प्रेमलाई जिन्दगी देखि लागिरहेको थियो । ऊ आफूलाई सधै दुखी देख्थ्यो । ऊ आफू बाहेक अरु सबैलाई खुशी देख्थ्यो । जीन्दगीमा कहिले सुखी भइएला, कहिले खुशी भइएला भन्ने चिन्ताले उसलाई सधै सताउँथ्यो ।

प्रेमसंग केही सम्पत्ति पनि थियो, एउटा जागिर थियो र परिवार पनि । तर ऊ भने सन्तुष्ट थिएन ।

एकरात निन्द्रामा प्रेमले अनौठो सपना देख्यो । सपनामा उसको अगाडी भगवान हुनुहुन्थ्यो । शीर निहुराएर बसिरहेको उसलाई भगवानले शीरमा हात राखिदिदै उठ्ने इशारा गर्नुभयो । त्यसपछि उसलाई एउटा ढोका निर लैजानुभयो ।

जब ढोका खुल्यो प्रेमले देख्यो कि त्यहाँ एउटा ठूलो टेबल छ । वरिपरि कुर्सीहरुछन् र ती कुर्सीहरुमा मानिसहरु बसिरहेका छन् । ती मानिसहरु ख्याउटे छन्, निन्याउरो अनुहार छ । उनीहरुको हातमा ज्यादै लामा चम्चाहरु बाँधिएका छन् । टेबलको बीचमा एउटा भाँडो छ, जसमा खाना छ । ती मानिसहरुले आफ्नो हातमा बाँधिएको चम्चाले त्यो खाना लिएर खानुपर्छ । लामो हुनाले खाना त पुगिन्छ तर आफ्नो मुखमा लैजान भने समस्या हुन्छ । त्यसैले तिनीहरुले पेटभरि खान पाएका छैनन् , स्वस्थ छैनन् । दुखी छन् ।

त्यसपछि भगवानले प्रेमलाई अर्को ढोका तिर लैजानुभयो र त्यो ढोका खोल्नुभयो । त्यहाँ पनि त्यसैगरि टेबल, खाना, कुर्सी राखिएका छन् । त्यसैगरी मानिसहरुको हातमा लामा चम्चाहरु बाँधिएका छन् । तर अचम्म ! त्यहाँका मानिसहरु खुशी छन्, स्वस्थ छन्, हँसिला देखिन्छन् ।

प्रेम अचम्ममा परेको देखेर भगवानले उसलाई सम्झाउँदै भन्नुभयो, ” पहिलेका मानिसहरुले आफ्नो मात्र सोंचे, चम्चा आफ्नो मुखसम्म नपुग्ने चिन्तामा मात्र उनीहरु डुबीरहे । तर यहाँका मानिसहरुले चम्चाको लम्बाई अनुसार, एक अर्कालाई खुवाए । चम्चाले एक अर्काको मुखसम्म खाना पुर्याए । उनीहरु चिन्तामा डुबेर बसेनन् । समस्याको समाधानको बाटो खोजे । उनीहरुले आफ्नो बारेमा मात्र सोंचेनन् । आफ्नो वरिपरिका मानिसहरुको बारेमा पनि सोंचे । उनीहरुले आफूसंग के छैन भन्ने कुरालाई महत्व दिएनन् । आफूसंग भएको कुरालाई आफ्नो हितमा कसरि प्रयोग गर्ने भन्ने सोंचे । त्यसैले उनीहरु खुशी छन्, सुखी छन् “।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text