एउटा विवाह समारोहको भव्य भोज चलिरहेको थियो । उक्त भोजमा एकजना वृद्ध मानिस पनि सरिक थिए । उनीसंग एकजना युवती पनि थिइन् । जसले विवाहमा सरिक भएका मानिसहरुसंग ती वृद्धलाई परिचय गराइरहेकी थिइन् । वास्तवमा उनी ती वृद्धकी छोरी थिइन् ।
भोजमा खाना खाने समय भयो । ती वृद्ध र छोरी संगै बसेर खान थाले । खाना खाँदा ती वृद्धको चम्चाबाट खाना यता उता झरिरहेको थियो । उनको मुख बाहिर पनि खाना लागेको थियो । उनीहरुको वरिपरि बसिरहेका मानिसहरु नाक खुम्च्याउँदै हेरिरहेका थिए ।
खाना खाइसकेपछि छोरी चाहिंले टेबुलमा यता उता खसेको जुठो सफा गरिन् । त्यसपछि बुवालाई बाथरुममा लिएर गइन् र बुवाको लुगा, मुख सफा गरिदिइन् । कपाल, चस्मा मिलाईदिइन् । लुगा मिलाईदिइन् र बुवालाई हातमा समाएर ल्याईन्। कसले के भन्यो, कसले कसरि हेर्यो उनलाई कुनै प्रवाह थिएन ।
वृद्ध बुवा र छोरी भोजबाट बिदा हुन थाले । तब अर्का एक जना वृद्ध उनीहरुतिर आए र भने, ” छोरी ! तिमीले महत्वपूर्ण कुरा छोडेर जाँदैछौ ” । छोरी अचम्म परिन् । आफ्नो कुनै पनि कुरा नछुटेको बताईन् । त्यसपछि ती वृद्धले उनको शिरमा हात राखिदिदै भने, ” नानी ! तिमीले हामीजस्ता वृद्ध वृद्धालाई आशाको दियो र तिमी जस्तै सन्तानहरुका लागि ठूलो पाठ छोडेर जाँदैछौ ” ।
हामीहरु कथित ठूला कुरामा यति व्यस्त बन्छौं कि, हाम्रो सानो प्रयास मिल्ने जिन्दगीका खुशीहरुलाई नजरअन्दाज गर्छौं । सफलता केवल पैसा र नाम मात्र होइन, आत्मियता, प्रेम, परिवार, खुशी पनि जीवनका सफलताहरु हुन् । आफ्नो पारिवारिक दायित्व पूरा गर्नु पनि सफलता हो । आफ्नो लागि जीवन बिताएका आमाबुवाको लागि आफ्नो केही समय दिन सक्नु पनि जीवनको उपलब्धि हो ।