संसारका हरेक व्यक्तिसंग दिनमा २४ घण्टा हुन्छ । तर कोही समय नभएको गुनासो गर्दै अल्झिरहेका हुन्छन् भने कोही समयको रफ्तारसंगै अगाडी बढिरहेका हुन्छन् । बाहना बनाउनेहरु गुनासो गर्नमा व्यस्त हुन्छन् भने अवसरलाई हेर्नेहरु आफ्नो सपनाको सिंढी चढ्नमा व्यस्त हुन्छन् ।

छोड्नुहोस् यी बाहना जसले तपाईंलाई अगाडी बढ्नबाट रोकिरहेका छन् :

मसंग पर्याप्त समय छैन ।
आफ्नो कामको लागि समय नहुनु भनेको केवल बाहना हो । जीवनका आफ्ना प्राथमिकताहरु छुट्टाउनुहोस् । अरुलाई खुशी पार्नको लागि आफ्नो प्राथमिकतालाई नजरअन्दाज नगर्नुहोस् । भोलीको लागि आज राती नै समय तालिका बनाउनुहोस् ।

मसंग स्रोत छैन ।
धेरैको भनाइ हुने गर्छ, म यस्तो गर्न चाहन्छु, तर मसंग पैसा छैन, स्रोत छैन । यदि आफूले खोजेजस्तै पैसा र स्रोत नमिल्दासम्म काम गर्नुहुन्न भने तपाईंको सपना सधै सपना नै रहन्छ । आफूसंग तत्काल भएको स्रोतको सक्दो उपयोग गर्नुहोस् । जहाँ हुनुहुन्छ, जति सक्नुहुन्छ आफूले चाहेको कामको सुरुवात गर्नुहोस् । त्यसपछि तपाईंको बाटो बन्दैजान्छ, स्रोतहरु फेला पर्दै जान्छन् ।

मलाई सहयोग गर्ने मान्छे छैनन् ।
तपाईंको सपना तपाईंले देख्नुभएको सपना हो र त्यसको लागि तपाईं एक्लै उभिने साहस गर्न सक्नुपर्छ । अर्को कुरा, जिन्दगी भनेको यात्रा हो, मानिसहरु आउँछन्, जान्छन् । सिंगो यात्रा त तपाईं एक्लैको साहसले गर्नुपर्छ । र सत्य यो हो कि, जसलाई सहयोग गर्ने वरिपरि हुँदैनन् , त्यो व्यक्ति आत्मनिर्भर बन्छ र जीवनको जस्तोसुकै मोडमा अगाडी बढीरहन सक्ने हिम्मत राख्छ ।

त्यस्तो नभएको भए मैले राम्रो गर्थें ।
यो वाक्य धेरैजनाको मुखबाट सुन्ने गरिन्छ । बाहना बनाउनेहरु यो वाक्यलाई आफ्नो मस्तिष्क र जिब्रोमा राखेर हिंड्छन्, निराश हुन्छन् । र जो दृढ संकल्पका साथ लागेका हुन्छन्, उनीहरुले त्यसलाई आफ्नो पाठ बनाउँछन्, आफूमा निखारता ल्याउनको लागि अवसर बनाउँछन् ।

काम सजिलो भएको भए हुनेथियो ।
उद्धमी, लेखक तथा प्रेरक वक्ताको रुपमा प्रसिद्ध जिम रोनले भनेका छन्, ” काम सजिलो भएको भए हुनेथियो नभन । मैले अझ जानेको भए हुनेथियो भन ” । आफूलाई सजिलो लाग्ने काम मात्र गर्यो भने व्यक्तिले कहिल्यै पनि प्रगति गर्दैन । प्रगति गर्नको लागि व्यक्तिले आफूले आफूलाई चुनौती दिनुपर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text