यदि मेरो दिमागमा हिजोअस्तिको कुरा छ भने मैले नयाँ कुरा कसरि सोंच्न सक्छु ? नयाँ कुराको सुरुवात कसरि गर्न सक्छु ?

परिचय

लियोनार्ड कोहेन एक प्रसिद्ध गायक तथा लेखक थिए । उनी गीत ,कविताका साथै उपन्यास पनि लेख्दथे । क्यानेडियन नागरिक लियोनार्ड कोहेनको जन्म सन् १९३४ सेप्टेम्बर ३१ मा भएको थियो ।

प्रारम्भिक जीवन

लियोनार्ड कोहेनको जन्म क्यानडाको क्युबेकमा भएको थियो । उनका बुवाको नाम नेथन कोहेन थियोनाम र आमाको नाम मार्षा थियो । लियोनार्ड नौ वर्षका हुँदा नै उनका बुवाको मृत्यु भएको थियो ।

सन् १९४८ मा रोसलिन एलिमेंट्री स्कूलबाट प्रारम्भिक शिक्षा लिएपछि उनी वेस्टमाउन्ट हाइ स्कूलमा भर्ना भएका थिए । त्यहाँ उनले कविता र संगीत विषयमा अध्ययन गर्ने मौका पाए । लियोनार्ड स्पेनिस कवि फेडेरिको गार्सिया लोह्काद्वारा लिखित रचनाहरु मन पर्दथ्यो ।किशोरअवस्थामा उनले गितार बजाउने तालिम पनि लिएका थिए । सन् १९५१ मा उनी मेकगिल युनिभर्सिटीमा भर्ना भए, जहाँ उनी मेकगिल युनिभर्सिटी युनियनका अध्यक्ष पनि रहे । युनिभर्सिटीको पढाइका समयमा उनले “स्पेरोज” र “थट अफ अ ल्यांड्सम्यान” कविता लेखेर “चेस्टर म्याकनटेन लिट्ररी कम्पिटिसन” को विजयी बनेका थिए ।

साहित्य तथा कला यात्रा

सन् १९५४ मा लियोनार्डले लेखेका कविताहरु “सी आइ भी /एन ” पत्रिकाले प्रकाशन गरेको थियो । उनी वाल्ट व्हाइटम्यान, विलियम बटलर यिट्स ,अर्भिंग लेटन र फेडेरिको गार्सिया लर्का जस्ता साहित्यिक व्यक्तित्त्वहरुबाट प्रभावित थिए । सन् १९५६ मा उनले आफ्ना स्वर्गीय बुवाप्रति समर्पित गर्दै कविता संग्रह “लेट अस कम्पेयर मिथोलोजिस” प्रकाशन गरेका थिए । सन् १९५५ मा कला विधातर्फ स्नातक गरेपछि लियोनार्डले “मेकगिल युनिभर्सिटी अफ ल” मा अध्ययन गरे । पछि उनी न्युयोर्क गए र ” स्कूल अफ जनरल स्टडिज एट कोलम्बिया युनिभर्सिटी” मा भर्ना भएका थिए ।

सन् १९५७ मा लियोनार्ड क्यानाडा, मोंट्रियल फर्केर जागिर शुरु गरे । फुर्सदको समयमा उनले कविता र काल्पनिक कथाहरु लेख्ने गर्दथे । सन् १९६१ मा क्यानडाको एउटा प्रकाशन कम्पनि “मेक्लल्याण्ड एण्ड स्टेवार्ट” ले लियोनार्डद्वारा रचित कविताहरुको संग्रह ” ड स्पाइस बक्स अफ अर्थ ” प्रकाशित गर्यो । जसलाई पाठकहरुले औधि मन पराए र लियोनार्ड कोहेन एक क्यानडियन कविको रुपमा परिचित बने । सन् १९६० को दशकमा उनले थुप्रै कविता,कथा,उपन्यासको रचना गरे ।

