तिमीले गर्न सक्ने जतिसुकै सानो काम होस्, तिमीले जे सक्छौ, जति सक्छौ गर ।

परिचय

पद्मा लक्ष्मी एक अमेरिकी मोडल , कलाकार , टेलिभिजन कार्यक्रम उद्घोषक , खाना विशेषज्ञका साथै एक अवार्ड विजेता लेखक पनि हुन् । उनको जन्म सन् १९७० सेप्टेम्बर १ भएको हो ।

प्रारम्भिक यात्रा

पद्मा लक्ष्मीको पूरा नाम पदमा पार्वती लक्ष्मी विद्यानाथान हो । पद्मा लक्ष्मीको जन्म भारतको चेन्नईमा भएको थियो । उनका पिता विद्यानाथान एउटा फार्मेसीमा कार्यकारी अधिकारी थिए भने आमा विजय लक्ष्मी रिटायर्ड नर्स थिइन् । पद्मा दुई वर्षकी हुँदा उनका आमा बुवाको सम्बन्धविछेद भएको थियो । सम्बन्धविछेदपछि पद्माकी आमा उनलाई हजुरबुवा र हजुरआमाको रेखदेखमा चेन्नई छोडेर आफू अमेरिका गइन् । पछि पद्मा पच्चीस वर्षकी हुँदा उनको बुवासङ्ग भेट भएको थियो । आफूलाई बुवाले सानै उमेरमा छोडेको कुराले पद्मालाई निराश बनाइरहन्थ्यो ।

सन् १९८४ मा चौध वर्षको उमेरमा पद्मालाई स्टेभन जनसन सिन्ड्रोम भन्ने छालाको रोग लागेको थियो । त्यसै वर्ष आमासँग घुम्ने क्रममा क्यालिफोर्नियामा उनी कार दुर्घटनामा परिन् । जसले गर्दा उनको दाहिने नितम्बको हड्डी भाँचियो र दाहिने पाखुरामा ठूलो चोट लाग्यो । अहिले पनि पद्माको दाहिने पाखुरामा सात इन्च लामो चोट देख्न सकिन्छ । चोटका कारण पद्मालाई स्कूलमा साथीहरुले गिज्याउदा उनलाई नराम्रो लाग्थ्यो र आफैसंग घृणा गर्थिन् । उनले विलियम वर्कम्यान हाई स्कूल ,भालिन्डा ,क्यालिफोर्नियाबाट आफ्नो शिक्षा प्राप्त गरिन् भने सन् १९९२ मा वोर्सेसटर को क्लार्क युनिभर्सिटीबाट थिएटर आर्ट्स विषयमा स्नातक गरिन् ।

कलायात्रा

पद्मा स्पेनमा पढ्दै थिइन् । त्यसै समयमा एक्काइस वर्षको उमेरमा पहिलो चोटि मोडलिङ्ग गर्ने अवसर पाएकी थिइन् । क्याफेमा बसिरहेको बेलामा एउटा मोडलिंग सम्बन्धि एजेन्टले उनलाई देखेर मोडलिङ्गको प्रस्ताव राखेको थियो । पद्माले जर्जियो अर्मानी,जिआनि भर्सासी ,राल्फ लरेन जस्ता उच्च कोटिका ब्रान्डको मोडलिंग गरेकी छन् । उनी रोबर्टो कभाली र भर्ससका विज्ञापन संबन्धि अभियानमा समेत लागेकी थिइन् ।

केहि डिजाइनरहरु पद्माको पाखुरामा भएको चोटको निशानका कारण उनलाई जाडोको लुगाहरुको विज्ञापनका लागि मात्र मोडलिंग गराउँदथे । तर प्रसिद्ध फोटोग्राफर हेल्मुट न्युटनले पद्माको पाखुराको चोटलाई नलुकाई उनको सुन्दरता र प्रतिभालाई प्रस्तुत गरे । जसले गर्दा बाहिरी सुन्दरतालाई प्राथमिकता दिने समाजका मान्छेहरुको सोंचमा “शरीरमा दाग या चोट हुनु कुरुपता हैन,सुन्दरता जुनसुकै रंग र आकारमा हुनसक्छ ” भन्ने संदेश दियो । हेल्मुट न्युटनको सन्देशलाई समर्थन गर्दै अरु फोटोग्राफरहरुले पनि पद्मालाई आफ्ना तस्विरहरुमा उतारे ।

सन् १९९९ मा पद्मालाई मोडलिंगका साथै कलाकारितामा लाग्ने चाहना भयो । इटालियन चलचित्र “फिग्लियो दी संदोकन” मा पद्माले पहिलोपटक अभिनय गरेकी थिइन् । त्यसपछि उनले सत्रौं शताब्दीका बारेमा बनाइएको नाटक “कराइबि”मा एक पात्रको भूमिका निभाएकी थिइन् । पद्माले बहुचर्चित इटालियन टेलिभिजन शो “डोमीनेका”मा उद्घोषकको काम समेत गरिन् । सन् २००१ को अमेरिकन चलचित्र “ग्लिटर” मा उनी एक डिस्को गायिकाको पात्रमा देखिएकी थिइन् । त्यसपछि उनले सन् २००२ मा विज्ञान सम्बन्धि टेलिभिजन सिरिज “प्रिसियस कार्गो” मा अभिनय गरिन् ।

