हामी सबै अवसरको पर्खाइमा हुन्छौं । तर यत्तिकै बसेर अवसर आउंदैन । त्यसको लागि आफैले प्रयास गर्नुपर्छ ।

एउटा काममा अत्यन्तै व्यस्त रहनुभयो भने तपाईंलाई अवसर कति बेला आयो र गयो पत्तो हुँदैन । तपाईंको हरेक दिन तनाव र एकोहोरो रुटिनमा बितिरहेको हुन्छ । त्यसैले आफ्नो लागि समय निकाल्नुहोस् । दिमाग फ्रेस बनाउनुहोस् । रचनात्मक कुराहरु सोंच्नुहोस् । भेटघाट, कार्यक्रममा सहभागिता आदिको लागि समय मिलाउनुहोस् ।

सानै भएपनि काम पाउनुभयो भने इमान्दारी पूर्वक काम गर्नुहोस् । जब तपाईंले काम गरेर अरुप्रति विश्वास दिलाउन सक्नुहुन्छ, तब त्यही नै तपाईंको लागि अवसरहरु सिर्जना हुन थाल्छन् । र, त्यही काममा नै तपाईंले आफ्नो करियर देख्नुभएको छ भने सुरुवातमा पैसालाई भन्दा कामलाई बढी महत्व दिनुहोस् । त्यसपछि तपाईंले अरु अवसर पाउँदै जानुहुन्छ र आम्दानी पनि बढ्दै जान्छ ।

आफूले काम गर्ने क्षेत्रका मानिसहरुसंग चिनजान गर्नुहोस् । ती मानिसहरुसंगको भेटमा आफ्ना विचार राख्ने गर्नुहोस् । आफ्नो क्षेत्रमा काम गर्दै गरेका आफ्नो उमेरका व्यक्तिलाई साथी बनाउनुहोस् । यसले गर्दा आफ्नो कामको क्षेत्रका नयाँ अवसरहरुबारे जानकारी पाउन सक्नुहुन्छ ।

तपाईंलाई कसैले केही अवसर दियो या आफ्नो काममा कुनै पनि सहयोग गर्यो भने उसलाई धन्यवाद दिनुहोस् । उसलाई धन्यवाद पत्रको रुपमा इमेल गर्न सक्नुहुन्छ या भेटेर धन्यवाद स्वरुप कुनै उपहार दिन सक्नुहुन्छ । यसो गर्दा तपाईंको सम्बन्ध बनिरहन्छ । तपाईंलाई अवसर दिएको व्यक्तिमा पनि तपाईंप्रति सकारात्मक धारणा बन्छ । जसले गर्दा तपाईंलाई अरु अवसर मिल्ने सम्भावना रहन्छ र तपाईंको नेटवर्क पनि बिस्तार हुन्छ ।

अपडेट रहनुहोस् । पत्रपत्रिका पढ्नुहोस् । आफूले काम गर्ने क्षेत्रमा आइरहेका नयाँ-नयाँ कुराहरु खोज्नुहोस् । त्यस्तै, हरेक दिन पढ्नुहोस् । आफ्नो रुचीका पुस्तकहरु संकलन गर्नुहोस् र हरेक दिन केही न केही पढ्नुहोस् । सामाजिक संजाल प्रयोग गर्नुहुन्छ भने त्यहाँ फोटो भन्दा बढी आफ्नो काम र विचारहरुको बारेमा पोस्ट गर्नुहोस् । त्यहाँ तपाईंको साथी मध्येबाट नै कुनै अवसर आउन सक्छ ।

तपाईं सम्पूर्ण कुरा जानेको कहिल्यै पनि बन्न सक्नुहुन्न । समय अनुसार काममा, काम गर्ने तरिकामा, मानिसहरुको विचारमा, बजारको मागमा सबैकुरामा परिवर्तन भइरहेको हुन्छ । त्यो परिवर्तन अनुसार आफूलाई हिंडाउनुपर्छ । हरेक दिन केही कुरा सिक्नुपर्छ ।

अरुको नक्कल नगर्नुहोस् । अरुको नक्कल गर्दा सुरुमा त तपाईं राम्रो देखिन पनि सक्नुहुन्छ, तर त्यसले तपाईंप्रति मानिसहरुको नकारात्मक धारणा बन्न सक्छ । त्यसैले सिर्जनात्मक बन्नुहोस् । आफूले गरिरहेको काममा तपाईंको आफ्नो क्षमता, सोंचलाई पनि देखाउनुहोस् । यसले गर्दा तपाईंको छुट्टै परिचय बन्छ र नयाँ अवसरहरु आउँछन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text