मैले लुगा डिजाइन गर्दिन, मेरो सपना डिजाइन गर्छु ।

परिचय

राल्फ लरेन एक प्रसिद्ध फेसन डिजाइनर हुनुका साथै विश्वप्रसिद्ध तयारी पोशाकको ब्राण्ड “पोलो राल्फ लरेन” का संस्थापक पनि हुन् । सन् २०१५ मा आफ्नो कम्पनी राल्फ लरेन कर्पोरेसनको सीइओ पदबाट उनले राजीनामा दिएका थिए । तर कम्पनीको अध्यक्ष भने उनी आफै हुन् ।
विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनको जन्म सन् १९३९ अक्टोबर १४ मा भएको हो ।

प्रारम्भिक यात्रा

राल्फ लरेन जन्मिदा उनको नाम राल्फ लिफ्सिज राखिएको थियो । राल्फको जन्म अमेरिकाको न्युयोर्कमा भएको हो । उनका आमा बुवा फ्रेदल र फ्र्यांक जिविश नागरिक हुन् । राल्फले मन्हातन टलम्युदिकल एकेडमीबाट प्रारम्भिक शिक्षा लिएपछि सन् १९५७ मा विट क्लिन्टन हाई स्कूलबाट ग्राजुएसन गरेका थिए ।

सहपाठीहरुले स्कूलमा जिस्काएका कारण उनले आफ्नो नाम राल्फ लिफ्सिजलाई फेरेर राल्फ लरेन राखेका थिए । उनले स्कूलका सहपाठीहरुलाई नेक टाई बेच्ने गर्दथे । बिजनेस स्टडीका लागि बरुच कलेजमा भर्ना भएको दुई वर्ष पछि उनी कलेज छोडेर सैनिक सेवामा भर्ना भए । सन् १९६२ देखि १९६४ सम्मको सैनिक सेवापछि राल्फ ब्रुक ब्रदर्स नामक कम्पनीमा बजार प्रतिनिधिका रुपमा जागिर खान पुगे । त्यसको केहि समयपछि उनले एउटा कम्पनीको नेक टाई बेच्ने काम गरे । आफूले नया युरोपियन स्टाइलका नेक टाई डिजाइन गर्न सक्ने कुरा राल्फले कम्पनीका मालिक समक्ष राखे तर कम्पनीका मालिकले उनको कुरालाई बेवास्ता गरे ।

व्यवसायिक यात्रा

जागिर गरिरहेको ठाउँमा आफूले गरेको नयाँ डिजाइनको मालिकले बेवास्ता गरेपछि लरेनले जागिर छोडेर आफ्नो व्यवसाय गर्ने निधो गरे । उनले विभिन्न किसिमका कपडाहरुबाट आफ्नो डिजाइन अनुसारको टाईहरु बनाउँदै न्युयोर्कका विभिन्न पसलहरुमा गएर बेच्न थाले । यसैक्रममा राल्फद्वारा निर्मित सय दर्जन टाई नेइमन मार्कस भन्ने कम्पनीले खरिद गर्यो जुन कुरा राल्फले शुरु गरेको व्यवसायको पहिलो खुड्किलो थियो ।

सन् १९६७ मा नर्मन हिल्टन नामक एउटा कपडा उद्योगीबाट राल्फले पचास हजार अमेरिकी डलर लिएर नेक टाई को पसल खोले । पसलमा उनले आफूले डिजाइन गरेका टाईहरुलाई ब्रूक ब्रदर्स कम्पनीबाट स्वीकृति लिएर “पोलो”नामको लेबल दिएका थिए । व्यवसायलाई बिस्तार गर्दै सन् १९७१ मा बेभर्लि हिल्सको रोडियो ड्राइभमा उनले “पोलो बुटिक” खोले ।

सन् १९७२ मा पोलोको लोगो सहितको छोटो बाहुला भएको टिशर्टका साथै महिलाका लागि तयारी पोशाकको पनि डिजाइन र उत्पदान गरे ।राल्फको डिजाइन प्रसिद्ध हुँदै गएपछि “द ग्रेट गेट्सबाइ” र “एनी हल” जस्ता चलचित्रहरुमा उनी द्वारा डिजाइन गरिएका पोशाकहरुको प्रयोग गरिएको थियो । सन् १९८४ मा उनले “पोलो राल्फ लरेन”नाम दिएर राइन्लेंडर मेन्सनमा आफ्नो प्रमुख पसल खोले ।