पद्माले सन् २००४ देखि सन् २००५ सम्म टेलिभिजन शो “शार्प्स च्यालेन्ज” मा मधुबन्ति नामक पात्रको भूमिका निभाएकी छन् । उनले सन् २००३ को बलिवुड चलचित्र “बुम” मा पनि अभिनय गरेकी छन् । सन् २००५ मा “द मिस्ट्रेस अफ स्पाइसेस” मा गीताको पात्र निभाएकी छन् । सन् २००६ मा टेलिभिजन सिरिज “द टेन कमाण्डमेंट्स” मा अभिनय गरिन्। सन् २००९ मा एन बि सी सिरिज “थर्टी रक” मा एउटा स्पेसल पात्रमा देखिएकी पद्माले म्युजिक भिडियो “द्याट लुक यु गिभ द्याट गाइ” मा पनि अभिनय गरिन् । पद्माले सन् २०१४ मा टेलिभिजन शो “हुज लाइन इज इट एनिवे” मा आफ्नो कला प्रस्तुत गरेकी छन् । सन् २०१८ मा टेलिभिजन शो “रुपल्स ड्राग रेस “मा पद्माले अतिथी निर्णायकको भूमिका निभाएकी थिइन् ।

मोडलिंग र अभिनय बाहेक पद्मा पाक कलामा पनि निपुर्ण छिन्। उनले खानाका विभिन्न रेसिपिहरुको किताब पनि लेखेकी छन् । उनको पहिलो किताब “इजी एक्सोटिक” मा संसारका विभिन्न खानाका परिकारहरुको रेसिपी प्रस्तुत गरिएको छ । उक्त किताब प्रसिद्ध भएपछि फुड नेटवर्क सिरिज “पद्माज पासपोर्ट” मा उनलाई उद्घोषणका लागि बोलाइएको थियो । सन् २००६ देखि प्रसिद्ध टेलिभिजन शो “टप शेफ” मा पनि उद्घोषक बनेकी पदमा त्यस शो की कार्यकारी निर्माता पनि हुन् । उनले डिस्कभरी च्यानल र फुड नेटवर्क बाट प्रसारण हुने शो “प्लानेट फुड ” मा उद्घोषण गरेकी छन् ।

सन् २००७ मा पद्माले आफ्नो दोस्रो पाककला सम्बन्धि किताब ” ट्यांगी ,टार्ट,हट एण्ड स्वीट” को प्रकाशन गरिन् । सन् २०१६ मार्च ८ अन्तराष्ट्रिय नारी दिवसका दिनमा उनको पहिलो संस्मरण “लभ,लस एण्ड व्हाट वि एट” प्रकाशित भएको थियो । त्यसै वर्ष उनले “इन्साइक्लोपिडिया अफ स्पाइसेस एण्ड हर्ब्स ” पनि रिलिज गरिन् । पद्माले द न्यु वोर्क टाइम्स ,भोग म्यागजिन र हार्पर्स बजारमा विभिन्न स्तम्भ र लेख समेत लेखेकी छिन् ।

सन् २००९ मा पद्माले गरगहनाको डिजाइन पनि गरिन् । शुरुमा जम्मा चालिस प्रकारका गहना डिजाइन गरेकी उनले आफ्नो डिजाइनको नाम “पद्मा” राखेकी छन् । मोरक्कन सेरामिक र टर्कीश ग्लास प्रयोग गरेर पद्माले खाना खानका लागि प्रयोग हुने विभिन्न कप,कचौरा र थालहरुको डिजाइन गरिन् जसलाई “द पद्मा कलेक्सन नाम दिइन् ” । त्यसपछि “इजी एक्सोटिक” नाम दिएर भान्छामा प्रयोग हुने विभिन्न भाँडाहरुको पनि डिजाइन गरिन् । पद्माले अर्गानिक फ्रोजन खानाका विभिन्न परिकार “पद्माज इजी एक्सोटिक” पनि बजारमा ल्याएकी छन् ।

पद्मा कला र व्यवसायका साथै समाज सेवामा पनि सक्रिय छन् । उनी “द इन्डोमिट्रियोसीस फाउन्डेसन अफ अमेरिका” की सह संस्थापक हुन् । पद्मा “किप अ चाइल्ड अलाइभ ” अभियानकी विश्वव्यापी दूत हुन् भने महिला अधिकारवादी पनि हुन् ।

सफलता

सन् १९९९ मा गोरमंड वोर्ल्ड कुकबुक अवार्ड्स द्वारा पद्माको पाककला सम्बन्धि किताब “इजी एक्सोटिक” लाई बेस्ट फर्स्ट बुक अवार्ड दिइएको थियो । सन् २००७ मा पद्माले उद्घोषण गरेको र कार्यकारी निर्माता रहेको टेलिभिजन शो “टप शेफ ” प्राइम टाइम एम्मी अवार्डमा नोमिनेसनमा परेको थियो भने सन् २००९ मा सोहि शोका लागि पद्मा आफै उत्कृष्ट उद्घोषकको नोमिनेसनमा परेकी थिइन् । सन् २०१० मा “टप शेफ” शो उत्कृष्ट रियालिटी कम्पिटिसन प्रोग्राम बन्दै एम्मी अवार्ड जित्न सफल भएको थियो ।

Photo source : hollywoodlife.com

हामी भनिरहेका हुन्छौं कि, ” म केही गर्न चाहन्छु ” । र, त्यही केही गर्ने चाहनामा , त्यो केहीको खोजीमा दिन बिताइरहेका हुन्छौं । र, त्यो केही कहिल्यै भेटिदैन । आफूले अहिले जे गर्न सक्छौं, त्यो गरौँ । जब हामीले अहिले आफूले गर्न सक्ने काम गर्छौं, त्यो यात्राले हामीलाई आफूले खोजेको त्यो ‘ केही’ सम्म पुर्याउन सक्छ । सपना देख्नु छ भने निदाएर नदेख्नुहोस् , उठेर सक्रिय भएर देख्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text