म उनीहरुभन्दा फरक छु, त्यसकारण उनीहरु मलाई हेरेर हाँसे । उनीहरु म भन्दा फरक छन्, त्यसकारण उनीहरुलाई देखेर म हाँसें ।

परिचय

हिथ लेजर प्रसिद्ध कलाकारका साथै म्युजिक भिडियो निर्देशक पनि थिए । उनको जन्म सन् १९७९ अप्रिल ४ मा भएको थियो । हिथ लेजर विशेषगरि चलचित्र “द डार्क नाइट” मा उनले गरेको जोकरको पात्रको लागि चिनिन्छन् ।

प्रारम्भिक जीवन

हिथ लिजरको जन्म अस्ट्रेलियाको पर्थमा भएको थियो । उनकी आमा स्याली लेजर फ्रेन्च भाषा सिकाउने शिक्षिका थिइन् भने बुवा किम कार रेसमा भाग लिने एक ड्राइभर थिए । हिथ एघार वर्षको हुँदा उनका आमा बुवाले सम्बन्धविछेद गरेका थिए । प्रारम्भिक शिक्षा मेरिज माउन्ट प्राइमरी स्कूलबाट लिएपछि हिथ अगाडिको पढाईको लागि गिल्डफोर्ड ग्रामर स्कूलमा भर्ना भएका थिए ।

Photo Source : IMDb

कलाकारिता यात्रा

दश वर्षको हुँदा स्कूलमा देखाइएको नाटकमा पिटर प्यानको भूमिका निभाएर हिथ लेजरले आफ्नो कला यात्राको प्रारम्भ गरेका थिए । अभिनयका साथै हिथलाई चेस खेलमा रुचि थियो र दश वर्षको उमेरमै उनले चेस खेलको एउटा प्रतियोगिता पनि जितेका थिए । तर उनले कलाकारितालाई नै प्राथमिकता दिने निधो गरे, जसअनुरुप सत्र वर्षको उमेरमा हिथ स्कूलको पढाई छोडेर पूर्ण रुपमा कलाकारितामा लाग्ने अठोट लिए । उनले सोचेअनुरुप लगतै काम पनि पाउन थाले ।

हिथले ले सन् १९९६ मा एउटा टेलिभिजन सिरिज “स्वेट” मा एउटा समलिङ्गीको भूमिका निभाएका थिए । सन् १९९७ मा उनले दुईवटा टेलिभिजन सिरिज “रोर” र “होम एण्ड अवे” मा आफ्नो कला प्रदर्शन गर्ने मौका पाए । सन् १९९७ मै हिथले अभिनय गरेको पहिलो चलचित्र “ब्ल्याकरक ” पनि रिलिज भयो जसमा उनले टबि अक्ल्यांड भन्ने पात्रको भूमिका निर्वाह गरेका थिए ।

हिथ आफ्नो करियरको लागि अवसरहरु खोजेर हलिवुडको कलाकारको रुपमा आफूलाई स्थापित गराउन चाहन्थे । त्यसैले सन् १९९८ मा उनी अस्ट्रेलियाबाट अमेरिका बसाईसराई गरे । त्यसपछि सन् १९९९ को अमेरिकी हाँस्यव्यंग्य चलचित्र “टेन थिङ्ग्स आइ हेट अबाउट यु ” मा हिथले प्याट्रिक भेरोनाको भूमिका निर्वाह गरेका थिए । सन् १९९९ मा नै उनले एउटा अस्ट्रेलियन थ्रिलर चलचित्र “टू ह्यान्ड्स” मा अभिनय गरे जसका लागि उनी “बेस्ट एक्टर अवार्ड” को नोमिनेसनमा पनि परेका थिए ।

चलचित्र जगतमा साना ठूला पात्रहरुको अभिनय गर्ने क्रममा सन् २००० मा हिथले हलिवुडका प्रसिद्ध नायक मेल जिब्सन संग चलचित्र “द प्याट्रीओइट”मा काम गर्ने मौका पाए । सोहि वर्ष उनले अर्को चलचित्र “मोंसटर्स बल ” मा हलिवुडकी प्रसिद्ध नायिका हाले बेरी संग अभिनय गरे । सन् २००१ देखि सन् २००३ सम्म हिथले चारवटा चलचित्र “अ नाइट्स टेल” ,”द अडर” ,”द फोर फेदर्स” र “नेड केली” मा आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए । सन् २००५ मा रिलिज भएका तीनवटा चलचित्रहरु “द ब्रदर्स ग्रिम” , “कासानोभा” र “लर्ड्स अफ डगटाउन” ले हिथलाई चलचित्र जगत र दर्शकहरुबाट अपार माया र सम्मान दिलाएका थिए ।

