल थियो । उनका जून और डीन दुई भाइ बहिनी थिए । बुवा स्टीफेन एक सरकारी अडिटर भएकाले उनको परिवार ओहायोको थुप्रै ठाउँमा बसाइ सराइ गर्दथ्यो । नील जन्मेपछि उनको परिवार लगभग बीस ठाउँमा बसाइ सरेको थियो । नील दुई वर्षको हुँदा उनलाई बुवाले क्लिभ्ल्यंड एयर रेस देखाउन लागे जसले गर्दा उनलाई हवाई उडानको रुचि जाग्यो । सन् १९३६ जुन २० मा नील पाँच वर्षको हुँदा उनका बुवाले उनलाई लिएर ओहायोको वारेन नामक स्थानमा एउटा फोर्ड ट्राईमोटर हवाई जहाजमा सवार भए, जुन नीलको हवाई उडानको पहिलो अनुभव थियो ।

नील ब्लूम हाईस्कूलमा भर्ना भए र उड़ानको पहिलो पढाइ वेपकनेटा ग्रासी एयरफील्डबाट लिन शुरु गरे l नीलले १६ वर्षको उमेरमै स्टूडेंट फ्लाईट सर्टिफिकेट पाउन सफल भए र त्यहि वर्ष अगस्टमा आफ्नो एकल उडान गरेका थिए । सन् १९४७ मा नील सत्र वर्षको हुँदा पुरडु यूनिभर्सिटीमा एरोनाटिकल इंजीनियरिंगको पढाई शुरू गरे, जसको प्रायोजन हलोय प्लानले गरेको थियो र शर्तअनुसार पढाई सकेपछि नीलले तीन वर्षको लागि युएस नौसेनामा सेवा दिनुपर्ने थियो । सन् १९४९ जनवरी २६ मा नीललाई युएस नौसेनाबाट बोलाइयो । उनले पेंसाकोला नेवी एयर स्टेशनमा १८ महिनाको तालिम लिए । सन् १९५० अगस्टमा उनलाई नेवल एविएटर (नौसेना पाइलट) को दर्जा दिईयो । त्यतिबेला उनी भर्खर २० वर्ष मात्र पुगेका थिए ।

एक नौसेनाको उडानकर्ताको रूपमा नीलको पहिलो तैनाती फ्लीट एयरक्राफ्ट सर्विस स्क्वार्डन ७ मा सान डियागोमा भएको थियो । सन् १९५१ अगस्ट २९ मा कोरियाई युद्धका समयमा नीलले युद्धका समयमा हुने पहिलो उडान गरेका थिए र त्यसको पाँच दिनपछि उनले पहिलो सशस्त्र उडान गरे । आर्मस्ट्रंगले कोरिया युद्ध विरुद्धको ७८ वटा मिशनका बेला १ सय २१ घण्टा हावामा गुजारेका थिए । उनलाई पहिलो २० मिशनको लागि ‘एयर मेडल’, अर्को २० को लागि ‘गोल्ड स्टार’ र कोरियन सर्विस मेडलबाट सम्मानित गरिएको थियो । सन् १९५२ अगस्ट २३ मा आर्मस्ट्रङ्गले नौसेना छोडेर संयुक्त राज्य नौसेना रिजर्वमा लेफ्टिनेंट (जूनियर ग्रेड) बने। त्यहाँ उनले आठ वर्ष सेवा गरे र अक्टूबर १९६० मा सेवानिवृत्त भए ।

नौसेनाबाट फर्केपछि आर्मस्ट्राङ्गले पुरुडु यूनिवर्सिटीमा फर्केर आफ्नो पढ़ाई शुरु गरे । सन् १९५५ मा उनले एरोनटिकल इंजीनियरिंगमा विज्ञान स्नातक (बी॰एस॰) की उपाधि हासिल गरे । कलेजका दिनहरुमा नीलको भेट एलिजाबेथ शेरनसंग भेट भयो र सन् १९५६ जनवरी २७ मा उनीहरुले विवाह गरेका थिए । उनीहरुका तीन सन्तान छन् । सन् १९७० मा आर्मस्ट्रङ्ग ले साउथ कैलीफोर्निया युनिवर्सिटीबाट एयरोस्पेस इञ्जिनियरिङ्ग मा स्नाकोत्तर गरे । उनलाई केही विश्वविद्यालयहरुले मानार्थ डाक्टर उपाधिबाट सम्मानित गरेका थिए ।


