मैले आफूलाई कहिल्यै कमजोर ठानिन । म अरुले भन्दा राम्रो गर्न सक्दिन होला, तर अरुभन्दा कम पक्कै छैन ।

परिचय

क्याथरिन जनसन अमेरिकी भौतिकशास्त्री तथा गणितिज्ञ हुन् । उनी यु एस स्पेस प्रोग्राममा दिएको योगदानका लागि प्रख्यात छिन् । उनले नासामा तीन दशक भन्दा बढी काम गरेकी छन् । उनको जन्म सन् १९१८ अगस्ट २६ मा भएको हो ।

प्रारम्भिक जीवन

क्याथरिनको जन्म अमेरिकाको वेस्ट भर्जिनियाको व्हाइट सल्फर स्प्रिन्ग्समा भएको हो । उनका बुवा जोशुआ कोल्म्यन एक होटेलमा काम गर्दथे भने आमा जोयलेट कोल्म्यन एक शिक्षिका थिइन् । बुवा – आमाका तीन सन्तानहरु मध्ये क्याथरिन सबैभन्दा कान्छी हुन् । क्याथरिन सानैदेखि गणित विषयमा उत्कृष्ट थिइन् । चौध वर्षको उमेरमा हाइ स्कुल पास गरेपछि गणित विषय लिएर अगाडि बढ्ने उद्देश्य लिएर उनी वेस्ट भर्जिनिया युनिभर्सिटीमा भर्ना भइन् । त्यो बेला उक्त युनिभर्सिटीमा पढ्ने अफ्रिकन – अमेरिकन विद्यार्थी क्याथरिन समेत गरेर जम्मा तीन विद्यार्थी मात्र थिए ।

क्याथरिनले सन् १९३७ मा फ्रेन्च र गणित विषयमा डिग्री गरिन् । त्यसपछि केही समय उनले भर्जिनियाको एउटा स्कुलमा पढाउने काम गरिन् । सन् १९३९ मा जेम्स फ्रान्सिससंग विवाह गरेपछि क्याथरिनले शिक्षण पेशा छोडेकी थिइन् ।

करियर यात्रा

क्याथारिनलाई गणित विषयमा निकै रुचि थियो । त्यसैले उनले गणित सम्बन्धि विषयमा खोज गर्ने योजना बनाएकी थिइन् । त्यतिबेला सो विषयमा काम गर्ने गोरा अमेरिकी पुरुष मात्रै थिए । जसका कारण एक अफ्रिकन – अमेरिकन महिला क्याथरिनलाई आफ्नो चाहना अनुरुप काम गर्न सजिलो थिएन । तर क्याथरिनले हिम्मत हारिनन् । उनले हरेक चुनौतीको सामना गर्दै आफ्ना पाइला अगाडी बढाइरहीन् ।

सन् १९५२ मा क्याथरिनका एक जना नातेदारले नासाको पूर्ववर्ती संस्था “द नेसनल एडभैसरि कमिटी फर एरोनटिक्स ” मा गणितीज्ञको पदको लागि आवेदन मागेको कुरा उनलाई सुनाए । क्याथरिनले सो पदका लागि आवेदन भरिन् । फलस्वरूप सन् २०५३ मा उनलाई त्यहाँबाट जागिरका लागि प्रस्ताव आयो र उनले सहर्ष स्वीकार गरिन् । सन् १९५३ देखि सन् १९५८ सम्म क्याथरिनले भर्जिनिया नजिक रहेको “द ल्यांगले मेमोरियल एरोनटिकल ल्याबोरेटोरी” मा कम्प्युटले गर्ने क्यालकुलेसनको काम गरिन् । केही समय वेस्ट एरिया कम्प्युटर सेक्सनमा काम गरेपछि उनी “गाइडेंस एण्ड कन्ट्रोल डिभिजन” मा सरुवा भइन् जहाँ उनका धेरैजसो पुरुष इन्जिनियर सहकर्मी थिए ।

क्याथरिनले आफ्नो रुचि अनुसारको जागिर त पाएकी थिइन् तर उनले काम गर्ने ठाउँको वातावरण जातियता भेदभाव द्वारा जकडिएको थियो । अफ्रिकन – अमेरिकनका लागि काम गर्ने ठाउँ ,खाने ठाउँ , शौचालय जाने ठाउँ सबै अरु समकक्षीको भन्दा छुट्टै हुन्थ्यो । उनीहरुले काम गर्ने कम्प्युटरमा अलग-अलग रंगको लेबल लगाइएको हुन्थ्यो । उनले काम गर्ने त्यो संस्था सन् १९५८ मा “नासा” मा परिमार्जित हुँदा जातियवादलाई हटाइएको थियो । क्याथरिन पनि “नासा” को स्पेसक्राफ्ट कन्ट्रोल ब्रान्च ” मा सरुवा भइन् । त्यहाँ उनले एरोस्पेस टेक्नोलोजिस्टका रुपमा सन् सन् १९५८ देखि सन् १९८६ सम्म काम गरिन् ।

