साँचो पूजी भनेको पैसा होइन बुद्धि, मेहनत र लगनशीलता हो ।

परिचय

रे क्रक प्रसिद्धि अमेरिकी व्यवसायी हुन् । सानो रेस्टुरेन्ट ” मेकडनल्स ” लाई उनले संसारकै ठूलो फास्ट फुड चेन कम्पनीको रुपमा स्थापित गरेका थिए । उनको जन्म सन् १९०२ अक्टोबर ५ मा भएको थियो ।

प्रारम्भिक यात्रा

रे क्रकको जन्म अमेरिकाको,सिकागो शहर नजिकमा रहेको ओक पार्क भन्ने गाउँमा भएको थियो ।आमा बुवाका तीन सन्तानहरु मध्येका जेठा छोरा रेको पूरा नाम रेमन्ड अल्बर्ट क्रक हो । रे क्रकका बुवा लुइस क्रक एउटा टेलिग्राफ कम्पनीमा जागिरे थिए साथै बेसबल खेलका पारखी पनि थिए । क्रककी आमा रोज मेरी गृहिणीका साथै पियानो बादक पनि थिइन् ।उनले खाली समयमा अरुलाई पियानो बजाउन सिकाएर घर खर्चका लागि पैसा कमाउने गर्दथिन् । रे क्रकले पनि आफ्नी आमासंग पियानो बजाउन सिकेका थिए ।

रे क्रक सानैदेखि बुद्धिमानी ,मिहिनेती ,लगनशील रआत्मविश्वासी थिए । उनले ओक पार्कको लिंकन स्कूलबाट प्रारम्भिक शिक्षा लिएका थिए । क्रकले स्कूलमा हुने वादविवाद प्रतियोगितामा आफ्ना तर्कहरुबाट श्रोताहरुलाई निकै प्रभाव पार्दथे । लिंकन स्कूल पछि उनी ग्रामर स्कूलमा भर्ना भए । त्यहाँ उनले स्कूल बाहेकको समयमा विभिन्न पसलहरुमा काम गरेर पैसा कमाउँदथे । पछि क्रकले आफ्नै घर नजिकै कागतीको
शरवत बनाएर बेच्न थाले ।

व्यवसायिक यात्रा

सन् १९१६ मा चौध वर्षका क्रकले दुईजना साथीहरुसंग मिलेर एउटा म्युजिक स्टोर “रे क्रक म्युजिक इम्पोरियम” को स्थापना गरे । तर उक्त स्टोर केहि समयपछि बन्द भएका कारण क्रक आफ्नो काकाको सोडा बेच्ने ठाउँमा कम गर्न थाले । त्यहाँ रहँदा उनले व्यवसायमा उन्नति गर्नका लागि ग्राहकसंग गरिने व्यवहारमा मुस्कान ,मिठो बोली र उत्साह हुनुपर्छ भन्ने कुराको ज्ञान पाए ।

सन् १९१७ मा दोस्रो विश्व युद्ध हुँदा क्रकलाई एम्बुलेन्स ड्राइभर बनेर सहयोग गर्ने इच्छा थियो तर उनको उमेर जम्मा पन्ध्र वर्षको हुनाले उनी त्यो कामको लागि अयोग्य ठहरिए । आफूमा भएको सहयोगी भावनाको उजागर गर्न उनी उमेर ढाँटेरै भएपनि अमेरिकन रेडक्रस सोसाइटीमा आबद्ध भए । रेडक्रस सोसाइटीको तालिमपछि सेवाका लागि उनलाई फ्रान्स पठाइदै थियो तर युद्ध विरामका कारण उनको समाजसेवा गर्ने चाहना फेरी पनि अधुरै रह्यो ।

त्यसपछि क्रक सिकागो फर्किए र बुवाको चाहना अनुरुप पढाई पूरा गर्नका लागि लिंकन स्कूलमा भर्ना भए । तर उनले फेरी पनि स्कूलको पढाई बिचमै छोडेर आफ्नो चाहना अनुरुपको जिन्दगी जिउन निस्किए । सन् १९१९ मा सत्र वर्षको उमेरमा पैसा कमाउनको लागि क्रक सेल्सम्यान र पियानो बादकका साथै रेडियो स्टेसनमा डिजे पनि बने । उनले केही समय अमेरिकन स्टक एक्सचेन्ज,न्युयोर्कमा पनि काम गरे । एक्काईस वर्षको उमेरसम्म आइपुग्दा क्रकले लिली टुलिप पेपर कप कम्पनीमा सेल्सम्यान पदमा पहिलो स्थिर जागिर पाए । कप बेच्ने क्रममा उनी देशका विभिन्न ठाउँमा घुम्थे र आफ्ना ग्राहकहरुसंग उनीहरुको धारणा र चाहना पनि बुझ्दथे । महत्वाकांक्षी र मिहिनेती क्रक जागिर शुरु गरेको केहि समयमै कम्पनीको उत्कृष्ट सेल्सम्यान बने ।

