जुन कुरा अहिले वास्तविक जीवनमा छन्, ती कुरा पहिले केवल कल्पनामा मात्र थिए ।

परिचय

विलियम ब्लेक विश्वप्रसिद्ध कवि तथा चित्रकार हुन् । उनी अंग्रेजी साहित्यमा “द ल्याम्ब ” र “द टाइगर” कविताका लागि प्रख्यात छन् । विलियम ब्लेकले आफ्नो सिर्जना मार्फत लैङ्गिक समानता, वर्गीय समानताका विचार संगै रंगभेद विरुद्धको आफ्नो आवाज प्रस्तुत गर्थे । उनको जन्म सन् १७५७ नोभेम्बर २८ मा भएको थियो ।

प्रारम्भिक यात्रा

विलियम ब्लेक लण्डनको सोहोमा जन्मिएका थिए । उनका बुवाको नाम जेम्स थियो, जो एक कपडा उत्पादक थिए । उनकी आमाको नाम क्याथरिन राइट आर्मिटेज थियो । बुवा आमाका सात जना सन्तानहरु मध्ये विलियम तेस्रो सन्तान थिए । विलियमका बुवा आमाले उनको लागि पुराना ग्रिक चित्रकलाका अवशेषहरु किनेर ल्याईदिन्थे र विलियमले तिनको नक्कल गरेर बस्दथे । यसरी प्रयास गर्दै जाँदा उनी माइकालनजेलो र राफायेल जस्ता प्रख्यात चित्रकारहरुको शैलीमा चित्रहरु कोर्न थाले ।

कला तथा साहित्य यात्रा

विलियम दश वर्षको हुँदा उनका बुवा आमाले उनलाई चित्रकला सम्बन्धि अध्ययन हुने विद्यालयमा भर्ना गरिदिएका थिए । घरमा उनकी आमाले उनलाई कविता सम्बन्धि ज्ञानहरु दिने गर्दथिइन् । सन् १७७२ मा ब्लेक प्रसिद्ध शिल्पकार जेम्स बजायरको ग्रेट कुइन स्ट्रिट मा रहेको शिल्पशालामा आफ्नो कलालाई अझ निखार्नको लागि भर्ना भएका थिए । २१ वर्षको उमेरमा विलियम एक व्यवसायीक शिल्पकार बन्न सफल भए र गोथिक चर्च लन्डन द्वारा प्रभावित शिल्पकला बनाउने काम पाए । २२ वर्षको हुँदा उनी रोयल एकेडमी अफ आर्ट्स मा भर्ना भएका थिए।

सन् १७८३ मा विलियम ब्लेकले अंग्रेजी साहित्य तर्फ पहिलो पाइला चाल्दै आफूद्वारा रचित “पोएटिकल स्केचेज”नामक कविता संग्रह प्रस्तुत गरेका थिए । सन् १७८४ मा उनले आफ्नो शिल्पशाला खोलेका थिए जसमा ,शिल्पकार जेम्स पार्कर उनीसंग सहकार्य गर्दथे भने जोसेफ जनसनले प्रकाशनको जिम्मेवारी लिएका थिए । त्यस दौरान विलियमले आफ्नो कला मार्फत बेलायति समाजमा रहेको जातपात र दास सम्बन्धि प्रथाको निन्दा गर्दथे । सन् १७८८ मा विलियमले रिलिफ एचिंगको प्रयोग शुरु गरे जसमा उनी आफ्ना कविताहरुलाई तामाको पातामा उतार्दथे । यो प्रक्रियालाई इल्युमिनेटेड प्रिंटिंग पनि भनिन्छ ।

सन् १७८९ मा बाल्यकाललाई दर्शाउँदै विलियमले “द ल्याम्ब “र “द चिम्नी स्वीपर ” सहित उन्नाइस कविताहरुको संग्रह प्रस्तुत गरेका थिए । जसमध्ये ” द ल्याम्ब ” मा जिसस क्राइस्टको जस्तो निर्दोषता झल्केको थियो । सन् १७९१ मा ब्लेक्ले मेरी वुलस्टनक्राफ्ट रचित “ओरिजिनल स्टोरिज फ्रम रियल लाइफ” को चित्रण गरेका थिए । उनीहरु दुइ बीच लैङ्गिक समानता र विवाह सम्बन्धि विचार साझा थियो तर वास्तवमा यी दुई बीच भेट कहिले भयो भन्ने कुराको अझैसम्म पनि कुनै प्रमाण छैन । सन् १७९३ मा “डटर्स अफ एल्बियन” मा ब्लेकले बिना प्रेमको विवाहको विसंगतिको आलोचना गरेका थिए र विवाहित महिलाको अधिकारको पक्ष लिएका थिए ।

