हाम्रो नेपाली भनाइ छ, ‘हुने बिरुवाको चिल्लो पात’ । योग राज कंडेलमा त्यो गुण हराएको देखेपछि बुवाले उनलाई भारत लगेका थिए । गुल्मी जिल्लाको दिगाम गा.वि.स ( हालको छात्रकोट गाउँपालिका, वडा नं. ४ ) को रुप्सेमा जन्मिएका योगराजले त्यहींको स्थानिय स्कुलमा पढ्न थाले । तीन कक्षासम्म उनी कक्षाको राम्रो विद्यार्थीमा गनिन्थे । तर चार कक्षामा पुग्दा उनको पढाइ खस्कियो । पाँच कक्षामा त उनी फेल नै भए । त्यसपछि बुवाले उनलाई भारत लगे ।
योग राजले भारतमा वेस्ट बङ्गाल स्कुलमा पढ्न थाले । नौलो ठाउँ, बुवा आर्मीमा जागिरे आदिका कारण उनी अनुशासनमा रहन थाले । उनले यति मेहनतले पढ्न थाले की, मेट्रिक्स परिक्षा (नेपालको एसइइ परिक्षा सरह ) मा उत्कृष्ट नम्बर ल्याउन सफल भए । साधारण नेपाली केटोले उत्कृष्ट नतिजा ल्याउँदा स्थानिय समेत चकित भएका थिए ।

मेट्रिक्स पछि अब करियरको बाटो रोज्नु थियो । योग राज सानै देखि क्रिकेट प्रति रुची राख्थे । खेलाडी बन्ने सपना देखेका उनले भारतमा पढ्दा स्टेट स्तरीय खेलसम्म पुगेका थिए । तर खेलकै समयमा भएको दुर्घटनाले गर्दा उनको सपना नै मोडिएको थियो । आँखा नै बाहिर निस्किने स्थितिसम्म पुगेको त्यो दुर्घटनाले गर्दा उनले खेल छोडेर पढाइलाई निरन्तरता दिने योजना बनाएका थिए । जसअनुरुप उनी भारतमै आइ.एस.सीमा भर्ना भए । तर उनको मन त्यहाँ रम्न सकेन । उनी बीचमै पढाइ छोडेर मुम्बई भागे । त्यसको केही समय पछि नेपाल फर्किए । मेट्रिक्समा राम्रो नतिजा ल्याएका उनको एक वर्ष यत्तिकै खेर गयो ।
योग राज कंडेल नेपाल आएपछि पाल्पाको तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा भर्ना भए । घर देखि टाढा बस्दा आम विद्यार्थीले भोग्ने समस्याहरुबाट उनी पनि अछुतो रहेनन् । घरबाट आउने सिमित खर्चले त्यहाँको बसाईको खर्च र आफ्नो व्यक्तिगत खर्च धान्न मुस्किल हुन थाल्यो । राजनीतिमा पनि सक्रिय हुँदै धेरैजनासंग भेटघाट, चिनजान बढेका कारण उनको खर्च अन्य सामान्य विद्यार्थीको भन्दा पनि बढी हुन्थ्यो । त्यसैले उनले जागिर गर्न थाले । उनी बिहान कलेज जान्थे र दिउँसो बोर्डिंग स्कुलमा पढाउन जान्थे । त्यसपछि उनले घरबाट पैसा नलीई आत्मनिर्भर बन्दै पढ्न थाले ।

गणित र विज्ञानमा राम्रो, भारतको ठूलो स्कुलमा पढेर आएकोले बाहिरि कुरामा पनि सक्रिय, सबैसंग घुलमिल हुने र नम्र स्वभाव आदिका कारण विद्यार्थीहरुले कंडेललाई मन पराउन थाले । साथीहरुको त्यो साथले गर्दा उनी विद्यार्थी राजनीतिमा सक्रिय हुन थाले । जसले गर्दा यता पढाइमा असर पर्न थाल्यो । बि.एस.सी पास भएतापनि राम्रो अंक आएन । त्यसमाथि राजनीतिमा पनि उनले आशा अनुरुपको साथ र स्थान पाएनन् । राजनीतिको त्यो असहयोगले उनलाई काठमाडौंतिर डोहोर्यायो । काठमाडौं आउँदाको पहिलो दिन उनी यसरि सम्झिन्छन्, ” काठमाडौंको कलंकीमा बसबाट ओर्लिंदा मैले एउटा बिस्तारा काँधमा बोकेर ओर्लिएको थिएँ । आज पनि म त्यही व्यक्ति हूँ । मलाई मेरो त्यो दिन, मेरो विगत बताउँदा लाज लाग्दैन । जहाँसुकै पुगौं, ती दिनहरु मेरो मानसपटलमा रहिरहनेछन् । ती दिन मेरो लागि प्रेरणाका स्रोत हुन् ” ।
काठमाडौं आइसकेपछि योग राज कंडेल एम.एस.सीमा भर्ना भए । अंग्रेजी, गणीत, विज्ञान विषयमा राम्रो भएका कारण उनले होम ट्युसन पढाउने अवसर पाएका थिए, जहाँबाट खर्चको जोहो हुन्थ्यो । त्यसबीचमा उनले इन्डियन न्याभी र नेपाल प्रहरीमा समेत अवसर पाएका थिए । तर अवसर पाएतापनि उनको मन त्यता आकर्षित हुन सकेन । त्यसपछि उनले लोकसेवा परिक्षा समेत दिए । लोकसेवा परिक्षामा उनी तीन पटकसम्म फेल भए । यसअर्थमा उनले आफ्नो करियरको मूख्य बाटो नै भेट्न सकिरहेका थिएनन् ।

