काम सानोबाट सुरु गर, तर सपना ठूलो देख । एकै ठाउँमा नबस, अगाडी बढ ।

परिचय

थमस बर्बरी फेशन जगतको विश्वप्रसिद्ध तथा अन्तरराष्ट्रिय चेन कम्पनी “बर्बरी” का संथापक हुन् । “बर्बरी” ब्रिटेनको एउटा ठूलो कपडा उद्योग हो । उनी गाबरडिन भन्ने कपडाको आविष्कारक पनि मानिन्छन् । जुन कपडा निकै कसिलो गरेर बुनिन्छ र सुट , ट्राउजर ,ओभरकोट ,विण्ड ब्रेकर जस्ता पोशाकहरु बनाउन प्रयोग गरिन्छ । उनको जन्म सन् १८३५ अगस्ट २७ मा भएको थियो ।

प्रारम्भिक जीवन

थमस बर्बरीको जन्म बेलायतको ब्रोखाम ग्रीन भन्ने गाउँमा भएको थियो । उनले ब्रोखाम ग्रीन भिलेज स्कूलबाट शिक्षा प्राप्त गरेका थिए । स्कूलको पढाई सकेपछि थमसले एउटा स्थानिय कपडा पसलमा काम गर्न थाले । त्यसैक्रममा उनलाई कपडा सम्बन्धि जानकारी प्राप्त भयो र उनले आफै कपडा डिजाइन गरेर विभिन्न तयारी पोशाक तयार गर्ने सोच बनाए ।

व्यवसायिक यात्रा

थमसले सन् १८५६ मा बेलायतको बेसिंगस्टोक भन्ने ठाउँमा आफ्नो पहिलो पसल खोले । उनको डिजाइन सामान्य मानिसको दैनिकी जनजीवनबाट प्रभावित थियो । त्यसैले उनले माछा मार्न वा शिकार खेल्न जाँदा लगाउने बाहिरी पोशाकको डिजाइन गर्न शुरु गरे । थमसलाई ती पोशाकहरु वाटरप्रुफ पनि बनाउन सके अझ राम्रो हुने विचार आयो । जसका लागि उनी ब्रिटिश कटन उद्योगहरुसंग पार्टनरशिपमा काम गर्न राजी भए । थमसले देशका मध्यमवर्गीय समाजलाई लक्षित गरेर विभिन्न थरिका तयारी पोशाकका साथै वाटरप्रुफ पोशाकहरुको पनि डिजाइन गर्न शुरु गरे ।

थमसले विभिन्न खेलहरु खेल्दा प्रयोग हुने वाटरप्रुफ पोशाकहरुको डिजाइन गर्न शुरु गरेपछि उनको व्यवसाय फस्टाउन शुरु भयो । सन् १८७१ मा सत्तरी भन्दा बढी कामदारले उनको उद्योगमा काम गर्न थाले । सन् १८७१ मा उनले आफ्नो उद्योगलाई ठूलो बनाए जसमा विशेष गरी तयारी पोशाकको होलेसेल निर्माणलाई प्राथमिकता दिए । सन् १८८१ मा उनको उद्योगमा काम गर्ने कामदारहरुको संख्या दुई सय नाघ्यो । थमसलाई आफ्नो उद्योग र ब्रान्डको विज्ञापन गर्न जरुरी लाग्यो । त्यसपछि उनले आर्मी अफिसरहरू लर्ड किच्नर र लर्ड बदेन पावेललाई आफूले डिजाइन गरेका वाटरप्रुफ पोशाक पहिरिन अनुरोध गरे । यसरी थमसले आफ्नो व्यवसाय बढाउँदै बेलायतको कपडा जगतमा आफ्नो पहिचान बनाउन थाले ।

सन् १८७९ मा थमसले आफ्नो उद्योगमा गाबरडिन भन्ने कपडा बनाउन शुरु गरे । जुन कपडा इजिप्टको कटनबाट बनेको थियो ,कसिलो गरी बुनिन्थ्यो र वाटर प्रुफ पनि थियो । गाबरडिन कपडालाई साउथ केंसिंगटनमा भएको इन्टर नेशनल हेल्थ प्रदर्शनीमा निकै मन पराइयो साथै थमस बर्बरीको नाम पनि विश्वप्रसिद्ध भयो । सन् १९०४ मा उनले पुरुषका लागि कोटको डिजाइन गरे जसमा प्रयोग भएको कपडाले तातो-चिसो हावा , वर्षाको पानी आदिबाट मानिसको शरीरलाई बचाउन सक्थ्यो ।

व्यवसायलाई विस्तार गर्नका लागि थमसले आफ्ना छोरालाई लण्डनको व्यापारिक ठाउँ जर्मिन स्ट्रिटमा आफ्नो उत्पादनको व्यापारका लागि पठाए । सन् १८९१ मा लण्डनको वेस्टमिन्स्टर शहरको हेमार्केटमा थमसले बर्बरीको पहिलो फ्लागशिप स्टोर खोलेका थिए । सन् १८९३ मा नर्वेजियन अन्वेषक र ब्रिटिश अन्वेषकले अभियानहरुमा गाबरडिन कपडाको प्रयोग गरेका थिए । सन् १९०० मा ब्रिटिश वार अफिसले थमसलाई सैनिकहरुको लागि हलुका खालको कोट डिजाइन गर्न अर्डर गरेपछि उनले ट्रेन्चकोटको डिजाइन तयार पारेका थिए । जुन कोट पहिलो विश्वयुद्ध ताक सैनिकहरुले प्रयोग गरे र पछि सामान्य मानिसको जीवनमा पनि यो कोटले आफ्नो प्रभाव जमायो ।

अमेरिकी कलाकार हम्प्रे बोगार्ट र ब्रिटिश कलाकार अड्रे हेपबर्नले विभिन्न चलचित्रमा ट्रेन्चकोट पहिरिएपछि सो “ट्रेन्चकोट” बर्बरी ब्राण्डलाई विश्वप्रसिद्ध बनाउने प्रमुख डिजाइन बन्न पुग्यो । ट्रेन्चकोटको डिजाइनले सफलता पाएपछि थमसले खासगरी सैनिक र खेलाडीहरुलाई लक्षित गरेर पोशाकको डिजाइन गर्न थालेका थिए ।

सफलता

सिर्जनशीलताका कारण थमसको सन् १९२६ मा नब्बे वर्षको उमेरमा मृत्यु भएको थियो । थमसको मृत्युपछि उनको परिवारले कम्पनीलाई अगाडि बढाएको थियो । अहिले संसारका विभिन्न एकाउन्न देशहरुमा बर्बरी ब्रान्डका पसलहरु छन् जसमा बर्बरी ब्रान्डका कोट ,सुट ,स्कार्फ , परफ्युम ,झोला,चस्मा ,घडी ,सौन्दर्य सामग्री आदि पाउन सकिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text