आफ्नो बारेमा सोंच्नु भनेको सबैभन्दा हिम्मतिलो काम हो ।

परिचय

कोको शनेल फ्रेन्च फेशन डिजाइनरका साथै विश्वप्रसिद्ध फेशन ब्राण्ड “शेनल” की संस्थापक पनि हुन् । शेनलले नै पहिरनलाई क्लासिक र क्याजुल शैलीको रुपमा विभाजन गरेकी थिइन् । उनले नै सबैभन्दा पहिलो पटक महिलाहरुका लागि पुरुष जस्तै सहज, खुल्ला पहिरन र महिला सुटको डिजाइन गरेकी थिइन् । कोको शेनलको पूरा नाम गैब्रिएल बुन्ह कोको शेनल थियो । उनको जन्म सन् १८८३ अगस्ट १९ मा भएको थियो ।

प्रारम्भिक जीवन

कोको शेनलको जन्म फ्रान्सको एउटा गरिब परिवारमा भएको थियो । उनकी आमा युन्जिनी धोबीको काम गर्थिन् भने बुवा अल्बर्ट सडकमा खुद्रा व्यापार गर्दथे । शेनल आमा बुवाका पाँच सन्तानहरु मध्ये दोस्रो थिइन् । १२ वर्षको उमेरमा शेनलकी आमाको मृत्यु भएका कारण उनका बुवाले शेनल सहित तीन छोरीहरुलाई उबजिनको एउटा अनाथलयमा र दुई छोराहरुलाई श्रमिकका रुपमा काम गर्न पठाएका थिए । अठार वर्षकी हुँदा शेनल मलिंस शहरको क्याथलिक केटीहरुको लागि खोलिएको आवास घरमा बस्न गएकी थिइन् ।

व्यवसायिक यात्रा

उबजिनको अनाथलयमा छ वर्षसम्म रहँदा शेनलले कपडा सिलाईको काम गर्दाथिन्, जसले गर्दा उनले मलिंस आएपछि कपडा सिलाउने जागिर पाइन् । जागिर बाहेकको फुर्सदको समयमा उनले क्याबरेट गीत पनि गाउँथिन् । उनले मलिन्सको एउटा क्याफेको कन्सर्टमा पहिलो चोटी स्टेजमा गाउने मौका पाएकी थिइन् । गीत गाउने क्रममा उनले धेरै जसो “हु हेज सिन कोको” भन्ने गीत गाउने हुँदा उनको उपनाम “कोको” रहन गएको थियो । सन् १९०६ मा शेनल स्टेज शो गर्नका लागि भिशी शहरको एउटा स्पा रिसोर्टमा गएकी थिइन् । त्यहाँ रहँदा उनलाई स्टेजमा गाउनु आफ्नो भविष्यको लक्ष्य नभएको अनुभव भएपछि मलिंस फर्केकी थिइन् ।

शेनललाई आफ्नो पहिलो पसल खोल्न उनका प्रेमी क्यापलले सहयोग गरेका थिए । क्यापलको चट्ट परेको लुगा लगाउने शैलीले कोको शेनललाई आफ्नो ब्रान्डको डिजाइनमा प्रभाव पारेको थियो । शेनलको सिग्नेचर सुगन्ध “शेनल फाइभ” पनि क्यापलले बोक्ने गरेका सामानहरु बाट प्रभवित भएर बनाइएको डिजाइन थियो । सन् १९१३ मा क्यापलकै सहयोगबाट उनले दभील्ला भन्ने शहरमा आफ्नो पहिलो बुटिक खोलेकी थिइन् । जसमा उनले महिलाको लागि खेल्दा लगाइने पोशाक र दैनिक रुपमा प्रयोग हुने पोशाकहरुको डिजाइन गरेकी थिइन् । त्यतिबेला महिलाका लागि पुरुषहरुको जस्तो खुल्ला लुगा र खेल्दा लगाउने लुगा बन्नु आश्चर्यजनक थियो । उनको यो नौलो डिजाइन सबैलाई मन पर्यो र उनी एक फेशन डिजाइनर बन्नका लागि चालेको यो कदममा सफल भइन् ।

सन् १९१५ मा बियारिज भन्ने शहरमा शेनलले दोस्रो बुटिक खोलिन् र त्यसमा पनि उनी सफल रहिन्। सन् १९१९ मा पेरिसको फेशनेबल एरियाको एउटा बिल्डिंगमा कोकोले ‘शेनल फेशन डिजाइनिंग व्यवसाय’को स्थापना गरेकी थिइन् । शेनलको व्यवसाय फस्टाउँदै गएपछि सन् १९३५ सम्म उनको व्यवसायमा साथ दिने कामदारहरुको संख्या चार हजार पुगेको थियो । तर दोस्रो विश्वयुद्ध शुरु भएका कारण सन् १९३० को दशकको अन्त्यतिर व्यापारमा कमी आएका कारण शेनललाई आफ्ना पसलहरु बन्द गर्नु परेको थियो ।

विश्वयुद्धको अन्त्यपछि सन् १९५४ मा शेनल पेरिस फर्केर आफ्नो व्यवसाय फेरी शुरु गरेकी थिइन् । कोकोले महिलाका लागि कालो र सेतो मोती जडित “शेनल सूट” को डिजाइन गरिन् जुन नौलो भएपनि प्रसिद्ध भएको थियो । सन् १९५५ फेब्रुअरीमा कोकोले डिजाइन गरेको सुन र अरु धातुको चेन भएको छालाको हातमा बोक्ने झोला २/५५ का नामले विश्वप्रसिद्ध भयो । उनले महिलाका साथै पुरुषका लागि पनि परफ्युम उत्पादन गरेकी थिइन् । आधुनिक महिलाले लगाउने पोशाक “लिटिल ब्ल्याक ड्रेस”को डिजाइन पनि कोको शेनलको हो । उनले विभिन्न किसिमका मोती तथा पत्थरहरु जडित गहनाहरुको डिजाइन गर्नुका साथै हलिवुडका चलचित्रहरुका लागि पनि वस्त्र डिजाइन गरेकी थिइन् ।

सन् १९७१ जनवरी १० मा सतासी वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

सफलता

कोको शेनलले स्थापना गरेको ‘शेनल’ ब्राण्ड अहिले पनि विश्वभर विश्वासिलो ब्राण्डको रुपमा लोकप्रिय छ । टाइम पत्रिकाका अनुसार शेनलको नाम बीसौं शताब्दीका सय जना प्रेरणादायी व्यक्तिहरुको नाममा पर्नु फेशन डिजाइनिंग विधा तर्फ पहिलो हो । कोको शेनलको जीवनबाट प्रभावित विभिन्न चलचित्रहरु बनेका छन् ।

अरुको निर्णयलाई मानेर हिड्ने मानिसलाई उसको वरिपरिका मानिसले प्रशंसा गर्छन् । तर साँचो अर्थमा हिम्मतिलो व्यक्ति त त्यो हो, जसले आफ्नो मनको आवाजलाई बाहिर ल्याउँछ, जसले आफ्नो बारेमा पनि सोंचेर निर्णय लिन्छ । यसको लागि कहिलेकाहीं बाँकी दुनियाँसंग लड्नुपर्ने समेत हुन्छ । तर आफूमाथि विश्वास भएको व्यक्तिले तत्काल अरुलाई खुशी बनाउने भन्दा पनि समाजको दिर्घकालिन फाइदा र आफ्नो जीवनको अस्तित्वलाई लिएर साहासका साथ निर्णय लिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text