Armstrong in 1999
Photo Source : Wikipedia

अन्तरिक्ष यात्रा

सन् १९५५ मा नीलले नासाका लागि प्रायोगिक अनुसन्धान टेस्ट पाइलट पदमा आवेदन भरेका थिए । तर त्यहाँ पद खाली नभएका कारण उनको आवेदन लिविस फ्लाइट ल्याबोरेटरी क्लिभ्ल्यांडमा पठाइयो । त्यहाँ उनले काम शुरु गरेको केही महिना पछि उनलाई नासामा बोलाइएको थियो । सत्र वर्ष सम्म नीलले नासामा इन्जिनियर,टेस्ट पाइलट ,खगोल यात्री,व्यवस्थापक जस्ता पदमा रहेर काम गरे ।

अनुसन्धान टेस्ट पाइलट बनेर आर्मस्ट्रंगले एक्स – १५ का साथै अन्य लगभग २०० प्रकारका विमान उडाइसकेका थिए । सन् १९५८मा आर्म्सट्रंगलाई अमेरिकी एयर्फोर्सले “म्यान इन स्पेस सूनसेट प्रोग्राम” को लागि लियो । त्यसपछि उनी सन् १९६० को नोभम्बरमा एक्स -२० डाइना-सो’र को टेस्ट पायलट को रूपमा नियुक्त भए । सन् १९६२ को मेमा यस यानको अंतरिक्ष यात्राको सम्भावना भएका सात पाइलटहरुको नाम मध्ये नील आर्म्सट्रंगको नाम पनि थियो । यसरी नील आर्म्सट्रंग अन्तरिक्षमा जान सफल पहिलो अमेरिकी नागरिक हुन् पुगे । सन् १९६६ मार्च १६ मा शुरुवात गरिएको नीलको पहिलो मिशन जेमिनी ८ थियो र उनी त्यसका कमाण्ड पाइलट थिए । ७५ घण्टा र ५५ कक्षिय का लागि उडेको यो यान टेक्निकल समस्याका कारण ११ घन्टामै फर्केको थियो । सन् १९६६ सेप्टेम्बर १२ मा शुरुवात भएको जेमिनी -११ को ब्याक अप कमाण्ड पाइलट मा नीललाई नियुक्त गरिएको थियो ।

सन् १९६८ डिसेम्बर २३ मा नील एपोलो -११ का लागि कमान्डर पदमा नियुक्त भए । नील आफ्नो काम पूरा गर्न दृढ संकल्पका साथ लाग्दथे र कुनै पनि काम सफल पार्नको लागि कार्यदल भित्र सामुहिक भावना हुनुपर्छ भन्ने मान्यता राख्दथे । सन् १९६० जुलाई २० मा निल आर्म्सट्रंग आफ्ना दुई पाइलट सहित चन्द्रमामा पाइला टेक्ने प्रथम मानव बन्न सफल भए । त्यहाँ पुगेपछि उनको पहिलो भनाई थियो “मानिसका लागि यो सानो पाइला हो, मानव सभ्यताका लागि भने एउटा ठूलो फड्को हो”। चन्द्रमामा २ घण्टा रहेर फेरि अन्तरिक्षयानद्वारा पृथ्वीमा फर्किदा उनीहरुको अवतरण प्रशान्त महासागरमा भएको थियो र त्यहाँबाट उनीहरुलाई युएसएस हर्नेटले निकालेको थियो । त्यसपछि उनीहरुलाई चन्द्रमामा भएको कुनै पनि चिजबाट इन्फेक्सन नहोस भन्ने हेतुले अठार दिन सम्म संगरोधमा राखियो । संगरोध पछि उनीहरु ४५ दिनको छुट्टीमा संसार घुम्न निस्किएका थिए । एपोलो -११ पछि नीलले अरु कुनै अन्तरिक्ष यान नउडाउने घोषणा गरेका थिए।

