एउटा गाउँमा लामो समय खडेरी पर्यो । पानीका मूल समेत सुक्न थालेपछि गाउँलेहरुले इन्द्र भगवानको पूजा गर्ने निधो गरे । सबैजनाले सल्लाह गरेर पूजाको साइत निकाले । पूजाको दिनमा सबैजना बिहान छिटो एकैठाउँमा जम्मा हुने निर्णय भयो ।

निर्णय अनुरुप आ-आफ्नो भागमा परेका पूजाका सामग्री लिएर मानिसहरु भेला भए । तर, सबैको नजर एउटा बालक माथी पर्यो । बिहानको समय थियो, घाम चर्को थिएन, तर बालकले छाता ओढेको थियो । सबैजना उसलाई हेरेर हाँस्न थाले । यत्तिकैमा एउटा युवकले उक्त बालकलाई सोध्यो, ” बाबु ! छाता किन ओढेको नि ? ” ।

सबैले आफूतिर हेरिरहेको देखेर बालक अलमलमा परेको थियो । अक्मकाउँदै उसले भन्यो , ” पानी पारिदिनुस भगवान भन्नलाई पूजा गर्ने होइन र दाइ आज ? पूजा गरिसकेपछि भगवानले पानी पारिदिनुहुन्छ अनि भिजिन्छ भनेर छाता लिएर आ’को “। उसको कुरा सुनेपछि सबै हाँसे, तर वास्तवमा उसको उत्तर गम्भीर थियो । भनिन्छ नि, बालबालिकाले हामीलाई धेरै कुरा सिकाइरहेका हुन्छन् ।

हामीले आफूमा, आफ्नो काममा, आफ्नो उद्देश्यमा विश्वास राख्नुपर्छ । विश्वास राखिएर गरिएको काममा हामीले शतप्रतिशत रुपमा आफ्नो तन मन लगाउँछौं । एउटा उपायले काम गरेन भने हामीले त्यो कामलाई, त्यो उद्देश्यलाई छोड्दैनौं, नयाँ उपाय खोज्न थाल्छौं । विश्वासले हामीलाई अगाडीका सम्भावनाहरु देखाउंछ, हामी सकारात्मक ऊर्जाबाट प्रेरित भइरहेका हुन्छौं ।
यदि विश्वास राख्न सकेनौं भने, एक त हामीले अनावश्यक तनावबाट आफूलाई ग्रसित बनाइरहेका हुन्छौं, अर्कोतर्फ आफ्नो उद्देश्य प्राप्तिको लागि आफ्नो शतप्रतिशत दिन सक्दैनौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text