सन् १९३८ मा क्रकको भेट एर्ल प्रिन्स नाम भएका एक व्यक्तिसंग भयो जसले पाँचवटा स्पिन्डलहरू भएको मल्टिमिक्सरको आविष्कार गरेका थिए । उनलाई मल्टिमिक्सरको उपयोग राम्रो लाग्यो । पेपर कम्पनीमा १६ वर्ष काम गरिसकेका क्रकलाई मल्टिमिक्सरको सेल्सम्यान बन्ने इच्छा जाग्यो । सैंतिस वर्षका रे क्रक पेपर कम्पनीको जागिर छोडेर “प्रिन्स क्यासल सेल्स ” संग आबद्ध भए । मल्टिमिक्सरको व्यापार शुरुका वर्षमा राम्रो भयो । तर केहि समयपछि मानिसहरुको सोंचमा आउने परिवर्तन र प्रतिस्पर्धी कम्पनि ” द हेमिल्टन बिच ड्रिंक मिक्सर्स ” ले गर्दा मल्टिमिक्सर्सको माग बजारमा केहि कम भएको थियो ।

सन् १९५४ मा मल्टिमिक्सर्सको बिक्रिमा कमी आएता पनि सन् बर्नारडिनोमा रहेको एउटा रेस्टुरेन्टले भने मल्टिमिक्सर्सको माग गरिरहेको थियो । रेलाई त्यो रेस्टुरेन्ट बारे बुझ्ने इच्छा भयो र उनी त्यहाँ पुगे । त्यो रेस्टुरेन्ट रिचार्ड र मारिस मेकडनल नामका दुई दाजुभाइद्वारा संचालित थियो । उनले मेकडनल दाजुभाइको त्यो रेस्टुरेन्ट अरु रेस्टुरेन्ट भन्दा भिन्न पाए । किनकि त्यसमा भित्र बसेर खाने ठाउँ थिएन , लाइनमा बसेर आफूले चाहेको खाना वा पेय पदार्थ लिनुपर्थ्यो तर पनि उनीहरुको रेस्टुरेन्ट ग्राहकले भरिभराउ थियो । खानाको मेनुमा ह्यामबर्गर , चिजबर्गर , फ़्राइज , मिल्कशेक र अरु केहि पेय पदार्थ मात्र थियो । मेकडनल दाजुभाइले आफ्ना ग्राहकको माग पूरा गर्न आठवटा मल्टिमिक्सर्सको प्रयोग गर्दथे । उक्त रेस्टुरेन्ट देखेपछि अचम्भित र ले ग्राहकसंग सो रेस्टुरेन्टमा आउने कारण सोध्दा मेकडनल दाजुभाइको त्यो रेस्टुरेन्टको खाना स्वादिस्ट , सस्तो र सफा भएको थाहा पाए ।

महत्वाकांक्षी क्रकले मनमनै मेकडनल्स रेस्टुरेन्टको चेन खोल्ने विचार गरे जसमा उनका आठ आठ वटा मल्टिमिक्सर्स प्रयोग हुन सक्थे । उनले मेकडनल दाजुभाइसंग आफ्नो प्रस्ताव राखे । शुरुमा उनीहरुले उनको कुरालाई स्वीकार गरेका थिएन् तर क्रकले उनीहरुको व्यवसाय गर्ने तरिकाको कुनै पनि कुरामा फरक नपर्ने गरी चेन रेस्टुरेन्ट खोल्ने कुरामा उनीहरु सहमत भए ।

