कालो छाला भएका कारण हेपिएकी लोमिको जोनसन २५ वर्षको उमेरबाट विटलाइगो रोगको शिकार भईन् । छालामा सेतो दाग आउने उक्त रोगले उनलाई डिप्रेसन सम्ममा धकेल्यो । मानिसहरुले उनलाई मजाक बनाउँथे, हात मिलाउन हच्किन्थे, समूहमा अरुलाई भन्दा छुट्टै व्यवहार गर्थे र बच्चाबच्चीहरु उनको नजिक पर्न डराउँथे ।

एक्लो महसुस गरेकी उनले आफैलाई घृणा त गर्थिन् नै, कैयौंपटक आत्महत्याको प्रयास समेत गरिन् । तर उनको परिवारको मायाले उनलाई आत्महत्याबाट रोक्थ्यो । Daily Mail संग गरेको कुराकानीमा उनले रोगले भन्दा बढी पीडा आफूलाई मानिसहरुले गर्ने हेपाहा व्यवहारले दिएको बताएकी छिन् ।

त्यसपछि उनको जीवनमा हिम्मत बनेर आए फिलिप । घन्टौं लगाएर मेकअपको मद्दतले आफ्नो छालाको असलियत ढाक्न खोज्ने उनलाई फिलिपले असली छालामै आफ्नो जीवनमा ल्याउन चाहे । फिलिपले उनलाई उनको वास्तविक रुपमै सुन्दर देख्ने बताएपछि उनले आफ्नो छाला ढाक्न छोडिन् ।

आफूभित्र आत्मविश्वास र साहस भरेर मानिसहरुको प्रत्येक व्यवहारलाई निडरताका साथ सामना गर्दै लोमिको अगाडी बढ्न थालिन् । उनको साहस र व्यक्तित्वको अगाडी मानिसहरुको त्यो मानसिकताले समेत हार खायो ।

३५ वर्षिया लोमिको अहिले आफू जस्तै रोगको शिकार भएकाहरुमा आत्मविश्वास बढाएर उनीहरुलाई अगाडी बढाउने काममा लागेकी छिन् । चार सन्तानकी आमा उनि अहिले आफ्नो परिवारमात्र नभएर सबैको लागि प्रेरणाको स्रोत बनेकी छिन्।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text