एम।एससी पढ्दै गर्दा कँडेललाई कस्मिक एयरमा जागिरको अवसर मिल्यो । तर जागिरमा जान थालेको एक महिना पछि उनले राजिनामा दिए । जागिरमा होम ट्युसन पढाउँदा भन्दा कम तलब आउंथ्यो । अर्कोतिर, होम ट्युसनमा केही घण्टा छुट्याउदा हुन्थ्यो भने जागिरमा बिहान देखि बेलुकासम्म बस्नुपर्थ्यो । होम ट्युसन पढाउँदै जागिर गर्न समय हुँदैनथ्यो । त्यसैले उनी जागिर छोड्ने निर्णयमा पुगे । त्यो एक महिना जागिर गर्दा कँडेल समयमै अफिस पुग्थे । आफ्नो लागि दिइएको काम उनी जिम्मेवारीपूर्ण ढंगले गर्थे र एक दुई/घण्टा भित्र नै आफ्नो जिम्मेवारीको काम सकिसकेका हुन्थे । त्यति छिटो काम सकेको देखेर सबैजना छक्क पर्थे । त्यसपछि उनलाई दिनभर म्यानुअल टाइप गर्न दिइन्थ्यो । हरेक दिन म्यानुअल टाइप गर्दा गर्दा उनको टाईपिङ्ग स्पीड समेत बढ्यो भने अर्कोतिर, उनलाई त्यो सबै म्यानुअल नै आउँदो भयो ।
योग राज कंडेल एक महिनामै जागिर छोडेर पुरानै दिनचर्यामा फर्किसकेका थिए । एक दिन उनलाई कस्मिक एयरका भक्ति श्रेष्ठले भेट्न बोलाएको भन्ने खबर आयो । जागिर छोडेको हुनाले उनले त्यसतर्फ चासो दिएनन् । एभिएसन क्षेत्रलाई आवश्यक टेक्निकल कुरा आफूलाई थाहा नभएको कारण उनले त्यसमा आफ्नो भविष्य देखेका पनि थिएनन् । तर अर्को पटक कस्मिक एयरबाट गाडी लिएर उनलाई लिन नै पुगेपछि उनी भेट गर्न गए । त्यही भेट नै उनको जिन्दगीको ‘ टर्निङ्ग पोइन्ट ‘ बन्यो । भेटमा भक्ति श्रेष्ठले भनेका थिए, ” तिमीमा मैले त्यो क्षमता देखेको छु । सबैका दिन आउँछन् र मान्छेले त्यो दिनलाई चिन्न सक्नुपर्छ । यस क्षेत्रमा तिम्रो भविष्य छ” । त्यसपछि उनले आफ्नो व्यक्तिगत पहलमा तलब समेत बढाइदिने वाचा गरे ।