सन् १९६१ मे ५ मा अन्तरिक्षमा पुगेका पहिलो अमेरिकन व्यक्ति एलान शेफार्डको अन्तरिक्ष यानको लागि गणितीज्ञ आँकडाको काम क्याथरिनले गरेकी थिइन् । साथै उनले शेफार्डको मर्करी मिशनका लागि पनि काम गरेकी थिइन् । क्याथरिनले पृथ्वीको कक्षको गणितीज्ञ आँकडा प्रस्तुत गरेपछि मात्रै अंतरिक्ष यात्री जान ग्लेन अन्तरिक्ष यात्राका लागि तयार भएका थिए ।

क्याथरिनले समयअनुसार परिवर्तन भएको कम्प्युटरको नयाँ टेक्नोलोजी क्षेत्रमा आफूलाई पनि परिमार्जित गरिन् । सन् १९६९ मा पहिलो पटक चन्द्रमामा पुगेको अन्तरिक्ष यान एपोलो -११ को गणितीज्ञ आँकडा सम्बन्धिको सबै काम क्याथरिनले गरेकी थिइन् । सन् १९७० मा चन्द्रमामा जानका लागि बनाइएको अन्तरिक्ष यान एपोलो -१३ मा पनि क्याथरिनले काम गरेकी थिइन् । तर सो मिशन बीच बाटोमै रद्द गर्नु परेको कारण क्याथरिनकै पहलमा उनको गणितीज्ञ आँकडा अनुसार सबै यात्री पृथ्वीमा सकुशल फर्कन सफल भएका थिए । जागिरको अन्त्यतिर क्याथरिनले “द स्पेस शटल प्रोग्राम” ,”द अर्थ रिसोर्सेस सेटलाइट” र “अ मिसन अन मार्स ” का लागि काम गरेकी थिइन् । सन् १९८६ मा उनले नासाबाट अवकाश लिएकी थिइन् ।

सफलता

अहिलेको समयमा पनि महिलालाई गणित र विज्ञान विषयमा कम आँक्ने प्रचलन छ । उक्त सोंच गलत सावित गर्नको लागि क्याथरिन एउटा बलियो उदाहरण हुन् । क्याथरिन जनसन विज्ञान विषयमा अगाडि बढ्न चाहने भएका महिलाका लागि प्रेरणा हुन् । सन् २०१५ नोभेम्बर २४ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बराक ओबामाद्वारा क्याथरिनले प्रेसिडेनसियल मेडल प्राप्त गरेकी थिइन् । सन् २०१७ सेप्टेम्बर २० मा रिसर्च फेसिलिटी खोलियो जसको नाम “क्याथरिन जी जनसन कम्प्युटेसन रिसर्च फेसिलिटी ” राखियो । सो संस्थाको उद्घाटनका समयमा नासालाई सफल बनाउन क्याथरिनले गरेको योगदानको सम्मान गर्दै उनलाई “द सिलभरी स्नूपी अवार्ड ” दिईएको थियो ।सन् २०१६ मा बिबिसीद्वारा प्रकाशित संसारका १०० प्रभावशाली महिलाहरुको नामको सूचिमा क्याथरिनको नाम पनि समावेश गरिएको थियो।

वेस्ट भर्जिनिया स्टेट युनिभर्सिटीले क्याथरिनको सम्मानमा छात्रवृति प्रदान गर्दछ । सोही युनिभर्सिटीमा उनको प्रतिमा पनि बनाइएको छ । सन् २०१८ मे मा “द कलेज अफ विलियम एण्ड मेरी” द्वारा क्याथरिनलाई मानार्थ डाक्टर उपाधि प्रदान गरिएको थियो । मार्गोट लि शेटरलिद्वारा लिखित किताब “द हिडन ट्रेजर्स” मा क्याथरिन सहित अरु उनका सहयोगी गणितीज्ञ साथीहरुको जीवन चित्रण गरिएको छ । सन् २०१६ मा सोहि किताबमा आधारित चलचित्र पनि बनेको थियो । उक्त चलचित्र सोहि वर्षको एकेडमी अवार्डमा नोमिनेसन पनि भएको थियो । चलचित्रमा क्याथरिनको भूमिका ताराजी हेन्सनले निभाएकी थिइन् ।

कुनै पनि कारणले यदि तिमीले आफूलाई कमजोर देख्दै छौ भने, तिमी दुखी हुनु या अगाडी नबढ्नुमा अरुलाई दोष नदेऊ । त्यो तिम्रै गल्ती हो । आफूलाई विश्वास गर । आफूले चाहेको ठाउँमा पुग्ने प्रयास गर । लडिन्छ, तिमी मात्र होइन, हरेक व्यक्ति लड्छ, उठ । आलोचना गर्नेहरु हुन्छन् , ती आलोचनालाई शक्तिमा बदल ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text