सुख के हो समिताले केवल कल्पना मात्र गर्न सक्छिन् । “बिपन्न परिवारमा जेठो सन्तान भएर जन्मिदा निभाउनु पर्ने भूमिका बिषयमा वक्तित्वकला प्रतियोगिता भयो भने कतै, त्यो प्रतियोगितामा सधैं प्रथम म नै हुनेथिए” अचेल यस्तै सोच्न थालेकी छ्न समिताले। आकर्षक रुप र कुशल चरीत्र भएकी समिताले गोर्खाको एक गाउँबाट एस एल सी पास गरेर सदरमुकामबाट १२ पास गरेकी थिइन् ।

उच्च- शिक्षा हासिल गरेर परिवार, समाज र राष्ट्रका लागि केही गर्ने प्रण गरेकी समिताको यो प्रणले पुर्णत: पाउनु पहिले नै एकाएक ढले योजनाका भित्ताहरु र ढल्यो सपनाको घर । २०७२ बैशाख १२ गतेको बिनाशकारी भुकम्पको कारण ढलेको उनको घर संगै एकाएक पुरिएर गए रहरहरु आफ्नै घरले पुरिएर ज्यान गुमाएका समिताका बुवा संगै। “आज बुवा हुनुहुन्थ्यो त यस्तो दिन आउने थिएन होला”, कुनै दिन छैन अचेल समिताले बुवालाइ नसम्झिएको। वास्तवमै एक सामन्य आयस्रोत भएको मान्छे र परिवरलाई गास र कपास संगै बासको पनि उति नै आवश्यक पर्दछ। भुकम्पको कारण घर र बुवा गुमाएकी समिताका दुई बहिनीहरु छन् । आमा सधैंको बिरामी, त्यसैले पनि बुवा पछिको जिम्मेवारी सबै समिताको काधमा आएको छ ।

घर र बुवा गुमाएपछी केही दिन त्रिपाल मुनी रात कटाए, समिताका परिवारले, गाउँका अरु परिवार संगै, केवल एक आशमा कि सरकारले केही व्यवस्था गरिदिन्छ । थुप्रै संघ सस्था र सरकारी प्रतिनिधिहरु आए भुकम्प पीडितलाई राहत भन्दै चाउचाउ र बिस्कुट बोकेर । तर, दीर्घकालीन राहतका साथमा खासै कोहि नआएपछि काठमाडौमा जागिर गर्ने गाउँकै एक जना दाइको सहयोगमा दुई बहिनी र आमालाई लिएर काठमाडौ पुग्छिन् समिता । सहर पसेपछि सबै स्वार्थी बन्छन् भन्ने धेरै कुरा सुनेकी थिइन् समिताले तर उनले त्यस्तो महसुस गर्न परेन किनकी गाउँले दाई जिवनले ठूलो सहयोग गरे । बसपार्क उत्रिने बित्तिकै जाने ठाउँ थलो नभएको समिताको परिवारलाई जीवनले काठमाडौमा कोठा खोजिदिने देखि लिएर आवश्यक सर-समान किन्न र केही समय गुजारा टार्न समेत सहयोग गरे । तर, अरुकै भरोसामा जिन्दगी काट्न सकिदैन ,आफूले सोचे अनुसार पढ्न नपाएपनी बहिनीहरुलाई पढाउने र बुवा भएर साहरा दिने अर्को प्रण गर्दै जिवनकै सहयोगमा समिताले एउटा् प्राइभेट कम्पनिमा जागिर गर्न थाल्छिन् ।

डकुमेन्ट कन्ट्रोलरको जागिर गर्दै गरेकी समिताको कार्यलय समय बिहान ९ बजेदेखी साझ ६ बजेसम्मको छ तर कोठामा आइपुग्दा छिटोमा ७:३० र कहिले काहीँ त ८:३० देखि ९ नै बज्छ । गाडीबाट ओर्लिएर पनि १५ मिनेट जति हिड्नुपर्छ। सांझा परेपछी काठमाडौका गल्लि गल्लिका पसलहरु बन्द हुँदै जान्छन् र सडक सुनसान हुँदैजान्छ। सुनसान सडकमा १५ मिनेट एक्लै हिडर एक जवान छोरी एक्लै आउनु असुरक्षित नै हो भन्ने कुराको महसुस काठमाडौको बसाइँ, दैनिकी पत्रपत्रिका, टि.भि र रेडियोमा आउने बलात्कारका र अपहरणका खवरले भैसकेको छ समिताको आमालाई । त्यसैले उनी ६ बजे नै समिता गाडिबाट ओर्लिने ठाउमा पुगिसकेकी हुन्छिन् । समिताले ” यसरी मलाई लिन आउन पर्दैन आमा ! म आइहाल्छु नि, किन चिन्ता लिनुहुन्छ मेरो ? म बच्चा त होइन नि कतै हराउने” भन्दै आमालाई सम्झाउँदा आमाले भन्ने गर्नुहुन्थ्यो ” नानी तिमी बच्चा होइनौ । एक जवान छोरी हौ र त मलाई चिन्ता लाग्छ नि ” ।

सधैं समितालाई लिन जाने आमा एक दिन जानु भएन। गाडीबाट ओर्लिने बित्तिकै आमाले परबाट मुस्कानले स्वागत गर्ने गर्नुहुन्थ्यो समितालाइ तर एक दिन त्यहाँ समिताको पर्खाइमा आमा हुनुहुन्नथ्यो। उनलाई भित्र भित्रै चिन्ता लाग्यो, “कतै आमा अचानक बिरामी भएर आज आउन सक्नु भएन कि”। आमासँग हिड्दै जादा लगभग १५ मिनेटमा कोठामा पुग्ने गर्थिन् समिता तर त्यसदिन आमा नआउनुको कारणले बढेको चिन्ताले १० मिनेटमै कोठामा पुगिन् । घडिमा ७:२५ बजेको थियो। दुई बहिनिहरु भूईमा गुन्द्री बिच्छाएर स्कुलको गृहकार्य गर्दै थिए । अनि आमा खाटमा बसिरहनु भएको थियो। कोठामा पुग्न साथ कान्छी बहिनीलाई ” कान्छु” भन्दै बहिनीको गाला सुम्सुमाउने समिताले सिधै आमा बसेको खाट्मा थुचुक्क बासिन् र सोधिन् ” आमा सञ्चो भएन हजुरलाई ? आज किन आउनु भएन मलाई लिन ? तपाईं ठिक त हुनुहुन्छ नि? ” समिताले आमा ठिक हुनुहुन्छ कि नाइ भनेर जान्न खोजेको एक उत्तरका लागि गरेका अनेकौं प्रश्नहरु सुनेर आमाले हाँस्दै भन्नुभयो, ” नानी म सन्चै छु, केही भएको छैन। सधैं म तिमीलाई सुरक्षीत घरसम्म ल्याइपुर्याउनलाई लिन आउने गर्थे । तर,आज आइन किनकी मलाई विश्वास थियो आज रक्षाबन्धन ” राखी” को दिन आफ्नो दिदिबहिनीको हातबाट राखी बाँधेर अरुको दिदीबहिनीलाई हातपात पक्कै पनि कसैले गर्दैन भन्ने कुरामा “। आमाको जवाफ सुनेर समिताले पनि मुस्कुराउँदै भनिन्,” आमा ! उसो भए प्रत्येक दिन राखीको दिन हुने भए त तपाईंले खुट्टा खोच्चाउदै मलाई लिन आउनै पर्ने थिएन है !” ।

स्तम्भकार: Swotantra Nepal
Devdaha, Rupandehi
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text