सन् २००५ मा नै हिथ द्वारा अभिनित अर्को चलचित्र “ब्रोकब्याक माउन्टेन” रिलिज भयो जसले उनलाई फिल्मी जगतको एउटा उत्कृष्ट कलाकारका रुपमा स्थापित गरायो । सन् २००६ मा क्यान्डी नामक उपन्यासमा आधारित चलचित्र “क्यान्डी “मा गरेको अभिनयका लागि हिथलाई विभिन्न अवार्ड बाट सम्मानित गरिएको थियो । सन् २००७ मा उनले अभिनय गरेको चलचित्र “आइ एम नट देयर “रिलिज भएको थियो ।

औषधिको ओभरडोजका कारण सन् २००८ जनवरी २२ मा २८ वर्षको उमेरमा हिथको मृत्यु भएको थियो । सोहि वर्ष उनको मृत्युको केहि महिना पछि उनी द्वारा अभिनित चलचित्र “द डार्क नाइट” रिलिज भयो । जसमा उनले गरेको जोकरको पात्रले धेरै प्रशंसा पायो । हिथले अभिनय गरेको अन्तिम चलचित्र ” द इमेजिनेरियम अफ डाक्टर पर्नासस” सन् २००९ मा रिलिज भएको थियो ।

हिथले टेलिभिजन सिरिज तथा चलचित्रमा अभिनय गर्नुको साथै म्युजिक भिडियोहरुमा पनि अभिनय र निर्देशन गरेका थिए । उनले अभिनय तथा निर्देशन गरेका म्युजिक भिडियोहरु “कज एण्ड इफेक्ट “,”सेड़कसन् इज एभिल” ,”मर्निङ्ग यर्निङ्ग”,”ब्ल्याक आइड डग “,”कुइकस्याण्ड” र
“किङ्ग रयाट ” हुन् ।

हिथ लेजर अभिनेत्री मिसेल विलियम्ससंग लामो प्रेमसम्बन्धमा रहे । सन् २००५ अक्टोबरमा उनीहरुको एक छोरी जन्मीइन् । तर उनीहरुको सम्बन्ध भने सन् २००७ को अन्त्यतिर टुंगिएको थियो । मिसेल विलियम्सले लेजरको निधन पछि छोरीमा लेजरको आत्मा रहेको भन्दै उनको सम्झना सधै आफूसंग रहने बताएकी थिइन् ।

सफलता

चलचित्र “क्यान्डी” का लागि हिथ लेजरलाई “फिल्म क्रिटिक्स सर्कल अफ अस्ट्रेलिया अवार्ड” ले बेस्ट एक्टर अवार्ड दिएको थियो । त्यसैगरि चलचित्र “ब्रोक्ब्याक माउन्टेन” का लागि “न्युयोर्क फिल्म सर्कल अवार्ड” ले पनि हिथलाई बेस्ट एक्टर अवार्ड द्वारा सम्मान गर्यो । उनको नाम “एकेडमी अवार्ड फर द बेस्ट एक्टर” र “बेस्ट एक्टर इन अ लिडिंग रोल” का लागि नोमिनेसन मा परेको थियो । सन् २००८ मा रिलिज भएको चलचित्र ” द डार्क नाइट” निकै सफल भएको थियो र उक्त चलचित्रमा हिथले गरेको अभिनयलाई सम्मान स्वरुप “एकेडमी अवार्ड फर बेस्ट सपोर्टिंग एक्टर ” र “गोल्डेन ग्लोब अवार्ड फर बेस्ट सपोर्टिंग एक्टर” प्रदान गरिएको थियो ।

हिथ लेजरको निधन पछि संसारभरका उनका प्रशंसकले उनको सम्झनामा शोक सभा, लगायतका विभिन्न कार्यक्रम गरेका थिए । उनको निधनको खबर आएपछि अमेरिकाको उनको अपार्टमेन्ट अगाडी र अष्ट्रेलियाको उनका आमा बुवाको घरको अगाडी हजारौं मानिसहरु भेला भएका थिए । मिडिया र चलचित्र क्षेत्र लगायत राजनीतिज्ञहरुले उनको निधन प्रति दु:ख व्यक्त गरेका थिए । केही कलाकारले उनको निधन पछि पाएको अवार्डलाई उनीप्रति समर्पित गर्दै श्रद्धान्जली व्यक्त गरेका थिए ।

हामी अरु व्यक्तिले हामी स्वीकार गरोस् , अरु व्यक्तिले हामीलाई माया गरोस्, अरु व्यक्तिले हामीलाई स्याबास् भनोस् भन्ने चाहनाले दौडधुप गरिरहेका हुन्छौं । त्यो दौडधुपमा हामीले ‘आफू को हूँ’ भन्ने समेत बिर्सिसकेका हुन्छौं । तपाईं मभन्दा फरक हुनुहुन्छ र म तपाईंभन्दा फरक छु । यो वास्तविकतालाई बुझौँ । सबैभन्दा पहिले आफूलाई स्विकारौं, आफूलाई माया गरौँ । आफूलाई चिनेर आफ्नो संसार आफै बनाउँ । त्यसपछि एक-अर्काको फरकपनलाई स्वीकार गरौँ, एक अर्काको संसारमा खुशी थपौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text