लियोनार्ड द्वारा रचित उपन्यासहरु “द फेब्रेट गेम” र “बियुटीफूल लुजर्स” अनि कविता संग्रहहरु “फ्लावर्स फर हिटलर”,”पारासैट्स अफ हेभन ” र “सेलेकटेड पोएम्स १९५६ -१९५८” त्यतिबेला प्रकाशित भएका थिए । सन् १९६० को दशकको अन्त्यतिर लियोनार्डलाई कविता र कथाका साथै गीतहरु पनि लेख्ने र गाउने रुचि जाग्यो जसका लागि उनी अमेरिका गए । अमेरिकन कलाकार जुडी कलिंसले गाएको गीत “सुजेन” लियोनार्डले रचना गरेका थिए, जुन गीत निकै प्रसिद्ध भएको थियो । एक गायककार पनि बन्ने उद्धेश्य लिएका लियोनार्डलाई चाडपर्वहरुमा गीत गाउँदै गर्दा जन एच हयामंडले देखे र कोलम्बिया रेकर्डसमा उनलाई काम दिए । सन् १९६७ मा उनको पहिलो गिती एल्बम “संग्स अफ लियोनार्ड कोहेन” रिलिज भयो जुन एल्बमले निकै प्रशंसा बटुल्यो र रिलिज भएको एक वर्ष सम्म पनि यु के को प्रसिद्ध चार्ट लिस्टमा कायम थियो । त्यसपछि उनका अरु गिती एल्बम “संग्स फ्रम अ रूम” र “संग्स अफ लभ एण्ड हेट” रिलिज भएका थिए ।

सन् १९७० को दशकको शुरुमा लियोनार्ड टुरका लागि निस्किएका थिए । एउटा टुर अमेरिका ,क्यानडा र युरोपको थियो भने दोस्रो टुर युरोप र इजरायलको थियो । त्यसै दौरान उनले एउटा किताब “द इनर्जी अफ स्लेभ्स” पनि प्रकाशन गरे । सन् १९७४ मा अमेरिकन म्युजिक निर्माता जन लिसावरले लियोनार्डको नयाँ गिती एल्बम “न्यु स्किन फर ओल्ड सेरेमोनी ” मा संगै काम गरे र प्रोमोसनका लागि अमेरिका ,क्यानडा र युरोपको टुरमा पनि गए । सन् १९७५ मा लियोनार्ड र लिसावरको जोडीले अर्को गिती एल्बम ” द बेस्ट अफ लियोनार्ड कोहेन ” बजारमा ल्यायो जसको विज्ञापनका लागि उनीहरु विभिन्न टुरमा निस्किएका थिए । सन् १९७७ मा उनको अर्को एल्बम “डेथ अफ अ लेडिज मेन ” रिलिज भएको थियो र एक वर्षपछि सोहि नामको किताब पनि प्रकाशित भएको थियो ।

सन् १९७९ मा लियोनार्डले अर्को गिती एल्बम “रिसेन्ट संग्स” को रिलिज गरे जसका निर्माता उनी आफै थिए । सन् १९८४ मा रिलिज भएको उनको नयाँ कविता संग्रह “बुक अफ मर्सी” ले निकै चर्चा कमायो र लियोनार्डको लेखन कलाको प्रशंसा भएको थियो । त्यसै वर्ष उनले गीति एल्बम “भेरियस पोजिसन्स” र “आइ एम योर म्यान ” पनि रिलिज गरेका थिए । सन् १९९० को दशकमा लियोनार्डका रचना “स्ट्रेन्जर म्युजिक:सेलेक्टेड पोएम्स एण्ड संग्स ” प्रकाशित भएको थियो । त्यसपछिको अर्को दशकमा “बुक अफ लंगिंग” , “द लिरिक्स अफ लियोनार्ड कोहेन” र “पोएम्स एन संग्स” जस्ता कृतिहरु प्रकाशित भए । त्यतिबेला उनले “द फ्युचर” नामको गिती एल्बमको रेकर्ड पनि गरेका थिए ।

