मेरो छोरा आजबाट स्कुल जाँदैछ। केही समय उसका लागि सबै वस्तुहरु नौला अनि अचम्मका लाग्नेछन्। मेरो आशा छ, तपाईंहरुले उसंग नरम व्यवहार गर्नुहुनेछ । अहिलेसम्म त ऊ, घरको राजा नै थियो । उसका घाउचोट निको पार्नकै लागि हरबखत म उसको नजिकै हुन्थें ।  उसका अबोध भावनालाई सुम्सुम्याउन, म सधै तम्तयार हुन्थें ।

आजदेखी, उसले नयाँ कामहरु सुरु गर्नुपर्नेछ । घेरामा बाँधिएको बच्चा अब निस्किएर ठूलो साहसिक यात्राको सुरुवात गर्नेछ । हुनसक्छ, यात्राको क्रममा संघर्ष, दु:ख व्यहोर्दा, निराश पनि होला । संसारमा जिउनका लागि विश्वास, प्रेम र साहस आवश्यक हुन्छ । उसको यो सानो हातलाई थामिदिएर जान्नुपर्ने र गर्नुपर्ने व्यवहार सिकाइदिनुहोस्। स्नेह, मायालु र कोमल भावनाले सिकाउनुभयो भने उसले अवश्य सिक्नेछ ।

बालकले बुझ्नैपर्ने हुन्छ, सबै मान्छेहरु असल र न्यायी हुँदैनन् । तैपनि धूर्तभन्दा असल र शत्रुको अनुपातमा, मित्र भेट्न सम्भव छ भनिदिनुहोस् । सुरुमै सिकोस् , धाकधम्कीमै जिउन खोज्नेहरुलाई तह लगाउन, सबैभन्दा सजिलो छ ।

बालकलाई पुस्तकका चित्र, अक्षरका मर्म चिनाइदिनुहोस् । रमाइलो र अचम्मले उसमा उत्साह थपिनेछ । आकाशमा उड्दै गरेका चरा-भमरा, हरिया डांडा-पाखा ढाकेर फुलेका फूलको सौन्दर्य देखाइदिनुहोस् । अरुलाई पछ्याएर हिंड्नुभन्दा पनि आफ्नै विचारमा दृढतापूर्वक अडिन सिकाइदिनुहोस् । भीडका पछि भीड लाग्नु अचम्म होइन, मेरो छोराले त्यसो नगरोस् । उसलाई विवेकको त्यो आत्मशक्ति जगाइदिनुहोस् । अरुका कुरा ध्यानपूर्वक सुन्ने, सत्यमा परख गर्ने र लिने ऊ बन्नसकोस् ।

आत्माको आवाजलाई, सुन र चांदीका पैसाहरुमा तौलिन हुँदैन भन्ने बुझोस् । आत्माले ठीक ठानेको छ भने, त्यसमा ऊ अडिग रहोस् । एक्लो भैरहंदा पनि त्यसका लागि उसले संघर्ष गरोस् । यी मूल्य र मान्यताहरुले, उसको जीवनमा, उल्लेख्य भूमिका निर्वाह गरुन् । स्नेह र प्रेमले दिइयो भने, कठोर विषयवस्तु पनि सरल भएर घुस्छन्।

एउटा काँचो बालकलाई योग्य मानव बन्न प्रेरित गर्ने काम सजिलो हुँदैन । महानहरुले नै त असम्भवलाई सम्भव पारिदिन्छन् । त्यहि सम्भवका लागि तपाईंहरुसंग मैले निवेदन गरेको छु । मैले मेरो प्यारो छोरो, यहाँहरुसामु सुम्पिएको छु ।

हस्ताक्षर
अब्राहम लिंकन

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text