कँडेललाई कस्मिकको व्यवस्थापन टिममा राखियो । उनले आफूलाई नआउने टेक्निकल कुराहरु साथीबाट सिक्न थाले । टेक्निकल कुरा नजान्ने व्यक्तिलाई उपल्लो तहमा ल्याइएको कुराले व्यवस्थापन टिमसंगै उनको पनि आलोचना भयो । उनी त्यो आलोचनालाई प्रेरणाको रुपमा लिन्थे, आफ्नो काममा जिम्मेवारीपूर्वक तरिकाले लाग्थे र टेक्निकल कुरा सिक्न सधै उत्सुक रहन्थे । यता काममा बढी ध्यान केन्द्रित भएपछि उनको एम.एस.सीको पढाइ भने छुट्यो । अर्कोतिर, कस्मिकमा काम गर्दागर्दै कस्मिक बन्द हुने अवस्थामा पुग्यो । उनले दुई वर्ष काम गरेपछि कस्मिक बन्द भएको थियो । त्यसपछि त्यहींको एउटा टिमसंगै उनी मनकामना एयरवेज जाने भए । तर त्यो एयरवेज योजनामै सिमित भयो । त्यसपछि स्पेस एयर संचालनमा आयो र उनी त्यही स्पेस एयरमा जुनियर कर्पोरेट म्यानेजरको रुपमा आबद्ध भए । तर स्पेस एयर छ महिनामै बन्द भयो ।
स्पेस एयरमा छुट्टीएकै टिमसंग मिलेर योग राज कंडेलले कर्पोरेट म्यानेजरको रुपमा काम सुरु गरे । त्यतिबेला उनीहरुसंग पर्याप्त स्रोत थिएन । एउटा कोठालाई कार्यालय बनाए । एउटा हेलिकप्टर किने । टिममा सिमित मानिस थिए । खाजाको नाममा सधै आलु चिउरा मात्र हुन्थ्यो । काममा भोक प्यास नभनी रात दिन लागिरहन्थे । यसरि सुरु गरिएको हेलिकप्टर सेवा सिम्रिक एयर बन्न पुग्यो । स्पेस एयरमा छुट्टिंदा आफ्नो टिमले लाइसेन्स लिने भन्ने कँडेलकै सल्लाहमा उनीहरुले लाइसेन्स लिएर २००१ मा सिम्रिक एयर नामाकरण गरेका थिए । त्यतिबेला जनयुद्ध चलिरहेको थियो । सैनिकहरु र उनीहरुको खाना या सामान ओसारपसारमा जानको लागि अरु एयरवेज डराउने गर्थे । प्रतिस्पर्धीको त्यही डरलाई योग राज कँडेलले आफ्नो अवसर बनाए । त्यसपछि सिम्रिक सुरक्षाकर्मीकै सेवामा केन्द्रित हुन थाल्यो ।

स्पेस एयरमा रहंदा योग राज कँडेल कार्यालयमै थिए । यत्तिकैमा केही सुरक्षाकर्मी आएर उनलाई लिएर गए । उनलाई आफूलाई कहाँ, किन लैजान थालिएको भन्ने पत्तो थिएन । तर सुरक्षाकर्मीले सैनिक कार्यालयमा लगे र एउटा सम्झौता पत्र अगाडी सारे । उक्त सम्झौतापत्र अनुसार, उनले सुरक्षाकर्मीहरुलाई सम्बन्धित ठाउँमा पुर्याउनु पर्थ्यो र त्यसवापत शुल्क उनले जति चाहन्छन् लिन सक्थे । त्यहाँ उनको अगाडी डर र चुनौती थियो । तर उनलाई थाहा छ कि डर र चुनौतीको अगाडी नै जित हुन्छ । उनले बजारमा चलेको दर भन्दा केही बढाएर शुल्क राखिदिए र सम्बन्धित ठाउँमा पुर्याउने सम्झौता गरे । त्यो दिनले गर्दा, एउटा त शुल्कमा वृद्धि भयो भने अर्को सुरक्षाकर्मीहरुसंग राम्रो सम्बन्ध स्थापित भयो । जसले गर्दा यता सिम्रिकलाई अगाडी बढाउनको लागि उनलाई सहयोग पुग्यो । कँडेलको सल्लाह र नेतृत्वमा सिम्रिक अगाडी बढ्दै गरेका कारण सन् २००६ मा बोर्डले उनलाई सिम्रिक एयरको जेनरल म्यानेजर बनाएको थियो । त्यसपछि उनले सिम्रिकमा सेवाहरु विस्तार गर्दै गए ।
सिम्रिकले एभिएसनमा आफ्नो नाम स्थापित गरेको थियो । कँडेललाई नया आयाम मल्टि डिसीप्लिनरि इन्स्टिच्युट (नामी) कलेजमा जानको लागि प्रस्ताव आयो । एभिएसन क्षेत्रबाट शिक्षा क्षेत्रमा जानु उनलाई व्यवहारिक लागेको थिएन । तर संगै काम गरिरहेको टिमबाट प्रस्ताव आएको र टिमले उनलाई पूर्ण विश्वास गरेका कारण उनी सकारात्मक भए । त्यतिबेला सम्म कँडेलसंग काम गरेको व्यवस्थापन टिमले कुनै पनि संस्था अस्तव्यस्त हुँदा त्यसको व्यवस्थापनको लागि उनलाई नै सम्झिन्थे । नामी पनि त्यस्तै अवस्थामा पुगिसकेको थियो । त्यो केवल योजनामै सिमित हुने अवस्थामा पुगेको समयमा योग राज कँडेल सीइओको रुपमा नियुक्त भए । अब, अलपत्र परेको भवन निर्माणको कामले गती लिन थाल्यो । भवन निर्माण तथा कलेज संचालनमा अवरोध पुर्याएका केही स्थानिय गुण्डाहरुलाई उनले प्रहरीको खोरमा पुर्याए । काम ठग्ने ठेकेदारलाई तथा कामदारलाई हटाउंदै काम गर्नेहरुलाई प्राथमिकता दिन थाले । यसरि तीन वर्षको निर्माण अवधि छुट्टाएकोमा ११ महिनामै काम सकियो ।