सन् १७९४ मा “संग्स अफ एक्स्पिरियंस” मा ब्लेक्ले मानव अधिकार र मानव स्वतन्त्रताको बारेमा लेखेका थिए । जसमा ” द टाइगर ” शिर्षक कविता मुख्य केन्द्रबिन्दु थियो र उनको पुरानो कविता “द ल्याम्ब ” संग सम्बन्धित पनि थियो । सन् १७९५ देखि सन् १७९९ सम्म विलियम ब्लेकले विभिन्न सामाजिक कुराहरुको चित्रण गर्दै धेरै कृतिहरु प्रस्तुत गरे, जस्तै द नाइट अफ एनिथार्मन , न्युटन ,अ नेग्रो हंग अलाइभ बाइ द रिब्स टु अ ग्यालोज आदि ।

लेखक जन गाब्रियल स्टेडम्यानको “न्यारेटिभ अफ अ फाइभ इअर्स एक्सपेडिसन” लाई विलियमले चित्रकला द्वारा प्रस्तुत गरेका थिए । त्यसमा जातिय रंगभेदको बारेमा लेखिएको थियो । कवि विलियम हाइलिले आफ्ना कविताहरुको शिल्पकलाद्वारा चित्रण गर्ने कामको लागि विलियम ब्लेकलाई फेल्फ्याम बोलाएका थिए । त्यसै दौरान सन् १८०४ मा विलियमले दुई वटा कृतिहरु “मिल्टन” र “जेरुसेलम” लेखेका थिए जसमध्ये “जेरुसेलम” उनको हृदय नजिक थियो । सन् १८०९ मा विलियमले “द क्यान्टरबरी पिल्ग्रिम्स” नाम दिएर आफ्नो कला र कृतिहरुको प्रदर्शन गरेका थिए ।

सन् १८२६ मा इटालियन कवि डनते एलिगारी द्वारा रचित “डीभाइन कमेडी” को चित्रण गर्ने काम विलियम ब्लेकलाई दिएका थिए । तर उक्त काम शुरु गरेको एक वर्षमा उनको मृत्यु भएको थियो । उनको त्यो काम पूरा नभएपनि आफू बाचुन्जेल उनले त्यसमा गरेको चित्रकला र शिल्पकला उत्कृष्ट रहेका छन् ।

सन् १७८२ अगस्टमा विलियमले क्याटरिनसंग विवाह गरेका थिए । विवाहपछि विलियमले श्रीमतीलाई पढ्न, लेख्नका साथै शिल्पकला पनि सिकाएका थिए । श्रीमती क्याटरिनले शिल्पकला सिकेपछि विलियमलाई उनको काममा सघाउँथिन् । एक अज्ञात रोगका कारण सन् १८२७ अगस्त १२ मा विलियमको मृत्यु भएको थियो ।

सफलता

विलियमका कविता संग्रह “संग्स अफ इनोसेंस” र “संग्स अफ एक्स्पिरियंस” उनका रचनाहरु मध्ये उत्कृष्ट मानिन्छन् । प्रसिद्ध संगीत संयोजकहरुले उनका कविताहरुलाई संगीत दिएका थिए । विलियम ब्लेकको जीवन र उनका कला कृतिका बारेमा धेरै किताबहरु लेखिएका छन् ।सन् २००० देखि सन् २०१५ सम्म विलियम ब्लेकका कृतिहरु र चित्रकलाको प्रदर्शन गरिएको थियो ।

हामी भन्छौं, ” बोलेर केही हुन्न, समाज परिवर्तन हुनेवाल छैन ” । त्यस्तै सुझाव दिन्छौं, ” त्यो असम्भव छ । तिमीले सोंचेजस्तो हुन्न ” । हरेक कुरा सबैभन्दा पहिले मानिसको सोंचमा कल्पनामा हुन्छ । हरेक कुराको सुरुवाती बिन्दु असम्भव लाग्छ । तर अहिले हामीसंग जुन कुरा छ, अहिले हाम्रो समाजको जुन सोंच र संस्कार छ, यो परिवर्तन तथा आविष्कार एकै पटकमा भएको होइन । कल्पनाशक्तिबाट भएको क्रमिक विकासले नै यो सम्भव भएको हो । त्यसैले , बोलौं, केही गरौँ । तपाईंको बोली र कामको परिणाम अहिले नै नदेखिएला तर त्यो परिवर्तनको आधार, , आविष्कारको सुरुवात बन्न सक्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text