सन् २००१ देखि सन् २००४ सम्म लियोनार्डले दुई वटा गिती एल्बम “टेन न्यु संग्स” र “डियर हेदर” को रिलिज गरे । सन् २०१२ मा उनले “फिफटिन पोएम्स ” कविता संग्रहको रचना गर्नुको साथै गिती एल्बम “ओल्ड आइडियाज” को रेकर्ड पनि गरे । सन् २०१४ मा उनको प्रसिद्ध एल्बम “पपुलर प्रब्लम्स” रिलिज भयो जुन एल्बमले जुनो अवार्ड्स अन्तर्गत एल्बम अफ द अवार्ड जितेको थियो । सन् २०१४ मा लियोनार्ड असी वर्षका पुगे पनि उनले आफ्नो कलायात्रालाई निरन्तरता दिइरहे । शरीर बूढो र रोगी भैसकेको भएता पनि सन् २०१५ मा उनले नयाँ एल्बम “यु वान्ट इट डार्कर” मा काम शुरु गरे जसमा मृत्यु,भगवान र हास्य विधा सम्बन्धि शब्दहरु समावेश छन् । सो एल्बम सन् २०१६ अक्टोबर १६ मा रिलिज भएको थियो र एल्बम रिलिज भएको १९ दिन पछि नोभेम्बर ७ मा बयासी वर्षको उमेरमा लियोनार्डको मृत्यु भएको थियो ।

सफलता

सन् १९९१ मा लियोनार्ड कोहेनलाई क्यानाडियन म्युजिक हल अफ फेमले सम्मान गरेको थियो । सन् १९९३ मा जुनो अवार्ड द्वारा “बेस्ट मेल भोकलिस्ट” अवार्डबाट सम्मान्नित भए । सोही वर्ष उनले “गभर्नर जनरल्स पर्फर्मिंग आर्ट्स अवार्ड” पनि पाए । सन् १९९४ मा जुनो अवार्ड्सद्वारा “संग राइटर अफ द इयर “अवार्ड पाउन सफल भए । सन् २००३ मा अर्डर अफ क्यानडाले लियोनार्डलाई बधाई दिएको थियो । सन् २००६ मा उनलाई “क्यानाडियनसंग राइटर्स हल अफ फेम” द्वारा सम्मानित गरिएको थियो । सन् २००८ मा “एल्बम अफ द इयर” का लागि ग्रामी अवार्ड जितेका थिए । सन् २००८ मा उनलाई “रक एण्ड रोल फेम ” द्वारा सम्मान गरिएको थियो भने “नेसनल अर्डर अफ क्युबेक ” को ग्राण्ड अफिसर बनाइएको थियो ।

सन् २०१० मा लियोनार्डलाई “ग्रेमी लाइफटाइम अचिभमेन्ट अवार्ड ” दिईएको थियो र “संग राइटर्स हल अफ फेम ” द्वारा पनि सम्मान गरिएको थियो । सन् २०११ मा उनी “प्रिन्स अफ एस्टूरिअस अवार्ड फर लिटरेचर ” बाट सम्मानित भए । सन् २०१२ मा उनले “पेन अवार्ड अफ संग लिरिक्स फर लिट्ररी एक्सिलेन्स ” पाए । सन् २०१३ मा जुनो अवार्डले उनलाई “आर्टिस्ट अफ द इयर “अवार्ड दिएको थियो । लियोनार्ड कोहेनलाई डल्हाउजि युनिभर्सिटी र मेकगिल युनिभर्सिटीले मानार्थ डिग्रीको उपाधि दिएका थिए । सन् १९७१ मा रिलिज भएको फिल्म मेक्केब एण्ड मिसेज मिलर मा निर्देशक रोबर्ट अल्टम्यानले कोहेनको पहिलो गिती एल्बम “संग्स अफ लियोनार्ड कोहेन” को तीन वटा गीतहरु समावेश गरेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text