सन् १९९७ मा राल्फ लरेन संस्था एउटा ठूलो पब्लिक कम्पनि बन्यो र न्युयोर्क स्टक एक्सचेन्जमा “आर एल’ को नामले फैलिँदै गयो । सन् २००० मा राल्फले आफ्नो फेशनेबल “लाइफ स्टाइल” को सामाजिक संजालमा व्यवसायिक विज्ञापनका लागि एनबिसी टेलिभिजन नेटवर्कसँग तीस वर्षको लागि सम्झौता गरे । सन् २००७ सम्म आइपुग्दा अमेरिकाका विभिन्न शहरमा राल्फ लरेनका पैँतीस बुटिकहरुको स्थापना भएको थियो ।

व्यवसायिक कार्यका साथै राल्फ सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले “द अमेरिकन हिरोज फन्ड” को स्थापना गरेका छन् जुन संस्थाले आमाबुवा गुमाएका बच्चाहरुको मद्धत गर्दछ । यसका साथै सन् २००३ मा “राल्फ लरेन सेन्टर फर क्यान्सर केयर एण्ड प्रिभेन्सन” नामक संस्थाको पनि स्थापना गरे। स्तन क्यान्सर सम्बन्धि रिसर्च स्थापना र साथमा अन्य थुप्रै सामाजिक कार्यमा उनी सक्रिय छन्

सन् १९६४ डिसेम्बर २० मा राल्फले रिक्की एनी सँग विवाह गरेका थिए । उनीहरुका तीन सन्तान छन्। गाडीका शौखिन राल्फसँग लगभग सत्तरी प्रकारका विभिन्न कम्पनीका गाडीहरु छन् । सन् १९८७ मा उनको दिमागमा देखिएको सामान्य किसिमको ट्युमर निकाल्नका लागि अप्रेसन गर्नु परेको थियो ।

सफलता

आफ्नो प्रतिभाका कारण अरु व्यवसायीहरुको बिचमा राल्फ लरेन आफूलाई डिजाइनर , सिर्जनाकर्ता का साथै एउटा मल्टी बिलियन कम्पनीका मालिक स्थापित गर्न सफल भए । राल्फ एक मात्र फेशन डिजाइनर हुन् जसले आफ्नो लोगो सहितको पहिलो प्रमुख पसल अमेरिकामा खोल्न सफल भएका थिए । यसका साथै समाजका विभिन्न वर्गका चाहना अनुरुपको जीवनशैलीलाई आधार बनाएर कपडा तथा सामानहरुमा आफ्नो डिजाइन प्रस्तुत गर्ने राल्फ लरेन पहिलो फेशन डिजाइनर पनि हुन् ।

सन् १९७० र १९७३ मा राल्फ पुरुषको तयारी पोशाकका लागि “सी ओ टी वाई” अवार्ड र सन् १९७४ मा महिलाको तयारी पोशाकका लागि “विन्नी” अवार्ड द्वारा सम्मानित भएका थिए । सन् १९७५ मा उनले अमेरिकन फेशन अवार्ड जिते । सन् १९८८ मा राल्फलाई प्राट इन्टिच्युटले फाइन आर्ट्स तर्फ मानार्थ डाक्टर उपाधि दिएको थियो । सन् २००७ मा राल्फ लरेनले ” द अमेरिकन फेशन लेजेंड अवार्ड” पाउन सफल भए ।सन् २०१० मा उनी निकोलास सार्कोजी द्वारा ” द शेवलियर डी ला लिजन दी अनर” बाट समानित भएका थिए । फोर्ब्स पत्रिका अनुसार संसारका धनी व्यक्तिहरुको नाम मध्ये राल्फ लरेनको नाम १६२औं स्थानमा परेको थियो ।

सपना यत्तिकै पूरा हुँदैन । सपना पूरा हुनको लागि काम गर्नुपर्छ । र, जब काम गर्दा हामीले कामलाई केवल समयको सदुपयोग र आम्दानिको लागि मात्र नभएर एउटा सपनाको रुपमा मान्छौं, तब हाम्रो सपना साकार हुन्छ । हामीले लगाउने विश्वप्रसिद्ध ब्राण्ड ‘पोलो’का संस्थापक लरेनको भनाइ जस्तै >>
“मैले लुगा डिजाइन गर्दिन, मेरो सपना डिजाइन गर्छु “।

Photo Source :
WWD.com

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text