म कहिल्यै पनि आफूलाई ठूलो डर लिएर बस्ने अनुमति दिन्न ।

परिचय

काल्भिन क्लेइन प्रसिद्ध अमेरिकी फेशन डिजाइनर हुन् । उनी फेशन जगतको विश्वप्रसिद्ध ब्राण्ड “काल्भिन क्लेइन” का संस्थापक हुन् । उनको पूरा नाम काल्भिन रिचार्ड क्लेइन हो । काल्भिन क्लेइनको जन्म सन् १९४२ नोभेम्बर १९ मा भएको हो ।

प्रारम्भिक जीवन

काल्भिन क्लेइनको जन्म अमेरिकाको न्युयोर्कमा भएको हो । फ्लो र लिओ स्टर्नका तीन सन्तानहरु मध्ये काल्भिन दोस्रो हुन् । प्रारम्भिक शिक्षा प्राप्ति पछि काल्भिन “द हाइ स्कुल अफ आर्ट एण्ड डिजाइन ” मा भर्ना भए । हाइ स्कुलको पढाइ सकेपछि उनी आफ्नो रुचीलाई पछ्याउँदै न्युयोर्कमा अवस्थित “द इस्टीम्ड फेशन इन्सटिच्युट अफ टेक्नोलोजी ” मा भर्ना भए र सन् १९६२ मा स्नातक गरे ।

काल्भिनकी हजुरआमाले लुगा सिलाउने काम गर्थीन् । हजुरआमाले लुगा सिलाएको देखेर काल्भिनलाई पनि लुगा सिलाउने रहर जाग्यो । उनका उमेरका बच्चाहरु विभिन्न खेलहरु खेल्दथे तर काल्भिन हजुरआमासंग लुगा सिलाउने तरिका सिक्दथे । काल्भिनकी आमाले पनि उनको कलाप्रतिको मोहलाई बढाउन हौसला दिन्थीन् ।

व्यवसायिक यात्रा

काल्भिनको फेशन जगतमा व्यवसायिक यात्रा सन् १९६२ बाट शुरु भयो जब उनले कोट र सुटका डिजाइनर ड्यान मिल्सटेइनसंग एक प्रशिक्षकको रुपमा काम गर्न शुरु गरे । काल्भिनले निकै उत्सुकता र उत्साहका साथ दिन रात नभनी आफ्ना डिजाइनहरुमा नयाँपन ल्याउँदै निखार्न लागे । केहि समयमै न्युयोर्कका केहि पसलहरुबाट पनि उनको डिजाइनका लागि प्रस्ताव आयो ।

सन् १९६८ मा आफ्ना पुराना साथी बेरी स्क्वार्जसंग मिलेर काल्भिनले आफ्नो कम्पनी खोले र नाम राखे “काल्भिन क्लेइन “। शुरुमा उनको पसलमा कोटहरु मात्रै डिजाइन गरिएको थियो । न्युयोर्कमा रहेको कपडा पसल “बंवीट टेलर” का लागि कोट खरिद गर्ने व्यक्तिले काल्भिनको कपडा कारखाना देखेपछि उनको कामबाट प्रभावित भई पचास हजार अमेरिकी डलरको अर्डर दिए । जुन अर्डरले काल्भिनलाई व्यापार बढाउन ठूलो सहयोग पुग्यो ।

काल्भिनको डिजाइनलाई पसलमा आउने ग्राहकहरुले मन पराएपछि ” बंवीट टेलर ” बाट उनलाई कोटका साथै खेलाडीहरुको पोशाक पनि डिजाइन गर्ने प्रस्ताव आयो । उनले कोट, खेलाडीको पोशाक ,क्लासिक ब्लेजर का साथै महिलाहरुका लागि भित्री पोशाकहरु पनि डिजाइन गर्न थाले । सन् १९७१ मा “काल्भिन क्लेइन “कम्पनीले निकै सफलता पायो । सन् १९६८ मा दश हजार अमेरिकी डलरबाट शुरु भएको उनको कम्पनी सन् १९७७ मा आइपुग्दा ३० मिलियन अमेरिकी डलर पुगेको थियो ।

काल्भिनले महिलाहरुको तयारी पोशाकका साथै बेल्ट, चस्मा, जुत्ता, स्कार्फ, सौन्दर्य सामग्री ,जिन्स र पुरुषका लागि तयारी पोशाक पनि डिजाइन गर्न थाले । यसरी “काल्भिन क्लेइन ” महिला पुरुष दुवैलाई चाहिने विभिन्न वस्तुहरुको एउटा बृहत ब्राण्ड बन्न पुग्यो । काल्भिनले डिजाइन गरेको टाइट जिन्स बजारमा आउँदा निकै तहल्का मच्चायो जसले “काल्भिन क्लेइन ” ब्राण्डलाई सफलताको शिखरमा पुर्यायो ।

काल्भिनले पुरुषको भित्री वस्त्र “बक्सर अन्डरवेर” को डिजाइन गरे जुन ग्राहकहरुले निकै मन पराए । टाइट जिन्स र बक्सर अन्डरवेर अहिले समयमा पनि ग्राहकको रोजाई बन्न सफल भएको छ । सन् १९८० सम्मा आइपुग्दा क्यानडा,युके ,आयरल्याण्ड ,जापान ,अस्ट्रेलिया ,न्युज्यल्यांड जस्ता विभिन्न देशहरुमा काल्भिन क्लेइनका बाह्र हजार भन्दा धेरै पसलहरु खोलिएका थिए । सन् १९९० को दशकमा काल्भिनले विभिन्न किसिमका सुगन्ध (परफ्युम) बजारमा ल्याए जसमा पनि उनले सफलता पाए र निकै प्रसिद्धि कमाए । फेशन डिजाइनिङ्ग बाहेक उनले टेलिभिजन सिरिजमा समेत काम गरेका छन् ।

सन् २००३ मा काल्भिन र उनका पार्टनरले आफ्नो कम्पनी फिलिप्स भ्यान ह्युजनलाई बेचेका थिए । कम्पनी बेच्ने समयमा कम्पनीको मूल्य ४ सय मिलियन डलर नगद, ३० मिलियन डलर स्टक र १५ वर्षसम्मको आम्दानी वापतको रोयल्टी राखिएको थियो ।

सफलता

सन् १९७३ देखि सन् १९७५ सम्म लगातार काल्भिनले कोटी अवार्ड्स जितेका थिए साथै सो अवार्ड्स पाउने उनी सबैभन्दा कान्छा फेशन डिजाइनर पनि बनेका थिए । काल्भिनलाई ” द काउन्सिल्स अफ फेशन डिजाइन्स अफ अमेरिका “ले सन् १९८१, १९८३ र सन् १९९३ मा गरी तीन पटक सम्म अवार्ड प्रदान गरेको थियो । सन् १९८३ मा काल्भिन क्लेइनको नाम इन्टरनेश्नल बेस्ट ड्रेस्डको सूचीमा परेको थियो । टाइम्स पत्रिका अनुसार सन् १९९६ मा उनी अमेरिकाका पच्चीस प्रभावशाली व्यक्तिहरु मध्ये एक थिए ।

डराएर आफ्ना पाइला पछाडी हटायौं भने हामी सुरक्षित रहन सक्छौं । तर हामी सधैभरि पछाडी नै रहन्छौं । यदि डरलाई जितेर अगाडी बढ्यौं भने हामी अझ बलियो बन्न सक्छौं, जीवनमा अझ अगाडी बढ्न सक्छौं । भनिन्छ नि, डरको अगाडी जित हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text