नामीमा काम गर्न जाँदा कामको दृष्टिकोणले शिक्षा क्षेत्रमा योग राज कँडेल नौलो थिए । टिमले उनलाई पूर्ण विश्वासका साथ पठाएको थियो । अर्कोतिर आफूले पाउँदै आएको कुशल व्यवस्थापकको ट्याग जोगाइराख्नु थियो । त्यसैले कुनै पनि हालतमा सफल हुनैपर्छ भन्ने सोंचले उनी भवन निर्माण, कलेजको लागि सम्बन्धन मात्र नभएर विद्यार्थीहरुको भर्नाको लागि समेत आफै दौडधुप गरे । उनी विभिन्न ठाउँमा, इन्स्टिच्युटमा सहकर्मी साथी सहित आफै पनि पुगेर विद्यार्थीलाई व्यक्तिगत रुपमा भेटेर आफ्नो कलेजको बारेमा बताउने गर्थे । यसरि विद्यार्थीहरु पनि भर्ना भए र कलेज संचालन भयो । अब उनी कलेजलाई स्थापित गर्न तिर लागे । चार वर्षमा जब कलेज आर्थिक हिसाबले समेत आफै बलियो बन्न पुग्यो, तब उनले कलेजको सीइओ पदबाट राजिनामा दिने सोंच बनाए ।
योग राज कँडेल एभिएसनकै क्षेत्रमा केही गर्न चाहन्थे । शिक्षा क्षेत्रको काम उनले रोजेको पाटो थिएन । नामी कलेजको सीइओ पदबाट राजिनामा दिने सोंच बनाउंदै गर्दा उनलाई एभिएसनकै एउटा टिमबाट सीइओ पदको लागि प्रस्ताव आयो । तर अब उनलाई जागिर गर्नु मात्र थिएन, अहिलेसम्मको अनुभवले उनले आफूलाई व्यवसायीको रुपमा स्थापित गर्न चाहन्थे । सीइओ पदको प्रस्ताव गरेको टिमले पनि उनलाई उक्त कम्पनीको सेयरहोल्डरको रुपमा राख्न सहमत भएपछि उनी ‘हेली एभरेष्ट’ संग आबद्ध भए । यता नामी कलेजको सीइओ पदबाट राजिनामा दिएका उनी अहिले त्यहाँको निर्देशक छन् । व्यवसाय या आर्थिक सम्पन्नता मात्र सबैकुरा होइन भन्ने मान्यता राख्ने योग राज कँडेलले नेतृत्व गरिरहेको हेली एभरेष्टले बिरामीहरुलाई प्राथमिकता दिंदै आएको छ । पैसा हात पर्दा भन्दा आफ्नो सेवाले कसैको ज्यान बच्यो भन्ने कुराले बढी सन्तुष्टि मिल्ने कँडेल बताउँछन् । हेली एभरेष्टले अहिले पर्यटकीय क्षेत्रमा पनि आफ्नो स्थान बनाइरहेको छ ।

पाँच कक्षामा फेल भएका, लोक सेवामा तीन पटकसम्म फेल भएका, एमएससीको पढाइ बीचमै छोडेका तिनै व्यक्ति योग राज कँडेलले अमेरिकाबाट एभिएसनको पढाइ पूरा गरेका छन्, एमबीए पास गरेका छन् र अहिले पीएचडीको लागि तयारि गरेका छन् । व्यवसायिक रुपमा उनले एउटा कुशल व्यवस्थापक तथा सीइओको छवि बनाएका छन् भने स्थापित र सफल व्यवसायीको परिचय बनाउने मार्गमा छन् । संघर्ष, मेहनत र लगनशीलताले अगाडी बढेका कँडेल अहिले नेपालमा केही गर्न चाहने युवाहरुलाई सुझाव, सल्लाह दिंदै काम र लगानीको लागि समेत सक्दो सहयोग गर्ने गर्छन् ।