सपना देख्न समेत डराउने हामी सबैको लागि प्रेरणाको स्रोत बनेकी छिन्, भावना तामाङ्ग । सिन्धुपाल्चोकको ज्यामिरेमा जन्मिएकी उनी विभिन्न समस्याहरुको सामना गर्दै अहिले डाक्टर बनेकी छिन् ।
घरको जेठो सन्तानको रुपमा जन्मिएकी भावनाको घरमा आमा बाबुबीच हुने गृहकलहले गर्दा बाल्यकालमा उनले सपना देख्ने मौका समेत पाइनन् । बाबुले बेवास्ता गरेपछि उनकी आमाले आफ्ना तीन छोरी बोकेर काठमाडौं आइन् र अरुको घरमा भाँडा मांझेर छोरीहरु हुर्काउन थालिन् । सबैभन्दा जेठी भावना चार कक्षामा पढ्दा उनले पढ्ने स्कूल कुनै कारणवश भत्काइयो । छात्रवृत्तिमा पढिरहेकी भावनालाई अरु स्कुलमा भर्ना गरिदिन आमासंग पैसा थिएन। एक वर्ष स्कुल जान नपाएको पीडामा गुजारेपछि अर्को वर्ष १०० रुपैयाँले पढ्न पाइने समता स्कुलमा भावना भर्ना भइन् । तर त्यहाँ उनलाई दुई कक्षा तल झारेर भर्ना लिईयो ।
समता स्कुलबाट २०६५ सालमा ८८.५७ प्रतिशत ल्याएर उत्तीर्ण भएकी भावनाले त्यो खुशी साट्न उनीहरुसंग मिठाइ किन्ने पैसा समेत थिएन । आमाले रिजल्ट आएपछिको खुशीमा भनेको कुरा सम्झिन्छिं न् उनी, “ला ! पाँच रुपैयाँ मिठाइ किनेर मुख गुलियो पार् ।” एस.एल.सी उत्तीर्ण भएपछी ट्रिनिटी कलेजले ११-१२ पूर्ण छात्रवृत्तिमा पढाइदिने भयो । त्यसैबेला एक स्पेनिस महिला ‘सिस्टर निर्मला फाउन्डेसनमार्फत’ उनको घरमा आएर उनीहरुको दु:ख र मेहनत देखेपछि पढाइ खर्चमा सहयोग गर्ने इच्छा देखाइन् । तर पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाएकोले भावनाले पछि सहयोग आवश्यक परेमा बताउने कुरा राखेपछि ती महिलाले ल्यापटप सहित आफ्नो सम्पर्क ठेगाना दिएर गईन् ।
११ / १२ पढ्दा समेत उनीसंग कुनै सपना थिएन किनकी उनको आँखा वरिपरि घरको गरिबी र आमाको दु:ख थियो जसले उनको सपनालाई खडा गरिदिने आर्थिक टेवा दिन सक्दैनथ्यो । १२ मा साथीहरुका सपना सुन्दा सुन्दै उनमा पनि डाक्टर बन्ने सपना जाग्यो र छात्रवृत्तिको लागि परिक्षा दिईन् । त्यहाँ नाम ननिस्केपछि उनले आफ्नो सम्पर्कमा रहिरहेकी ती स्पेनिस महिलासंग कुरा गरिन् । ती स्पेनिस महिलाले सम्पूर्ण आर्थिक पक्षमा सहयोग गरेपछि भावनाले अहिले काठमाडौँ विश्वविद्यालयअन्तर्गत जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजबाट बीडीएस उत्तीर्ण गरे दाँतको डाक्टर बनेकी छिन् ।
डा.भावना तामाङ्गको अबको सपना भनेको विदेशमा पढेर अर्को डिग्री लिएर नेपाल नै फर्की समाजलाई आफ्नोतर्फबाट सक्दो योगदान दिने रहेको छ ।