सन् १९७० मा नीललाई एरोनटिक्स अफिसका लागि डेपुटी एसोसियट एड्मिंसट्रेटर पदमा नियुक्त गरियो तर उनले एक वर्षको कार्यकाल पछि सो पदबाट राजिनामा दिए । सन् १९७१ मा उनले नासाबाट पनि राजिनामा लिए । त्यसपछि उनी सिनसिनाटी विश्वविद्यालयमा एयरोस्पेस इञ्जिनियरिङ्गका प्राध्यापक बने र आठ वर्षको अध्यापन कार्य पछि सन् १९७९ मा प्राध्यापनबाट पनि राजिनामा दिए । पछि उनी नासाका कुनै अभियानको असफलता र दुर्घटना ग्रस्त यानको जाँच गर्ने सदस्य पदमा रहेका थिए । सन् १९८६मा प्रेसिडेंट रीगन ले उनलाई रोजर्स कमीशन को सदस्यको रूपमा नियुक्त गरेको थियो जसको काम चैलेंजर स्पेस-शटल को दुर्घटनाग्रस्त हुनुको कारणको जाँच गर्नु थियो । आर्मस्ट्रंगले थुप्रै कम्पनीहरुमा प्रवक्ताका साथै बोर्ड अफ डाइरेक्टरसको सदस्य का रूपमा पनि काम गरे ।

कोरोनरी धमनिहरु ब्लक भएका कारण सर्जरी गर्ने क्रममा सन् २०१२ अगस्ट ७ मा आर्मस्ट्रंगको मृत्यु भएको थियो।

Neil Armstrong’s Signature
Photo Source : Wikipedia

सफलता

निल आर्म्सट्रंग आफ्ना दुई पाइलट सहित चन्द्रमामा पाइला टेक्ने प्रथम मानव बन्न सफल भए । नील आर्म्सट्रंगलाई धेरै अवार्डहरुद्वारा सम्मान गरिएको छ । उनले प्रेसिडेनसियल मेडल अफ फ्रिडम,कंग्रेस्नल स्पेस मेडल अफ अनर,रोबर्ट एच गाडर्ड मेमोरियल ट्रफी,सल्भानस देयर अवार्ड पाएका थिए । यसका साथै द नेसनल एरोनटिक्स एसोसियनले उनलाई कलियर ट्रफी बाट सम्मानित गरेको थियो । त्यसपछि आर्म्सट्रंगलाई अरु अवार्ड – “कंग्रेस्नल गोल्ड मेडल ,नासा डिस्टिंगगिस्ड सर्विस मेडल,ल्यांगली गोल्ड मेडल,अमेरिकन एस्ट्रोनटिकल सोसाइटी फ्लाइट अचिभमेन्ट अवार्ड,जन जे मन्टगोमरि अवार्ड ” पनि दिईयो । उनलाई युनाइटेड स्टेट्स एस्ट्रोनट हल अफ फेम र एरोस्पेस वक अफ अनर बाट पनि सम्मान गरिएको थियो । आर्म्सट्रंगको नामसंग जोडेर अन्तरिक्षको एउटा ग्रहिका र लुनार क्रेटरको नाम राखिएको थियो । यसका साथै संसारका विभिन्न स्कूल, कलेज ,भवन , सडक आदिको नाम नील आर्मस्ट्रङ्ग संग जोडेर राखिएको छ । उनलाई द स्पेस फाउन्डेसन को तर्फबाट “द २०१३ जेनेरल जेम्स इ हिल लाइफ टाइम स्पेस अचिभमेन्ट अवार्ड” दिइएको थियो ।

प्रगतिको बाटोको निश्चित गन्तव्य हुँदैन । सिक्नको लागि, प्रयास गर्नको लागि हरेक दिन नयाँ कुराहरु हुन्छन् । प्रगतिको एउटा बिन्दुमा पुगेपछि अगाडी बढ्नुपर्ने अर्को बाटो देखिन्छ । भनिन्छ नि, ” कुनै एउटा पहाडको टुप्पोमा पुगेर हेरेपछि, चढ्नुपर्ने अझ धेरै पहाडहरु देखिन्छन् ” । त्यसैले त जीवन एउटा यात्रा हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text