जो व्यक्तिले प्रसिद्धिको चाहनामा काम गर्छ, त्यो व्यक्तिले ठूलो सफलता हासिल गर्न सक्दैन ।

परिचय

स्याम वल्टन अमेरिकी व्यवसायी थिए , जसले विश्वको एउटा ठूलो रिटेल कम्पनी “वलमार्ट” को स्थापना गरेका थिए । उनको जन्म सन् १९१८ मार्च २९ मा भएको थियो ।

प्रारम्भिक जीवन

स्याम वल्टनको जन्म अमेरिकाको ओक्लाहोमाको किङ्गफ़िशर भन्ने ठाउँमा भएको थियो । उनको परिवार निम्न वर्गमा पर्ने किसान परिवार थियो । बुवा थमस जिब्सन वल्टन र आमा नेन्सी लीका दुई छोराहरु मध्ये स्याम जेठा छोरा हुन् । स्यामको पूरा नाम सामुएल मुरे वलटन हो । स्याम सानैदेखि बुद्धिमान थिए । आठ कक्षामा पढ्दा उनी मसुरीको सबैभन्दा कान्छो इगल स्काउट सदस्य बनेका थिए ।

स्याम आफ्नो परिवारलाई आर्थिक सहयोग गर्नका लागि स्कुल बाहेकको समयमा विभिन्न सानातिना काम गर्दथे । हाई स्कुलको पढाइको लागि उनी डेभिड एच हिकम्यान हाई स्कुलमा भर्ना भए जहाँ उनलाई सन् १९३६ मा “मोस्ट भर्सटाइल बोय ” को उपाधि दिईएको थियो । हाई स्कुलको पढाई सकेपछि उनी युनिभर्सिटी अफ मसुरी मा भर्ना भए । सन् १९४० मा उनले अर्थशास्त्र विषयमा स्नातक गरे ।

व्यवसायिक यात्रा

स्याम वल्टनले स्नातक तहको अध्ययन गरिरहेकै बेला जे सी पेन्नि भन्ने कम्पनीमा एउटा व्यवस्थापन प्रशिक्षकको काम गरेका थिए । सन् १९४२ मा उनले जागिरबाट राजिनामा लिए र दोस्रो विश्वयुद्ध आफूले सक्दो सेवा गर्ने विचार गरे । उनी यु एस आर्मी इन्टेलिजेन्स कर्प्समा भर्ना भए र त्यहाँ आर्मीको कप्तानको पदसम्म पुग्न सफल भए । विश्वयुद्धको समाप्ति पछि वलटन आर्मी छोडेर सामान्य जीवनयापनमा लागे । आर्मीमा संलग्न हुनभन्दा पहिले केहि समय उनले ओकलाहोमा नजिकैको डुपोइन्ट भन्ने कम्पनीमा पनि काम गरेका थिए ।

विश्वयुद्धपछि फर्केर वल्टनलेआफ्नो व्यवसाय शुरु गर्ने विचार गरे । सन् १९४५ मा उनले आफ्ना ससुरासंग केहि पैसा सापटी लिएर आर्केंसाको न्युपोर्टमा रहेको बेन फ्रान्क्लिनको विभिन्न सामानहरु भएको पसल किने जुन पसल बटलर ब्रदर्स चेन को फ़्रेञ्चाइज थियो । वलटनले
व्यवसायलाई नयाँ र रचनात्मक तरिकाले आफ्नै ढंगमा अगाडि बढाएका थिए । सन् १९६० सम्म आइपुग्दा वलटन र उनका भाइ मिलेर बेन फ्रान्क्लिन फ़्रेञ्चाइज रहेका पन्ध्रवटा पसल थप गरे र एउटा आफ्नै पसल पनि खोल्न सफल भए ।

त्यसपछि स्याम वलटनले ग्रामीण क्षेत्रमा अलि ठूलो पसल खोल्ने विचार गरे । जसमा उनले सामानको मूल्य कम राखेर बढी भन्दा बढी ग्राहकहरु आकर्षित गर्ने र अधिक मात्रामा सामान बिक्रि गर्ने योजना ल्याए तर बेन फ्रान्क्लिनका अधिकारीहरु उनीसंग असहमत भए ।आफ्नो योजनामा विश्वस्त र अडिग रहेका वलटनले सन् १९६२ जुलाई २ मा अर्कंसाको रोगर्समा पहिलो वलमार्ट स्टोर खोल्न सफल भए । त्यतिबेला आफ्नो व्यवसायलाई अगाडि बढाउने उद्धेश्यले वलटन दाजुभाइ स्टेफन दस्ब्याच संग मिलेका थिए ।