यसरी मेकडनल्स चेनको सुरुवात गर्दा रे क्रक बाउन्न वर्षका भइसकेका थिए । उनलाई मधुमेह र शरीरका जोर्नीहरू दुख्ने रोग लागेको थियो । तर रे क्रकलाई उनको सपना पूरा गर्न उमेर र रोगले छेकेन । पूर्ण आत्मविश्वासका साथ सन् १९५५ अप्रिल १५ मा डेस प्लेंस,इलिनोयेमा उनले पहिलो रेस्टुरेन्ट खोले । सोहि वर्षको अन्त्यतिर अरु थप दुईवटा रेस्टुरेन्टहरु खोले । पछि उनले ग्रस सेल को १।९ % लिएर फ्रेंचाइज पनि बिक्रि गरे । उनले सबै रेस्टुरेन्टहरुमा मेकडनल्स भाइहरुको मापदण्ड अनुसारको खाना र सफाइमा ध्यान राख्दथे । केहि समयपछि मेकडनलको फ्रेंचाइजमा क्रकले जग्गा भाडामा लिने दिने र बेचबिखन गर्ने कम्पनि पनि खोले । सन् १९५० को दशकतिर मेकडनलस् ले राम्रो व्यवसाय गर्यो तर क्रकले केहि नया कुरा थप्ने विषयलाई लिएर उनको र मेकडनल्स दाजुभाइको बिचमा मनमुटाव हुन थाल्यो । त्यसैले सन् १९६१ मा क्रकले २,७ मिलियन डलर मेकडनल दाजुभाइलाई नगद दिएर मेकडनल्स कम्पनि किने ।

मेकडनल दाजुभाइले अरु सबै रेस्टुरेन्टहरुको सम्झौता गरेपनि सन बर्नारडिनोमा रहेको उनीहरुको पहिलो रेस्टुरेन्ट क्रकलाई सुम्पिन मानेनन् । क्रकले सो रेस्टुरेन्ट भन्दा एक घर पछाडि आफ्नो स्टोर खोले जसको नाम पछि “द बिग एम ” राखिएको थियो । क्रकले सोचेअनुसार उनको व्यवसाय फस्टाउँदै गयो र १९६५ सम्म आइपुग्दा ४४ वटा स्टेटमा ७०० रेस्टुरेन्ट हुन पुगे । उनी कम्पनीको अध्यक्ष पदमा रहेर कम्पनिसंग जोडिएका सबै कर्मचारी तथा फ्रेंचाइजमा रहेका व्यक्तिहरुलाई कम्पनीको मापदण्डका बारेमा तालिम दिन्थे । उनका अनुसार मेकडनल्सका संसार भरका सबै रेस्टुरेन्टहरुमा बन्ने खानाको स्वाद र आकार एकै प्रकारको हुनुपर्थ्यो र सरसफाइमा विशेष ध्यान दिनुपर्थ्यो । सन १९६५ अप्रिलमा क्रकले मेकडनल्स कम्पनीलाई पब्लिक कम्पनि बनाउँदै २२ डलर प्रति शेयर आव्हान गरे । उनले सोचे अनुरुप मेकडनल्सको शेयर ४९ डलर पुग्यो । सन १९६० को दशकको अन्त्यसम्म आइपुग्दा मेकडनल्स कम्पनीका संसारभरमा १५०० वटा शाखा बन्न पुगे । सन् १९६५ देखि सन् १९६८ सम्म क्रक कम्पनीको अध्यक्ष पदमा रहेर काम गरे । सन् १९६९ देखि सन् १९७७ सम्म बोर्डको अध्यक्ष बने । सन १९७८ देखि सन १९८४ सम्म कम्पनीको सिनियर अध्यक्ष पदमा रहे ।

बेसबल खेलमा रुचि राख्ने क्रकले सन् १९७७ मा बेसबल टिम “सन् डिएगो प्याड्रेस” खरिद गरेका थिए । क्रकले ओक ब्रूक , सिकागोमा ह्याम्बर्गर युनिभर्सिटीको स्थापना गरी रेस्टुरेन्टमा काम गर्न आउने कामदारलाई पहिलो महिना ३२ घण्टा तालिम दिन्थे जहाँ अहिले उनको भिडियो टेपको प्रयोग गरिन्छ । समाजबाट व्यवसाय मार्फत फाइदा लिएपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने मान्यता राख्ने उनले सामाजिक काममा समेत सक्रिय रुपमा विभिन्न अभियान चलाउने तथा काम गर्ने गर्थे ।

सन् १९८४ जनवरी १४ मा एकासी वर्षको उमेरमा क्रकको मृत्यु भएको थियो । त्यतिबेला मेकडनल्सका अमेरिकामा ७ हजार ५ सय र देशबाहिर अरु देशमा ३१ वटा शाखाहरु संचालित थिए ।अहिलेको समयमा सय भन्दा बढी देशहरुमा मेकडनल्सका करिब ३८ हजार वटा शाखाहरु रहेका छन् ।

सफलता

सन् १९७२ मा रे क्रकलाई उनको मेहेनत र इमान्दारिताको कदर गर्दै “द होरेसियो एल्गर अवार्ड” दिईएको थियो । ठूलो लगानी बिना आफ्नो दिमाग र लगनशीलताका कारण सन् १९८४ सम्म आइपुग्दा क्रक ५०० मिलियन अमेरिकी डलरका मालिक बनेका थिए ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text