वालमार्टका स्टोरहरुमा ग्राहकहरुका लागि न्युनतम मुल्यमा अमेरिकी उत्पादनका सामानहरु उपलब्ध गराइयो । जसका कारण विदेशबाट निर्यात सामाग्री भन्दा सस्तो मुल्यमा ग्राहकले खरिद गर्न सके साथै अमेरिकी कम्पनीहरु विदेशी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने भए ।

वलटनको व्यवसायमा उनको यो नितीले निकै सफलता पायो । सन् १९६७ सम्म आइपुग्दा देशका विभिन्न ठाउँहरुमा वलमार्टका चौबिसवटा स्टोरहरु भए जस अन्तर्गत लगभग १२।७ मिलियन डलरको सामाग्री बिक्रि भएको आँकडा दर्ता भयो । त्यसको केहि वर्षमा वलटन परिवारले आधिकारिक रुपमा वलमार्ट स्टोर्स कम्पनि लाई दर्ता गरि अगाडि बढायो ।

सन् १९७० मा पहिलोचोटि शेयर बजारमा वल मार्टस्टोर्स कम्पनीको प्रति शेयर १६।५० डलरमा बेचिएको थियो । सन् १९७२ मा वलमार्ट स्टोर्स कम्पनी न्युयोर्क स्टक एक्सचेन्जमा दर्ता भएको थियो । सन् १९८० मा वल मार्ट स्टोर्स कम्पनि ले १ बिलियन अमरिकी डलरको वार्षिक व्यापार गरेको थियो ।

व्यापार – व्यवासायमा नवीकरण ल्याउने उद्धेश्यले स्याम वलटनले सन् १९८० मा पहिलो पटक स्याम्स क्लबको उद्घाटन गरे जसमा विभिन्न साना खुद्रा व्यापार र व्यापारीहरुको संलगनता गराए । साथै त्यहि दशकतिर पहिलो वलमार्ट सुपर सेन्टर पनि खोले । जसमा ग्राहकहरुको सुविधाका लागि एकै ठाउँमा आफूलाई चाहिएको सामानहरु खरिद गर्न सक्ने गरि खाद्य सामग्रीहरुको साथै अरु दैनिक जीवनयापनमा चाहिने सामानहरु पनि उपलब्ध गराइयो । वलटनको यो व्यवसायिक तरिकाले निकै सफलता पायो ।

सन् १९९० को दशकमा वलमार्ट ग्राहकहरुको पहिलो रोजाई बन्दै स्टक एक्सचेन्जमा ४५ बिलियन डलरको व्यापारिक आँकडा कायम गर्यो । सन् १९९१ मा वलमार्ट अमेरिकाको सबैभन्दा ठूलो खुद्रा व्यापार हुने केन्द्र बन्न पुग्यो । सन् १९८८ मा वलटन कम्पनीको सीइओ पदबाट हटेतापनि आफ्नो जीवनभरी कम्पनीको काममा आफूलाई संलग्न राखेका थिए । सन् १९९२ अप्रिल ५ मा क्यान्सरका कारण ७४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

स्याम वलटन व्यवसायी हुनुका साथै एक समाजसेवी पनि थिए । पिछडिएका विभिन्न वर्गका मानिसलाई सहयोग गर्ने उद्धेश्य लिएर सन् १९७९ मा “द वलमार्ट फाउन्डेसन” को स्थापना गरेका थिए । उनले चर्चका लागि पनि आर्थिक सहयोग गरेका थिए र चर्चमा हुने सन्डे स्कुलमा शिक्षकका रुपमा सहभागी हुन्थे ।

सफलता

सन् १९९२ देखि सन् १९९८ सम्म फोर्ब्स म्यागजिनले स्याम वलटनको नाम अमेरिकाको सबैभन्दा धनी मान्छेको सुचिमा राखेको थियो । सन् १९९२ मा अमेरिकी नागरिकलाई गरिने देशको सबैभन्दा ठूलो सम्मान “द प्रेसिडेनसियल मेडल अफ फ्रिडम” अवार्ड तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशद्वारा स्याम वलटन लाई प्रदान गरिएको थियो । सन् १९९८ मा स्याम वलटनको नाम बीसौं शताब्दीका सय जना प्रभावशाली व्यक्तिहरुको नाममा परेको थियो ।अहिले वलमार्ट विश्वको एउटा ठूलो मल्टिनेशनल कम्पनि बन्न सफल भएको छ जसका विभिन्न २८ देशहरुमा ११ हजार भन्दा बढी शाखाहरु रहेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text